औद्योगिक प्रर्वधनमा खैरहनी र संघबीच सहकार्य


फागुन १५, चितवन। नगर भित्र रहेका उद्योगको विकासका लागि खैरहनी नगरपालिका र चितवन उद्योग संघबीच सहकार्य गरेर कार्यक्रम गरिने भएको छ । यहाँको उद्योगको विकास ,रोजगारीको सृजना गर्ने लगायतका विषयमा चितवन उद्योग संघले गर्ने कार्यक्रममा खैरहनी नगरपालिकाले सहयोग गर्ने भएको हो ।
खैरहनीले चालु आर्थिक वर्षमा औद्योगिक विकासका लागि १५ लाख रुपैया विनियोजन गरेको छ । सोही बजेटबाट दक्ष जनशक्ती उत्पादन, औद्योगिक प्रवद्र्धन,औद्योगिक राहत कोषमा खर्च गरिने छ । यस वर्ष गरिने कार्यक्रमसहितको योजना बिहीवार चितवन उद्योग संघले एक कार्यक्रमका बीच खैरहनी नगरपालिकामा पेश गरेको छ ।
संघका अध्यक्ष राजु पौडेलको नेतृत्वमा संघको खैरहनी इकाई अध्यक्ष प्रतिभा श्रेष्ठको टोलीले प्रस्ताव पत्र नगर प्रमुख लालमणी चौधरीलाई हस्तान्तरण गरे । स्थानिय तहसंग समन्वय गरेर उद्योगीहरुको क्षमता अभिवृद्धी गर्ने, औद्योगिक राहत कोष निर्माण लगायत क्रियाकलाप गरिने संघका अध्यक्ष राजु पौडेलले बताए ।
उद्योगमा कामदारको अभाव भईरहनु र स्थानीय तहमा रोजगारीका लागि निवेदन दिनेको संख्या प्रशस्त हुँदा यसलाई समन्वय गरेर जान सके रोजगारी सृजनासंगै अभाव रहेको कामदारको पूर्ती समेत हुने अध्यक्ष पौडेलको भनाई छ । खैरहनी नगरपालिका प्रमुख लालमणी चौधरीले नगर भित्र उद्योग स्थापित गर्न अधिकार क्षेत्र भित्र रहेर सहयोग गर्ने बताए ।
यहाँ स्थापित उद्योगबाट स्थानीयले रोजगार पाउनुका साथै समृद्ध नगर समेत बन्न प्रमुख चौधरीको विश्वास छ । कार्यक्रममा नगर उपप्रमुख सुनिता थपलिया, प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्मा लगायत चितवन उद्योग संघका पदाधिकारी, चितवन उद्योग संघ खैरहनी इकाईका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
