‘नो अब्जेक्सन लेटर नक्कली’ फेला परेपछि त्रिभुवन विमानस्थलबाटै फर्काइए साइप्रस जाने विद्यार्थी


फागुन १२, काठमाडौं । अध्यागमन विभागले साइप्रस जाने विद्यार्थीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै फकाईदिएपछि विद्यार्थीलाई समस्या भएको छ । शिक्षा मन्त्रालयले जारी गर्ने नो अब्जेक्सन लेटर (एनओसी) नै नक्कली फेला परेपछि हिजोबाट उच्च शिक्षा अध्ययनका लागि विदेश जान विमानस्थल पुगेका विद्यार्थीलाई फर्काई दिएको हो ।
विमानस्थलको अध्यागमन सेक्सनले चार जना विद्यार्थीको एनओसी नक्कली फेला पारेपछि अन्य विद्यार्थीलाई पनि रोक लगाएको बताएको छ ।
भिसा लागेर र सम्पूर्ण प्रक्रिया पुरा गरी एयर टिकटसहित उड्नकालागि विमानस्थल पुगेका विद्यार्थीलाई चार जनाको नक्कली एनओसीका कारण विभागले प्रस्थान अनुमति नदिँदा दर्जनौ विद्यार्थी अलपत्रमात्र परेका छैनन् खर्च समेत महंगो भएको छ ।
शिक्षा मन्त्रालय र अध्यागमन विभागको अकर्मण्यताका कारण उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुले सास्ती खेप्नु परेको विद्यार्थीहरुले बताएका छन् । विभागले आइतबार साँझ विमानस्थल पुगेका तीन दर्जन बढि विद्यार्थीलाई नक्कली एनओसी पाइएको भन्दै एनओसी भेरिफिकेसन नगरी प्रस्थान अनुमति दिन नमिल्ने भनी फर्काएको दमौलीकी विपना क्षेत्रीले बताइन् ।
उनले आफुसँग टिकट सारेर जाने समेत विकल्प नभएको बताउँदै २५ तारिखभित्र साइप्रस नपुगे कलेजले रिजेक्सन गर्न सक्ने बताइन् ।
अध्यागमन विभाग कालिकास्थानमा भेटिएकी विपनाले चार जना विद्यार्थीले गरेको गलत कृयाकलापको सजाय सयौं विद्यार्थीलाई दिइएको प्रति आक्रोश ब्यक्त गरिन् । ‘दुई चार जनाले गरेको गलत काममा सबै विद्यार्थीलाई मुछ्न मिल्दैन । सक्कली नक्कली छुट्याउने सिष्टम गभर्मेन्टले बनाउनु पर्दथ्यो ।’ उनले भनिन् ।
विपनाले आफ्नो अन्तिम डेट भोली २५ तारिक भएको र टिकट समेत सार्न सक्ने अवस्था नरहेको जिकिर गरिन् । उनले गएराती ११ बजे फ्लाइट भएका विद्यार्थीमध्ये कतिलाई जान दिएको जिकिर गरिन् । ‘सबैलाई रोकिएको हो भने उनीहरु कसरी सोहि फ्लाईटमा गए ?’ उनले प्रश्न गरिन् ।
साइप्रस अध्ययनकालागि हिजो बेलुकी उड्न लागेका एक विद्यार्थीले विभागका केही कर्मचारीले विद्यार्थीसँग पैसा लिएर प्रस्थान गर्न अनुमति दिएको विद्यार्थीको आरोप पनि छ । एक विद्यार्थीले अघिल्लो दिन रिजेक्सन भएका विद्यार्थीलाई भोलीपल्ट विभागका अधिकारीले पैसा खाएर उडाएको दावि गरे । ‘एउटै कलेजमा जाने विद्यार्थीहरुलाई कसैलाई जान दिइयो कसैलाई दिइएन । हिजो रिजेक्सनमा परेकालाई आज विहान उड्न दिइएको रहेछ । उनीहरुले एयरपोर्टमा १÷१ सय डलर बुझाएर उडेछन् ।’ उनले भने ।
आइतबार साँझदेखि साइप्रस जान रोकिएका विद्यार्थीहरुको सख्या ५० जना बढि भएको विद्यार्थीहरुले बताएका छन् । सोमबार विहानै अध्यागमन विभागमा आएका विद्यार्थीहरुलाई विभागका कर्मचारीले अपशब्द समेत बोलेको विद्यार्थीहरुको भनाई छ । ‘आजको टिकट छ, हामीलाई अफ्टेरो भयो भनेर गुनासो गर्दा तिमीहरु पढ्न हैन काम गर्न जान लागेका हौं, तिमीहरुले भन्ने वित्तिकै हुँदैन भने ।’ एक विद्यार्थीले मकालु खबरसँग भने ।
साइप्रस जाने विद्यार्थी अधिकांश विद्यार्थीले एयर टिकट समेत काटेको र त्यसलाई सार्न पनि नसक्ने अवस्थामा छन् । २५ तारिक भित्र साइप्रस पुग्नैपर्ने विद्यार्थीले आज साँझसम्म भएपनि उड्ने वातावरण बनाइदिन विभागमा अनुनयविनय गर्दा विभागका कर्मचारी र निर्देशक भने चासो नदिइकन बसेका थिए ।
घरबाट अभिभावकसँग विदावारी भएर आएका विद्यार्थीहरुले विभागका निर्देशक लिलाधर अधिकारीलाई गुनासो गरेपछि उनले समस्या शिक्षा मन्त्रालयबाट भएको बताउँदै विद्यार्थीको समस्या समाधान गर्न आफु मन्त्रालय नै जाने बताए । ‘यो समस्या हाम्रो हैन, शिक्षा मन्त्रालयले एनओसी जारी गरेपछि ती विद्यार्थीको नाम अनलाईनबाटै हेर्न मिल्ने बनाइदिएको भए यो समस्या आउने थिएन ।’ उनले भने । निर्देशक अधिकारीले हिजो ९ जना विद्यार्थीको अर्जेन्ट केसमा विभागले आफैं मन्त्रालयमा गएर एनओसी भेरिफिकेशन गरेर पठाएको जिकिर गर्दै मन्त्रालयले सक्कली, नक्कली एनओसी छुट्याउन अनलाइन सिष्टम नै डेभलप गरे सहज हुने जिकिर गरे । उनले आज अफलोड भएका विद्यार्थीलाई साँझसम्म उड्न सक्ने बताउन आफु मन्त्रालय गइरहेको बताए ।
शैक्षिक परामर्श ब्यवसायीले भने शिक्षा मन्त्रालय र अध्यागमन विभागको कमजोरीले विद्यार्थी मर्कामा परेको बताएका छन् । अध्यागमन विभागमा विद्यार्थीको गुनासा लिएर आएका क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीका शिशिर सिंखडाले भिजा लागेर टिकट लिइसकेर एयरपोर्ट पुगिसकेका विद्यार्थीलाई विभागले फर्काएर ठिक नगरेको बताए । उनले चार जना विद्यार्थीले गरेको गल्तीको सजाय सयौं विद्यार्थीलाई दिन नहुने बताउँदै राज्यले आफ्ना सिष्टमहरुलाई अनलाईनबाटै भेरिफिकेशन गर्न सक्ने बनाए विद्यार्थीलाई समस्या नहुने बताए । ‘सरकार विदेश अध्ययनका लागि जाने विद्यार्थीबाट पनि कर लिन्छ । त्यो पैसाले एउटा सिष्टम मात्रै डेभलप गर्न खर्च गरे समस्या आउने थिएन । टेवल मुनी पैसा लिन पल्केकाहरुको अकर्यमन्यताका कारण विद्यार्थीले दुखः पाए ।’ सिंखडाले भने । उनले कुनैपनि डकुमेन्ट अनलाइनबाटै भेरिफिकेसन गर्न सक्ने ब्यवस्था गरे सहज हुने बताए । ‘जसरी प्रहरीले बैदेशिक रोजगारीमा जाने विद्यार्थीलाई दिने लेटरमा क्यूआरकोडको ब्यवस्था गरेको छ, त्यसरीनै मन्त्रालयले आफुले जारी गरेको डकुमेन्टमा त्यस्तै ब्यवस्था गरे यो समस्या समाधान गर्न सक्छ ।’ उनले भने ।
कतिपय विद्यार्थीको भिसा डेट समेत सकिने अवस्था रहेको र भोली २५ तारिक भित्र सम्बन्धित देशमा इन्ट्री हुन नपाए उनीहरु रिजेक्सनमा पर्न सक्ने संभावना रहेको बताउँदै त्यसको जिम्मेवारी कसले लिने रु भन्दै प्रश्न गरे । कतिपय विद्यार्थीले महंगोमा टिकट काटेकाले एक्सचेञ्ज गर्दा झनै खर्च बढ्ने देखिएको छ ।
यता शिक्षा मन्त्रालय नो अब्जेक्सन शाखाका एक कर्मचारीले विभागसँगको समन्वयमा समस्या समाधान गर्न पहल भइरहेको बताए । उनले साँझसम्म विद्यार्थीलाई सम्बन्धित देशमा प्रस्थानका लागि वातावरण बनाउन पहल भइरहेको बताए ।
