बास्केटबल खेलाडी कोबे ब्रायंट र छोरी जियाना सहित ९ जनाको हेलिकोप्टर दुर्घटनामा निधन

माघ १३,एजेन्सी। अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्ट र छोरी जियानाको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । क्यालिफोर्नियाको कालाबासासमा भएको हेलिकोप्टरमा दुर्घटनामा ब्रायन्ट र छोरी सहित ९ जनाको मृत्यु भएको हो । 

आफ्नै हेलिकोप्टरमा यात्रा गरिरहेको बेला ४१ वर्षीय ब्रायन्टको दुर्घटना भएको थियो । लस एन्जसलिस प्रहरीले दुर्घटनामा हेलिकोप्टरमा सवार सबै यात्रुको मृत्यु भएको जनाएको छ । 

पाँच पटकका एनबीए च्याम्पियन ब्रायन्टलाई बास्केटबल खेलमा महान् खेलाडीको सूचीमा राखिन्छ । एनबीएले एक वक्तव्य जारी गर्दै कोबे ब्रायन्ट र उनकी १३ वर्षीया छोरी जियानाको निधनले आफूहरु स्तब्ध भएको बताएको छ । 

प्रहरीका अनुसार स्थानीय समयअनुसार बिहान १० बजे लास भिरगेनेसभन्दा नजिकै एक मैदानमा हेलिकोप्टर खसेको थियो । एक प्रत्यक्षदर्शीका अनुसार दुर्घटनाअघि हेलिकोप्टरको इन्जिनमा अनौठो आवाज आएको थियो । 

लस एन्जलिस लेकर्सबाट २० वर्ष बास्केटबेल खेलेका ब्रायन्टले सन् २०१६ को अप्रिलमा खेलबाट सन्यास लिएका थिए । सन् २००८ मा उनी एनबीएका सबैभन्दा मूल्यवान खेलाडी बनेका थिए भने दुई पटक एनबीएको फाइनलमा उत्कृष्ट खेलाडी चुनिएका थिए । उनी दुई पटक एनबीएमा सबैभन्दा बढी स्कोर गर्ने खेलाडी बनेका थिए भने दुईपटक ओलम्पिक च्याम्पियन बनेका थिए । 

सन् २००६ मा उनले टोरोन्टो र्याप्टर्सविरुद्ध उनले ८१ अंक स्कोर गरेका थिए । एनबीएको इतिहासमा एकै खेलामा गरिएको दोस्रो ठूलो स्कोर थियो । 

सन् २०१८ मा डियर बास्केटबल नामक सर्ट फिल्मका लागि ओस्कार पनि जितेका थिए । सन् २०१५ मा उनले आफ्नो प्रिय खेलका लागि लेखेको प्रेम पत्रका आधारमा उक्त ५ मिनेटको चलचित्र बनाइएको थियो । 

ब्रयान्ट र उनकी पत्नी भेनेसाका अन्य तीन छोरी नटालिया, बियान्का र क्याप्री रहेका छन् । साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, पूर्व राष्ट्रपति बाराक ओबामा, उसेन बोल्ट, र्यापर कान्ये वेस्टलगायतले सामाजिक सञ्जालमा उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *