पत्रकार हत्यामा दोषीलाई ३९ वर्ष कैद सजाय फैसला

माघ ३, चितवन । रेडियो अनमोलमा कार्यरत पत्रकार मनोहर ढकालको हत्यारालाई जिल्ला अदालतले ३९ वर्षको कैद सजाय सुनाएको छ । जिल्ला अदालत मकवानपुरले पत्रकार मनोहर ढकालको हत्यामा संलग्न अभियोग लागेका दुई जनालाई दोषी ठहर गर्दै ३९ वर्षको कैद सजाय फैसला सुनाएको हो । 

पत्रकार ढकालको हत्यामा संलग्न हेटौँडा–११ का २० वर्षीय अनमोल पुडासैनी र हेटौँडा १२ का १९ वर्षीय प्रविण वाइबालाई ३९ वर्षको कैद सजाय सुनाएको छ । उनीहरुलाई जिल्ला न्यायाधीश दिल्लीरत्न श्रेष्ठको इजलासले दोषी ठहर गर्दै उक्त सजाय सुनाइएको हो । 

२०७५ पुस २५ गते साँझ हेटौँडा–१ को भैरवडाँडा नजिक गम्भीर घाइते अवस्थामा फेला परेका पत्रकार ढकालको उपचारार्थ हेटौँडा अस्पताल पुर्याएको केही बेरमा अस्पतालले मृत घोषित गरेको थियो ।   

शुरुमा मोटरसाइकल दुर्घटनामा ढकालको मृत्युभएको भनिएको भए पनि घटनास्थलको प्रकृति र मोटरसाइकलको अवस्था आदिका कारण प्रहरीले घटनालाई सुक्ष्म रुपमा अनुसन्धान गरेको थियो । घटनाको सात दिनपछि प्रहरीले हत्यामा संलग्न भन्दै दुई जना र घटनापछि हराएको मृतक ढकालको औँठी र मोबाइल फोन खरिद गर्ने दुई जना गरी चार जनालाई पक्राउ गरेर सार्वजनिक गरेको थियो ।   

पत्रकार सम्मेलनमा हत्यामा संलग्न भनिएका दुवै जनाले पत्रकार ढकालले आफूहरुलाई लागुऔषध नखान भनेकाले रिस उठेको र हातको औँठी देख्दा लोभ लागेर मोटरसाइकलबाट धकेलेर ढुङ्गामा लडाएको र ढुङ्गाले हानेर औँठी, मोबाइल फोन र झोला लिएर भागेको बताएका थिए । 

अदालतले उनीहरुलाई हत्या अभियोगमा जन्मकैद र डकैतीमा १४ वर्ष गरी कूल ३९ वर्ष कैद फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार केशवराज कैसिकले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *