डेब्यू खेलमै कुशलको विश्वकिर्तिमान, एमसीसी अगाडी बढ्ने, बजारमा लुटिँदै उपभोक्ता

माघ २६, काठमाडौं । आजका पत्रपत्रिकाले आइसीसी विश्व क्रिकेट लिग लिग २ मा नेपाली युवा अलराउण्डर खेलाडी कुशल मल्लको विश्व किर्तिमानी समाचार लाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।   

राजधानीबाट प्रकाशित कान्तिपुर, नयाँ पत्रिका, नेपाल समाचारपत्र, गोरखापत्रले युवा अलराउण्डर कुशल मल्लले ओडीआई (एकदिवसीय) डेब्युमा कीर्तिमानी अर्धशतक बनाएको समाचार छ । किर्तिपुर क्रिकेट मैदानमा भएको प्रतियोगितामा नेपाली बलरहरुको उत्कृष्ट प्रदर्शनमा नेपालले आइसीसी क्रिकेट विश्वकप लिग लिग २ मा अमेरिकालाई ३५ रनले पराजित गरेको छ । यस जितपछि नेपालले ७ टिम सम्मिलित लिगमा अंकको खाता समेत खोलेको छ । घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानसँग पराजित भएको नेपालको यो पहिलो जित समेत हो । नेपालले जितपछि २ अंक जोडेको छ । 

ओडीआई डेब्युमा कुशलले ५० रनको अर्धशतकीय इनिङ्स खेले । विकेटकिपर विनोद भण्डारीले पनि अर्धशतक बनाएपछि नेपालले ५० ओभरमा १९० रन बनाएको थियो । कुशल डेब्युमै अर्धशतक प्रहार गर्दै ओडीआईमा अर्धशतक प्रहार गर्ने कान्छो खेलाडी समेत बने । 

आजको कान्तिपुर दैनिकले नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले एमसीसी अगाडी बढ्ने दिएको अभिब्यक्ति प्राथमिकताका साथ प्रकाशित गरेको छ ।   

दाहालले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता छिट्टै अघि बढ्ने बताएका छन् । पार्टी पंक्तिमा एमसीसीबारे स्पष्ट पार्नका लागि कार्यदल बनाइएको उल्लेख गर्दै उनले एमसीसी सम्झौता राष्ट्रको हितमा छ भन्ने सुनिश्चित गरेर अघि बढाइने बताए । 

‘म प्रधानमन्त्री भएकै बेला एमसीसीअन्तर्गत ५५ अर्ब आउने भयो भन्दा खुसी भएको थिएँ, एमसीसी सम्झौता तत्कालै अनुमोदन गरेको भए मुलुकमा यो विवाद हुने पनि थिएन,’ राजधानीमा आयोजित कान्तिपुर कन्क्लेभअन्तर्गत शनिबार ‘प्रचण्डसँग परिसंवाद’ सत्रका सञ्चालक कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्माको जिज्ञासामा दाहालले भने, ‘समयमै अनुमोदन नभएर विभिन्न कोणबाट विवाद हुँदा राम्रोसँग बुझेर मात्रै अघि बढाउन भनिएको हो ।’ अहिले पनि धेरैको मत एमसीसी सम्झौता अनुमोदन नगरौं भन्ने नरहेको अध्यक्ष दाहालको भनाइ थियो । उनले इन्डो–प्यासिफिक रणनीति (आईपीएस) सँग एमसीसीको सम्बन्ध, भारतसँग सहमति लिनुपर्नेलगायत सम्झौताका प्रावधानबारे प्रस्ट हुनका लागि अध्ययन गर्न लागिएको जनाए । 

अन्नपूर्ण पोस्टले बजारमा लुट शिर्षकमा उपभोक्ता कसरी ठगिइरहेका छन् भन्ने रिपोर्ट प्रकाशित गरेको छ । बढ्दो महँगीका कारण लेटाङ–९ मोरङकी पायल श्रेष्ठलाई राजधानीको बसाइ कष्टकर बन्न थालेको छ । उनका पति किरण श्रेष्ठ त्रिपुरेश्वरस्थित चुन कारखानामा काम गर्छन् । पतिको मासिक २५ हजार रुपैयाँले घरभाडा, खाना, छोराछोरीको पढाइ खर्च र औषधिउपचार गर्न हम्मे परेको उनी बताउँछिन् । श्रेष्ठको चारजनाको परिवार अनामनगरमा डेरा लिएर बसेको छ । 

झापाकी निर्मला दाहाल दैनिक उपभोग्य वस्तुको मूल्य दिनप्रतिदिन बढिरहेको बताउँछिन् । उनी भन्छिन्, ‘चामल, दाल, तरकारी, घरभाडा बढेको बढ्यै छ । एकजनाको आम्दानीले राजधानीमा बाँच्न असहज भयो ।’ उनका अनुसार यातायात, औषधिउपचार, लुगाफाटो र मनोरञ्जनबाहेक घरखर्च धान्न मासिक न्यूनतम ३५ हजार खर्च हुन्छ । 

पायल र निर्मलाले अनुभव गरेजस्तै बजार निकै अराजक बनेको छ । कार्टेलिङ, सिन्डिकेट, कालोबजारी र माफियाका कारण मूल्यवृद्धि हुँदा उपभोक्ता मारमा परेका छन् । 

पछिल्लो २५ दिनमा चामल, खाने तेल, पिठो, आँटा, दाल, लसुन, अण्डा, मासुको मूल्य न्यूनतम दुई रुपैयाँदेखि चार सय ७० रुपैयाँसम्म बढेको छ । फलामे रडमा प्रतिकिलो ८ आठ रुपैयाँ र सिमेन्ट प्रतिबोरा ५० रुपैयाँसम्म मूल्य बढेको छ । सरकारले कुन तहमा कति नाफा लिने विषयमा संरचना निर्धारण नगरेका कारण व्यवसायी र उद्योगीले आफूखुसी मूल्यवृद्धि गरेका हुन् । 

राजधानी दैनिकले ललिता निवास जग्गा प्रकरणमा सिआइवीले मुद्दा दर्ता गर्ने समाचार प्रकाशित गरेको छ । साथमा चीनमा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकारले गरेको आलटालको समाचार पनि छ । सरकारले चीनमा रहेका विद्यार्थी र नागरिकलाई फिर्ता ल्याउन चासो नदेखाएपछि तीनका अभिभावक अनसन बस्ने तयारीमा पुगेका छन् ।   

गोरखापत्र दैनिकले कर्णाली करिडोरः जोखिम मोलेर ट्रयाक खोलिँदै शिर्षकमा समाचार प्रकाशित गरेको छ । कर्णाली प्रदेशको समृद्धिसँंग जोडिएको कर्णाली करिडोरको हुम्ला खण्डमा नेपाली सेना र श्रमिकहरूले ज्यानै जोखिममा राखेर सडक निर्माण कार्यलाई तीव्रता दिएका छन् । नेपाली सेनालाई जिम्मा लगाएको हुम्ला खण्डको सडकलाई प्रारम्भिक ट्र्याक खोल्ने कार्य आगामी असारभित्र सम्पन्न गर्नुपर्ने भएपछि सेनाले कामलाई तीव्रता दिएको हो । 

बिहान साढे छ बजेदेखि बेलुका अँध्यारो नहुँदासम्म चट्टान विस्फोटका लागि ‘होल’ खोप्ने काम गर्दै आउनुभएका सर्केगार्ड गाउँपालिका–४ का प्रेमबहादुर शाहीले निकै डरलाग्दो भीरमा ज्यान जोखिममा राखेर काम गरिरहेको बताउनुभयो । डोरीले शरीर बाँधेर कडा चट्टानमा खोप्ने कार्य निकै जोखिमपूर्ण भए पनि कामदार कडा मेहनतका साथ काम गरिरहेको उहाँले जानकारी दिनुभयो । उहाँको समूहमा आठजना कामदार छन् । 

कर्णाली करिडोरको कवाडी सलीसल्ला खण्डको बालुकुनादेखि सलीसल्लासम्मको १२ किलोमिटर दूरीलाई निकै जोखिम क्षेत्र मानिएको छ । कडा चट्टानका साथै जमिन भिरालो र चट्टानी भीर भएका कारण माथिबाट ढुङ्गा खस्ने जोखिम छ । टाउकोमा हेलमेट, आँखामा चस्मा, खुट्टामा गमबुट, शरीरमा डोरी बाँधिएको अवस्थामा समयमै काम पूरा गर्न सडक निर्माणमा खटिएका स्थानीय मजदुर र नेपाली सेनाका जवान क्रियाशील छन् । 

हेर्नुहोस आजका पत्रपत्रिकाका फ्रन्टपेज 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *