भीड उत्तेजित बन्दै गएपछी वीरेन्द्रनगरमा कर्फ्युकाे आदेश

फाेटाे फाइल
माघ १४, काठमाडौँ । मंगलबार बिहान सुर्खेतमा टिपरको ठक्करबाट मोटरसाइकल चालक २१ वर्षिय केशरबहादुरको सिंहको मृत्यु भएपछी प्रदर्शनमा उत्रिएकाहरुलाई नियन्त्रण गर्न कर्फ्यु आदेश गरिएको छ ।
आज बिहान वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत गौतमचोक नजिकै भे १ ख २२४२ को टिपरले सिंहको ट भे १ प २१७८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट कालीकोट महावै गाउँपालिका–३ सिमखेतका सिंहको मृत्यु भएपछी उनका आफन्तजनले बिभिन्न नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । यसै क्रममा प्रदर्शनलाई नियन्त्रण गर्न प्रहरीले २ राउन्ड हवाइ फायर गर्दा ८ जना समेत घाइते भएका छन् ।
तर भीड झन् उत्तेजित बन्दैगएपछी अरु क्षती नहोस् भन्ने उदेश्यले जिल्ला सुरक्षा समितिको बैठकबाट कर्फ्यु लगाउने निर्णय भएपछी जिल्ला प्रशासन कार्यालय सुर्खेतले कर्फ्यु आदेश जारी गरेको हो ।
कर्फ्युको आदेश मंगलबार साँझ ६ः३० बजेदेखि माघ १५ गते बिहान ६ बजेसम्मको लागि जारी गरिएकाे छ ।
कर्फ्यु समय सम्म कर्फ्यु जारी गरिएको क्षेत्रभित्र कसैले आवातजावात गर्न, भेला जम्मा हुन र अन्य कुनै किसिमको गतिविधि गर्न नपाइने प्रहरीले जनाएको छ । कर्फ्यु तोड्ने व्यक्तिलाई आवश्यकताअनुसार सुरक्षाकर्मीले गोली चलाउनसक्ने जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।








