बुढासुब्बा गोल्डकप फुटवलः लिग बिजेताकाे हार, शनिबार उपाधिका लागि पुलिस र मनाङ भिड्ने

फागुन १५, धरान । २२ औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताकाे फाइनलमा नेपाल पुलिस क्लब पुगेकाे छ । बिहिबार भएको अन्तिम सेमिफाईनल खेलमा लिग च्याम्पियन मच्छिन्द्र क्लब काठमाडौलाई टाईब्रेकरमा परााजित गर्दै नेपाल पुलिस फाइनलमा प्रवेश गरेकाे हाे । अब शनिबार उसले उपाधिका लागि मनाङ मस्याङदी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । 

धरान रंगशालामा भएको अन्तिम सेमिफाईनल खेलमा लिग बिजेता मछिन्द्र र नेपाल पुलिसले निर्धारित समयमा बराबरी खेलेपछि खेल ट्राइब्रेकरमा गएकाे थियाे । ट्राइब्रेकरमा मछिन्द्रलाई ५–४ ले हराउँदै पुलिस फाइनल पुगेको हो । 

खेलकाे ९० मिनेटमा दुवै टोलीले गाेल गर्न सकेनन् । टाइब्रेकरमा पनि दुवै टोलीले ४–४ गोल गरेका थिए । मछिन्द्रबाट रञ्जित धिमाल, विमल घर्ती मगर, विजय धिमाल र देवेन्द्र तामाङले गोल गरे भने विशाल राई बि को प्रहार पुलिसका गोलकिपर सञ्जित श्रेष्ठले रोके । यस्तै, पुलिसबाट भोला सिलवाल, पदम भट्टराई, तीर्थ राना मगर र जुमानु राईले गोल गरे भने सुमन सुवेदीको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले रोकेका थिए । 

सडन डेथमा पुलिसका कपिल ढकालले निर्णायक गोल गर्दा मछिन्द्रका कप्तान विराज महर्जन गोल गर्न चुके । खेलको म्यान अफ दि म्याच घोषित पुलिसका गोलकिपर सञ्जित श्रेष्ठले नगद १५ हजार पाए । भने बेष्ट गोलको नगद ५ हजारको पुरस्कार मछिन्द्रका रेजिन धिमालले प्राप्त गरे । 

यस अघि मच्छिन्द्रले क्वाटर फाइनलमा भारतको सण्डे फुटबल क्लबलाई ६–१ को सानदार जीत निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको थियो । पुलिसले मेचि नेत्रालय काकडभिट्टालाई ३–१ गोल अन्तरले पराजित गरेकाे थियाे । 

बिहिबार भएको खेलमा पुलिसका स्टार जुमानु राईले आफनो पहिलो खेलमा दुई गोल गर्दै उत्कृष्ट लय देखाएका थिए । मछिन्द्रको तर्फबाट प्रतियोगिताकै एक मात्र ह्याट्रिक आफनो नाममा राख्दै बिमल घर्ती मगरले आफनो क्षमता देखाए पनि टीमलाई फाईनल सम्मको यात्रा गराउन भने सकेनन् ।   

बिहिबारको खेलमा पुलिसले जुमानु राई, भोला सिलवाल, सुमन सुवेदी जस्ता अनुभवी खेलाडी सहित युवा टिम मैदानमा उतारेकाे थियाे । मच्छिन्द्रले बिमल घर्ती मगर, विशाल राई, बिराज महर्जन रेजिन सुब्बा लगायतका खेलाडीहरु उतारेकाे थियाे । 

बुढासुब्बा गाेल्डकप फुटवलकाे फाइनलमा यसअधि मनाङ मस्र्याङदी क्लव फाइनलमा प्रवेश गरिसकेको छ । मनाङ्ले सेमिफाइनलमा भारतको युनाईटेड कर्साङ फुटवल क्लवलाई २–० ले पराजित गर्दै फाइनल यात्रा तय गरेकाे थियाे । साे खेलमा मनाङका विमल राना र दयानन्द सिंहले एक एक गोल गरेका थिए ।     

फागुन १० गतेदेखि सुरु भएको प्रतियोगितामा २ विदेशी सहित ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख पुरस्कार जित्नेछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *