राँके-रवी-भेडेटार सडक निर्माणले गति लियो

फागुन १०, पाँचथर । राँके-रवी-भेडेटार सडक निर्माणको कामले गति लिएको छ। निर्माण उपकरण तथा कामदारको सङ्ख्यासमेत बढाएर कामलाई तीब्रता दिइएको छ । 

अधिकांश स्थानमा सडक विस्तार (ब्याक कटिङ)को कार्य अघि बढेको छ । सो सडकको एक वर्षसम्म निर्माण कार्य पाँच प्रतिशतसमेत पूरा भएको छैन । निर्माण कार्यले गति लिन नसकेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले हालै स्थलगत अनुगमन गरेर काममा तीब्रता दिन भनेका थिए । यसपछि निर्माणले गति लिएको हो । 

१०१ किलोमिटर लामो उक्त सडकमा एउटा पनि पुल निर्माण गर्नु नपर्ने तथा धेरै चट्टानसमेत नभएका कारण निर्माण कार्य अघि बढाउन ठूलो चुनौती छैन । सडक निर्माणमा स्थानीयस्तरमा अवरोध र समस्या समेत नहरेकाले द्रूत गतिमा निर्माण अघि बढाइ निर्धारित समयमै निर्माण कार्य पूरा हुने जनाइएको छ ।   

स्थानीयवासीका अनुसार पछिल्लो पटक सो सडक खण्ड निर्माणले द्रुत गति लिन थालेको छ । निर्माणले पछिल्लो पटक गति लिएको र त्यसको निरन्तरता आवश्यक रहेको पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङले जानकारी दिए । भारतीय ऋण सहयोगमा यो सडक निर्माण गर्ने समझदारी भएको थियो । गत वर्षको २० पुसमा पाँचथरको मिक्लाजुङ गाउँपालिका-४ रवीमा यो सडकको शिलान्यास भएको थियो ।   

१०१ किलोमिटर लामो यो सडकले पाँचथर, इलाम र धनकुटा जिल्लालाई जोड्दछ । यस सडकबाट यी जिल्लाका अतिरिक्त मोरङ, ताप्लेजुङ र तेह्रथमुका नागरिकले समेत प्रत्यक्ष लाभ लिन सक्दछन् । तीन वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । सात मिटर चौडा बाटोले यहाँका धेरै व्यापारिक केन्द्र र ठूलो परिमाणमा कृषिउपज उत्पादन हुने क्षेत्रलाई जोड्नेछ । २०४६ सालपछि यो सडकको ट्र्याक खोलिए पनि स्तरोन्नति र कालोपत्रे हुन सकेको थिएन ।   

भारतको आयात-निर्यात (एक्जिम) बैंकको तीन अर्ब ६५ करोड रुपैयाँको ऋण सहयोगमा सडक निर्माण भइरहेको हो । यस आयोजनाको ८७ प्रतिशत लगानी भारतीय सरकारको ऋण सहयोग हो । १३ प्रतिशत नेपाल सरकारले लगानी गरेको छ । सडक निर्माण भारतीय कम्पनी एप्कोले गरिरहेको छ ।  

रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *