ग्रिजमेन चम्कँदा बार्सिलाेना काेपा डेल रेकाे अर्काे चरणमा

एजेन्सी । फ्रेन्च फरवार्ड एन्टोइन ग्रिजमनको दुई गोल सहयोगमा बार्सिलोना स्पेनिस कोपा डेल रेको अर्काे चरणमा पुग्न सफल भएको छ । बार्सिलोनाले तेस्रो डिभिजनको युडी इविजालाई २–१ ले पराजित गर्दै अर्काे चरणमा पुग्न सफल भएको हो । 

बार्सिलोनाले १–० ले पछि परेको स्थिति उल्ट्याएर पूनरागमन जित निकालेको हो । युडी इविजाका जाभी पेरेजले गरेको गोल सान्त्वना बन्यो । खेलका नवौं मिनेटमा जाभी पेरेजको गोलमा युडी इविजाले बार्सिलोनाविरुद्ध अप्रत्यासित अग्रता लिएको थियो । पेरेजले राई नासिमेन्टोको पासमा गोल गरेका थिए । तर, त्यो अग्रतालाई इविजाले दोस्रो हाफमा जोगाउन सकेन । 

१–० ले पछि परेपछि बार्सिलोनाले गोलको लागि निकै मिहेनत गर्नुपरेको थियो । ७२औं मिनेटमा ग्रिजमनले फ्रान्की डि जोङको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा जोर्डी अल्वाको पासमा ग्रिजमनले व्यक्तिगत दोस्रो तथा टिमका लागि पनि दोस्रो गोल गर्दै बार्सिलोनालाई २–१ को जित दिलाए । 

बार्सिलोनाले इविजाविरुद्ध युवा खेलाडीलाई मैदानमा उतारेको थियो । जुनियर फिर्पाे, अन्सुमान फाती, रिकार्ड पुइग र क्लेमेन्ट लेङ्लेटलाई इविजाविरुद्ध मौका दिइएको थियो । 

रियाल म्याड्रिड पनि स्पेनिस कोपा डेल रेको प्रि–क्वाटरफाइनलमा पुग्न सफल भएको छ । रियालले तेस्रो डिभिजनको युनियनीस्टेस डि सालामान्कालाई ३–१ ले पराजित गर्दै अन्तिम १६  मा पुग्न सफल भएको हो । रियालको जितमा वेल्सका फरवार्ड ग्यारेथ बेल र ब्राहिम डियाजले गोल गरे । एक गोल भने आत्मघाती गोल उपहार पाएको थियो । सालामान्काका अल्भरो रोमेरोले गरेको गोल सान्त्वना बन्यो । खेलका १८औं मिनेटमा बेलले गोल गर्दै रियाललाई खेलमा अग्रता दिलाएका थिए । 

५७औं मिनेटमा सालामान्काले बराबरी गोल फर्काउदै खेललाई १–१ गोलको बराबरीमा ल्यायो । अल्भेरो रोमेरोले बराबरी गोल गरेका थिए । ६२औं मिनेटमा जुवान गन्गोराले आत्मघाती गोल गरेपछि रियालले खेलमा पुन २–१ को अग्रता लिन सफल भयो । मार्सेलोको ओभरल्यापमा गएर क्रस गरेको बललाई ब्राहिम डियाजले नभेटेपनि गन्गोराले आफ्नै पोस्टमा गोल गर्न पुगेको थियो ।  इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा क्यासमिरोको पासमा डियाजले गोल गर्दै रियाललाई ३–१ को जित दिलाए । 

यस्तै अर्काे खेलमा सेभियाले लेभान्टेलाई ३–१ ले पराजित गर्दै अर्काे चरणमा पुग्न सफल भएको छ । सेभियाको जितमा फर्नान्डो, लुकास आकाम्पस र ओलिभर टोरेसले गोल गरे । ओस्कारले एक गोल फर्काए । 

अर्काे खेलमा एथ्लेटिको विल्वाओले इलचेलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै अर्काे चरणमा पुग्न सफल भयो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =