‘सेक्युरिटी प्रेस खरिदमा गल्ती गर्ने छुट कसैलाई छैन’

फागुन १०, नवलपुर । गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट नदिने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।
सेक्युरिटि प्रेस खरिद प्रकरणमा सञ्चारमन्त्री गोकुल बाँस्कोटा मुछिएको सन्दर्भ निकाल्दै अध्यक्ष प्रचण्डले गल्ती गर्ने कसैलाई छुट नभएको प्रष्ट पारे ।
प्रेस संगठन नेपाल नवलपुरद्वारा शनिबार आयोजित पत्रकार भेटघाटमा प्रचण्डले भने ‘सञ्चारमन्त्रीको विषयमा आएको कुराबारे प्रधानमन्त्रीले तत्काल पहल लिएर उहाँलाई राजीनामा दिने र बाँकी अनुसन्धान गर्नुपर्ने विषय भए सम्बन्धित निकायले अनुसन्धान गर्ने भन्ने भएकोले त्यो समस्या समाधानको विषयतिर गएको छ’

प्रचण्डले अहिले सबै विषय अनुसन्धानको प्रक्रियामा रहेकोले धेरै बोल्न नसक्ने भन्दै भने ‘म अहिले यति मात्रै भन्न चाहन्छु, गल्ती गर्नेलाई छुट दिने पक्षमा हामी छैनौं ।’
सरकारको कामलाई प्रभावकारी बनाउने विषयमा समेत नेकपाभित्र व्यापक छलफल भइरहेको अध्यक्ष प्रचण्डको भनाई छ । साथै पछिल्लो समय सरकारले काममा गति लिएको र आउने दशकलाई विकासको दशक, युवाहरुलाई आम रुपमा रोजगारीको दशक र समृद्धिको नयाँ आधारशिला बनाउन चाहेको जिकिर गरे ।








