अन्ततः म माथि लगाइएको आरोप गलत सावित : महरा


काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले आफूमाथि लगाइएको आरोप गलत सावित भएको बताएका छन् ।
उनले अदालतको फैसलापछि सोमबार एक विज्ञप्ति जारी गर्दै आफूमाथिको आरोप गलत सावित भएको बताएका हुन् ।
उनले आफू ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसी तथाकथित आरोप खेपेको बताए। “म ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसी तथाकथित आरोप खेपेको छु,” उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
उनले आफूमाथि लगाइएको आरोप गलत सावित भएको बताउँदैसम्मानित अदालतले निर्दोष ठहर गर्दै सफाइ दिएकोमा अदालतप्रति बिशेष आभार एवं धन्यवाद व्यक्त गरेका छन् ।
उनले एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा लाई पहिलो र उच्च प्राथमिकतामा सधैं राखेको र सदैव रहिरहने बताएका छन् ।
नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण रहेको नले स्पष्ट पारे ।
यस्तो छ विज्ञप्ति :
आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु,
अन्ततः म माथि लगाइएको आरोप गलत सावित भएको छ । सम्मानित अदालतले मलाई निर्दोष ठहर गर्दै सफाइ दिएको छ । म सम्मानित अदालतप्रति बिशेष आभार एवं धन्यवाद व्यक्त गर्दछु । यस क्रममा सक्रियतापूर्वक पहल र सहयोग गर्ने मेरो परिवारका सम्पूर्ण सदस्यहरु, मित्रहरु, मेरो पक्षमा वकालत गर्ने कानुन व्यवसायीहरु र राजनीतिक व्यक्तित्वहरुप्रति हार्दिक आभार प्रकट गर्दछु ।
म ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसी तथाकथित आरोप खेपेको छु । यस अवधिमा मलाई सद्भाव र सहानुभूति दिनुहुने मेरा समर्थकहरु, शुभचिन्तकहरु, अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी मित्रहरु, प्रहरी मित्रहरु र डिल्लीबजार कारागारका सम्पूर्ण बन्दी साथीहरुलाई हार्दिक आभारसहित धन्यवाद दिन चाहन्छु ।
एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, अहिले पनि छ र सदैव रहिरहनेछ । नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण रहेको छ र सधैं रहिरहनेछ ।
धन्यवाद !
२०७६ फागुन ५
कृष्ण बहादुर महरा
प्रतिनिधि सभा सदस्य, दाङ–२
