‘रहर लागेको छ भने जुलुस निकाल्नुस्’

माघ १७, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मिडियाले आफूलाई पढाउन जरुरी नभएको टिप्पणी गरेका छन् ।   

नेपाल टेलिभिजन इटहरीको शुक्रबार शुभारम्भ गर्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले सरकारले संविधान मिचेर काम नगरेको भन्दै यस्तो टिप्पणी गरेका हुन् ।   

आफ्नो भाषणबाट केही पत्रकार रिसाउन सक्ने भन्दै उनले रिसाए पनि केही फरक नपर्ने बताए । उनले भने, ‘कोही पत्रकार रिसाएर केही फरक पर्दैन, यिनीहरुले भन्दा बढी २५ वर्ष पत्रकारिता मैँले गरेको छु ।’   

स्वतन्त्र प्रेसमैत्री कानूनका लागि कुनै आन्दोलन गर्नु नपर्ने उनको भनाइ छ ।  ‘जुलुस निकाल्न आवश्यक छैन । रहर लागेको छ भने मात्र निकाल्नुस् । हामी आफ्नो तरिकाले सबैभन्दा उन्नत किसिमको कानून बनाउँछौँ ।’  

उनले अब पत्रकारिता क्षेत्रको परीक्षण हुने बेला आएको जिकिर गरे । अहिले संविधान संशोधन नगरी प्रेसविरोधी कानून नै ल्याउन नसकिने उनको भनाइ छ ।   

प्रधानमन्त्रीको स्वास्थ्यबारे रिपोर्टिङ गर्दा नेपालको पत्रकारिता क्षेत्रको अवस्था छर्लङ्ग भएको स्पष्ट पार्दै बास्कोटाले विषयगत ज्ञान भएका पत्रकारको अभाव रहेको बताए । 

पत्रकारकाे परीक्षा लिने विषयमा अधिकांश पत्रकारहरूले विराेध जनाइरहेका छन् । नेपाल पत्रकार महासंघले पनि मिडिया काउन्सिल विधेयकमा रहेको पत्रकारलाई सरकारी निकायबाट जाँच लिई लाइसेन्स दिने प्रावधान हटाउन माग गरेको छ । पत्रकारलाई जाँच लिई लाइसेन्स दिनेजस्ता प्रावधानहरु संविधानको मर्म र भावनाको विपरीत हुनुका साथै प्रेस स्वतन्त्रता विरोधी भएको महासंघकाे भनाइ छ ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *