प्रधानमन्त्री असफल कि लालबाबु असफल ? उत्कृष्ट हुँदाहुँदै किन निकालिए लालबाबु ?

माघ १४, काठमाडौं । सोमबार दिउसो ३ बजेतिर अन्तर्वार्ता लिनुपर्यो भनेर मकालुकर्मीले फोन गर्दा पूर्वमन्त्री लालबाबु पण्डितले सहजै उत्तर दिए ‘हुन्छ, कहिले आउने ?’
‘हजुरको समय के छ ?’ प्रश्न भूईंमा खस्नै नपाउँदै ‘अहिले भोली जतिबेला आएपनि हुन्छ ।’ भन्ने उत्तर आयो ।
पण्डित मिडिया मैत्री छन् । १ घण्टापछि आएपनि हुन्छ भन्ने जवाफ दिएपछि हामीले सामान्य तयारी गर्यौं, क्यामरा, रेकर्डर र डायरी बोकेर ५ बजे पण्डित निवास निस्केको कोटेश्वर पुग्दा ६ बज्यो । अनामनगरबाट कोटेश्वर पुग्दा ट्राफिक जामले हामीलाई १ घण्टा ढिलो बनाइदियो । कार्यालय छुट्टीको समय यस्तै हो ।

हामीलाई उनको निवास पत्ता लगाउन केहि असहज भयो । पुनः फोन गरीयो, पण्डित आफैंले फोन उठाउँदै घरको ढोकामै पुग्नेगरी लोकेसन बुझाइदिए । हामीलाई बरण्डाबाटै देखेपछि गेट खोल्न आफैं आइपुगे ।
राजनीतिबाट रिटायर्ड भएकाहरु प्रहरी सुरक्षाकर्मी सहित अघिपछि आठ दश जना कार्यकर्ताले घेरिएर बस्नेहरुको जिवनशैली र दुई/दुई पटक शक्तिशाली मन्त्री भएका पण्डितको जिवनशैली देखेर हामी पनि छक्क पर्यौं ।
लालबाबु पण्डितको जिवनशैली साँच्चिकै सादा रहेछ । उनी गान्धी नै त हैनन् तर, जिवनमा ‘गान्धिगिरी’को प्रभाव भने छ । चर्का भाषण गर्न सक्ने, कर्मचारी प्रशासनलाई नियन्त्रण गर्न सक्ने, कानुनी राज्य स्थापना गर्न कुनैपनि प्रकारको निर्णय गर्न सक्ने तार्किक स्वभावका उनी जिवनशैली चैं सामान्य जिउँछन् । तडकभडक गर्दैनन् । घरमा मिठोनमिठो जे पाक्छ सहर्ष स्विकार्छन् ।
यतिबेला पण्डित प्रधानमन्त्रीको कार्य सम्पादनमा उत्कृष्ट हुँदाहुँदै निकालिँदापनि चुपचाप बसेका छन् । कतिपय निकालिएका मन्त्रीहरुले मिडियामै सरकारको आलोचना गर्दा उनी मौन बस्नुको कारण हामीलाई खोतल्नु थियो ।
नेकपाले डेढ वर्षदेखि केन्द्रीय कमिटीको बैठक राख्न सकेको छैन । सायद केन्द्रीय कमिटीको बैठक बसे आफुलाई लगाईएको असफलको ट्यागका विषयमा छलफल गराउन चाहन्छन् कि ? उनीसँगको करिब एक घण्टाको कुराकानीका क्रममा त्यो चाहना झल्कन्थ्यो ।
डेढ सय पिआरधारी कर्मचारीलाई तह लगाएर वाहवाही कमाएका पण्डित दोस्रो कार्यकालमा संघियता कार्यान्वयनमा ८० हजार कर्मचारीको कोपभाजनमा परेको उनकै बुझाई छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको कार्य सम्पादन मुल्यांकन गर्दा दोस्रो नम्बरमा पर्न सफल पण्डित किन निकालिए ? यसको सहज उत्तर पण्डितसँग पनि छैन । गृह मन्त्रालयपछि ओलीले सबैभन्दा बढि नम्बर दिएको सामान्य प्रशासन मन्त्रालय उनकै हो । तरपनि उनलाई असफलको विल्ला लगाईयो, असफल भनियो । यसमा पण्डितको गुनासो रहेछ । कुन मन्त्रीले कार्यासम्पादनमा कति नम्बर प्राप्त गरे ट्यावमा सुरक्षित राखेका रहेछन् । ‘म कार्यसम्पादन गर्नेमा दोस्रो नम्बरमा छु, कसरी असफल भए ?’ प्रधानमन्त्रीलाई सोध्न चाहन्छन् । त्यसकै लागि पार्टीको केन्द्रीय समितिको बैठक पर्खिरहेका हुन् कि ?
राष्ट्रियता झल्कने सादा जिवन
ढोका खोल्ने वित्तिकै सानो बैठक कोठा आउँछ । दुईचार वटा सोफा कुर्सी छन्, किताब राख्ने र्याक, एकातर्फ टेलिभिजन भित्तामा केही फोटा झुण्ड्याइएको । सामान्य डेरावालको भन्दा फरक जिवन रहेनछ अनुमान गर्यौं । आफु बस्ने अलिक अग्लो कुर्सी पछिल्तिर राष्ट्रिय झण्डा राखेका छन् । उनलाई नेपालको झण्डा ओधी मनपर्छ । सानो कोठामा असरल्ल सामान राखिएकोले सामान्य डेरावालकै जस्तो छ उनको बस्ने कोठा ।
भन्नेले लालबाबुले यति खाए, उति खाए, कर्मचारी समायोजनमा करोडौं कमाए भन्छन् । फेसवुकका भित्तामा फोटा बनाउँदै अपमानित गर्नेले उनको डेरा हेर्ने जमर्को गरेका छैनन् । त्यही भएर उनलाई मिडिया प्रति दुखेसो छ ।
०७४ सालको प्रतिनिधिसभा निर्वाचनताका एउटाले लालबाबु सात वर्षका लागि जेल चलान भनेर समाचारै बनायो । मोरङका जनतासँग साइकलमा घरदैलो गर्दागर्दै डँडेलो सरी फैलिएको त्यो समाचारले लालबाबुको विजययात्रालाई नरोकेपनि मनमा भने मिडिया प्रति हेर्ने दृष्टिकोण बदलिदियो ।
कुनै एउटा गाउँको सामान्य एमएम टेक्निसियनले बनाएको त्यो समाचारले ब्यक्तिको मानमर्दन गरेको भन्दै अन्र्तवार्ताको अन्तिमतिर मिडिया काउन्सिल विधेयकको विषयमा कुरा गर्दा गुनासो पोखे । ‘पत्रकारले कानुन र नियमभित्र बस्नु पर्दैन ? अर्काको टाउको, जिउ जोडेर अफवाह फैलाउन पाइन्छ ?’ पण्डितले दुखेसो पोखे ।
साँझ कोटेश्वरस्थित डेरामा पूर्वमन्त्री पण्डित जाँदा उनी सामान्य भाइरल भएर बाक्लो लुगा लगाएर आराम गरिरहेका थिए । रातो फेटाले टाउको कान छोपेर लङकोज लगाएका मन्त्रीको गेटअप साँच्चिकै विरामीकै जस्तो थियो ।
यस्तो बेलामा पनि अन्तर्वार्ता लिन आउने हामी कस्ता ? आफैंलाई प्रश्न गरीयो ।
। साँझको समय भएर होला कार्यकर्ता रहेनछन् । श्रीमती मात्र रहिछिन्, छोरी सायद बाहिर कतै गएकी थिइन् कि !
चारपाङ्ग्रे सवारी एक तर्फी मुस्किलले छिर्ने सुरक्षाको खासै बन्दोबस्त नभएको सामान्य घरमा सायद चार कोठा होला (सोध्ने कुरा भएन) भाडामा लिएर क्वाटरमा राखिएका सबै सरसामान असरल्ल थियो ।
यस्तैमा अन्र्तवार्ता लिइयो । करिब १ घण्टाको बसाई भयो पण्डितसँग । मन्त्रीमा रहँदा नरहँदाको जिवनशैली, मन्त्रीहुँदा गरेका कामको मुल्यांकन, सभामुख चयनमा देखिएको विवाद लगायत विषयमा कुरा गर्यौं । प्रधानमन्त्री असफल कि तपाई ? प्रश्नको ठाडो उत्तर दिएनन् ? घुमाएर ‘प्रधानमन्त्रीले सेतोलाई कालो भने कालै, कालोलाई सेतो भने सेतै भन्नुपर्छ’ उत्तर दिए । यसको मतलव प्रधानमन्त्री निरंकुश हुँदै त गएका हैनन् ?
अन्र्तवार्ता चाँडै आउँदैछ ।








