‘घरघरमा सन्तान हैन, आत्मघाती बम उत्पादन भइरहेका छन’

प्रविधिमैत्री प्रधानमन्त्री केपी शर्मा ओली मध्यरातमा आइप्याड चलाएर बसिरहेका थिए । उनको शयनकक्षमा एक्कासी चोरको प्रवेश हुन्छ । चोरलाई सम्बोधन गर्दै नम्र भाषामा प्रधानमन्त्री भन्छन–‘अरु मेरा सामान जे लगेपनि लैजाउ तर यो आइप्याड चाहिँ कुनै हालतमा दिन्न ।’ चोर ठाडो भाषामा जंगिन्छ– ‘त्यो आइप्याडमा चाहिँ के छ र, मैले नपाउने ?’ 

प्रधानमन्त्री ओलीले शान्त शैलीमा बेलिविस्तार लगाए–‘यसमा राजनीतिक ज्ञान छ । मार्क्स, लेनिन, माओवाददेखि समाज रुपान्तरणका शूत्र छन् । मुलुकलाई आर्थिक समृद्धिमा लैजाने रोडम्याप छन् । चुनावताका पार्टीले व्यक्त गरेका संकल्प छन् । जनता लटपट्याउने काइदा कानुन छन् । अनन्त सत्ता हत्याउने रणनीति छन् ।’ प्रधानमन्त्रीका कुरा सकिन नपाउँदै चोरले प्रधानमन्त्रीका गालामा तोरीको फूल देखिने गरी दुई चड्कन लगायो । अकारण हात छोडेकोमा प्रधानमन्त्रीले आपत्ति जनाए ।   

चोरले भन्यो– ‘राजनीतिक प्रतिवद्धता आइप्याडमा हैन, व्यवहारमा उतार्ने विषय हुन । यो एजेण्डामा तिमी आलाकाँचा रहेछौ, त्यसैले मैले थप्पड लगाएको हो । मलाई शिक्षा दिने गुरुले पनि मेरो मनमा नभएर कापीमै ज्ञानका कुरा लेख्थे । उनले सिकाएजस्तै मैले पनि ज्ञानका कुरा काममा नभएर कापीमै उतारें । त्यही भएर म चोर भएँ । कापी हेरेर ज्ञान दिने र कापीमै ज्ञानका कुरा लेखेर राख्नेहरु सबै मजस्तै चोर हुन । त्यसैले मैले चोरलाई हिर्काएको हो, प्रधानमन्त्रीलाई हैन ।’ 

चोरका अर्थपूर्ण तर्कले प्रधानमन्त्री निरुत्तर भए । सयौं सुरक्षाकर्मीबाट घेरिएको ठाउँबाट चोर ससम्मान विदा भयो ।   

सरकार अर्को बजेटको तयारीमा जुटिरहँदा विकास खर्च अधिकतम १३ प्रतिशतको हाराहारीमा छ । एक डेढ महिनाभित्र बजेटको सुतकले भेटेपछि यस वर्षका सम्पूर्ण काम ठप्प हुँदै जाने छन् । इन्जिनीयरकी छोरीको विहेमा ठेकेदारले समयमै विहे खर्च जोहो नगरेको दोष आयोजनाले खेप्नु पर्नेछ । नेताले भनेको नम्बरी गाडी, इन्धन र चालक नपठाएको निहुँमा आयोजना प्रमुख कामकै चटारोबीच सरुवा हुँदा आइपरेको जोखिम व्यहोर्न नसकेको नाममा अरबौंको क्षतिपूर्ति राज्यले तिर्नुपर्ने अवस्था दोहोरिने छन् । पूर्वमाओवादीका दुईचार नेता नैतिक र भ्रष्टाचारको मुद्दामा प्रहरी गेष्टहाउसको पाहुना हुने क्रम बढेसँगै ‘हेपेको’ नाममा दुई पार्टी एकीकरणका तुष छरपस्ट हुँदै जानेछन् ।   

देशका ‘ठूला मुखिया’हरुको यो ‘पुरुषार्थ’लाई भूइँमानिसहरुले ‘प्रारब्ध’ ठानेर पुर्पुरो कन्याउनु पर्नेछ । गाडी, सोफा, टेबुल, कुर्सी, रंगीन पर्दा खरिदमा देखिएको देशव्यापी कीर्तिमानी तत्परता राज्यकोष भर्न र विकासका काममा एक अंश पनि भेटिदैन । राजश्व लक्ष्यमा अहिले नै डेढ खर्ब धक्का व्यहोर्नु परेको अवस्था छ । संघीयताले थुम्का थुम्कामा सेवक नभएर शासकका चेकपोष्ट बढाएको छ । ठूलामान्छेबाट आजित देश, ठूलामान्छेकै घमण्डले अस्थिपञ्जरमा अनुवाद हुँदैछ । लुटतन्त्रका उम्दा पात्रहरुले सन्तानका लागि शहरमा  वातानुकूलित घर, चिल्ला गाडीको मेसो त मिलाइदिए तर देशप्रेमको संस्कार दिएनन । त्यसैले घरघरमा सन्तान हैन, आत्मघाती बम उत्पादन भइरहेका छन् । जसको परिणाम माटो मुटुमा नभएर फेसबुकमा दुख्न थालेको छ ।   

नेपालमा हाँस्न बिर्सिएको नेपाली विदेशी भूमिमा खुशी हुने भाकल गर्छ, तर त्यहाँ पुग्दा हाँस्न त परै जाओस, आफ्नै अनुहार बिर्सिन्छ । नेपाल गएर हाँस्ने सपना त्यान्द्रो बनाएर पाल्दापाल्दै दाँतले राजीनामा दिएको पत्तै पाउँदैन । अनि उसका सपना, जपना र कल्पना नलेखिएको एउटा काव्य बन्छ । परदेशमा देश खोज्दाखोज्दै उसको यात्रा बालुवाको पाइलाजस्तै जति हिँडे पनि धर्सो बन्दैन । फर्सीले चुलेसी, चुलेसीले फर्सी जे काट्नुस, अन्त्य त फर्सीकै भाग्यमा लेखिएको हुन्छ । जहाँ गएपनि नेपाली त्यही फर्सी हो ।   

रामदेखि कृष्णसम्म, अब्राहम लिंकनदेखि महात्मा गान्धीसम्मका व्यक्तित्वलाई संसारमा पूज्य के ले बनायो । उत्तर हाजिर छ– राजनीति । दक्षिण अफ्रिका देशभन्दा अघि मानिस नेशनल मण्डेला सम्झन्छन् । सहमत, असहमत संसारका हरेक मानिस उनको जन्मघर चिहाउन पुग्छन् । चीन जाने जो सुकै होस न, माओको मृत शरीरको परिक्रमा नगरी फर्किदैन । आखिर किन रु राजनीतिप्रति उनीहरुको इमान्दार संकल्प । घर कि देश रु यी दुई रोज्ने परिस्थितिमा जन्मिएको माटोको हितका लागि यिनीहरुले परिवार त्यागिदिए । तर देशलाई छातीबाट कहिल्यै अलग गरेनन् । देश के हो ? यसको उत्तर शरणार्थीहरुलाई थाहा छ । दलाई लामासँग के छैन ? सबैथोक हुँदा पनि धर्ती नहुँदा उनको जीवन अपूर्ण छ । एक गिलास पानीको मूल्य कति हुन्छ ? मरुभूमिमा धापिएको व्यक्तिले भन्न सक्छ । मानिस आउनु जानु प्रक्रिया हो । मृत्युका अगाडि एक्लो सत्य भएर उभिन्छु भन्नु भ्रम शिवाय केही होइन ।   

गल्ती गर्नु जति निरपराध हो, गल्ती दोहोर्याउनु चाहिँ अक्षम्य अपराध हो । अब त गल्तीका पनि धेरै चाङ लागिसके । खालखालका प्रयोगले देश छिद्र भइसक्यो । भो अब दाउपेच बन्द गरौं । धेरै हदसम्म देश चलाउने मियो बनेको राजनीति सङ्लिनु पर्छ । त्यसपछि चिन्ता हैन, चिन्तनको सुन्दर बीउ तमाम देशबासीमा छर्नुपर्छ । कसैले बनाउन सक्दैन भने उसलाई भत्काउने अधिकार हुँदैन । यसका लागि आफुबाहेक सवै बेठीकको मानसिकता भने जरैदेखि उखालेर मिल्काउन जरुरी छ । नविर्सौ देश बनाउनु भनेको उच्च मनबोलको बृद्धि हो ।   

जीवनबाट विदा लिनुअघि रावणले रामलाई भनेका थिए– ‘उमेरमा म तिमीभन्दा पाको छु । ज्ञान र बलमा पनि अब्बल छु । तिम्रो सुनको घर, मेरो सुनको देश । तपस्या र क्षमतामा पनि कमजोर छैन । देशको आकार तिम्रो भन्दा ठूलो छ । सबै चीजमा उत्कृष्ट हुँदाहुँदै लडाईं जित्न सकिन । यसको एउटैका कारण हो– ‘तिम्रो भाइ तिम्रो साथमा छ, मेरो भाइ शत्रुसँग छ ।’ राजनीतिशास्त्रले भन्छ–  ‘जनता कहिल्यै गलत हुँदैन ।’ तर जनता नै नमिल्ने अनौठो संस्कृति समाजमा उन्मत्त हुँदैछ । कसैले बोलेको कसैलाई पच्दैन ।   

राजनीतिक रिङभित्र बसेकाहरुको प्रदूषणले  राजनीतिका कलपूर्जामा खिया लागेको छ । खाडी, युरोप, अमेरिका बस्नेदेखि सडक सफा गर्ने सम्मलाई सिंहदरबारको अनौठो तिर्खा छ । देश संघीयतामा गएर संघीय संरचना बनिसक्दा पनि पदाधिरीहरुलाई पाएको पदप्रति स्नेह छैन । देश बनाउने रोडम्यापभन्दा उनीहरुलाई सलामीको लोभ छ ।   

आदेश दिनुपर्छ भन्ने असफल राजनीतिक डक्टिनबाट ग्रसित ठूलाबडाहरु ठाडो बिजुलीको पोललाई पनि आदेश फर्माउन आतुर छन् । जनताको आम्दानी स्रोत सुक्दै जाँदो छ । घरखेत बाँझा छन् । डोरी लाहुरे, तोरी लाहुरे विदेशी भूमिमा बसेर नेपालप्रति अर्तीको अगाध स्नेह बर्साउन मस्त छन् । काम गर्ने सल्लाहमा विमति भएर नभई बाँडफाँडमा कुरा नमिलेर रस्साकस्सीका समाचार बाक्लै सुनिन पढिन थालेका छन् ।   

एउटा समय थियो– हरेक मानिसले आफ्नो सुरक्षाको लागि धनुकाँडा बोक्थ्यो । कोही गुलेली बोक्थे । कोही तीर उध्याउँथे । निशस्त्र महिलाहरु केही नहुँदा पनि दुवै औंलामा नङ पाल्थे । खुर्सानीको धुलो बोक्थे । समय परिवर्तनसंगै ओहोदा सामथ्र्य हेरेर मानिसहरु भरुवा बन्दुक राख्न थाले । राज्यले आत्मसुरक्षाका यी उपाय आफुले गर्ने ढाड्स दिँदै हतियार आफ्नो नियन्त्रणमा लियो । जनताको शरीरमा घात हुन नदिने बचन दिएपछि जनता आश्वस्त भए । तर संगठित हुन नसक्ने जनताको प्रकृतिमाथि राज्यको नाममा यस्तो कपटपूर्ण खेल खेलियो कि कानुनमा लेखिएका शब्दबाहेकका खेलबाट जनता आहत हुन थाले । जनताले पाउने सुरक्षा चाकरीको माध्यम बन्यो ।  दर्ता चलानीको काम समेत शुभलाभविना नहुने दिन आए । हुँदाहुँदा नेपाल मात्र त्यस्तो देश हो, जहाँ राजश्व तिर्न पनि विचौलियाको भरथेग चाहिन्छ । कर्मचारीहरु सेवाग्राही चिन्दैनन, विचौलिया चिन्छन् ।   

राजा त्रिभुवनलाई त्रास देखाइ दिल्ली भगाएर चारवर्षे बच्चोलाई राजा बनाउने देखि लिएर प्रचण्डलाई तिलस्मी देवदूतका रुपमा अवतरण गराई एक दशक बीचमा नाङ्गेझार बनाउन प्रकारान्तरमा एउटै प्रवृत्तिले भूमिका खेलेको छ । चटकेहरुको लीलाले सामाजिक मनोविज्ञान नै आँधीमा परेको डुंगाजस्तो भइरह्यो । भ्रष्टाचारी ठीक लाउने नाममा अख्तियारका गतिविधि युद्धकालिन माओवादीको एम्बुसभन्दा कम खतरनाक हुन छोड्यो । भ्रष्टाचार, अनाचार, व्यभिचार किन मौलाउँदैछ भनेर त्यसको ओखती खोज्नु साटो सरकारी निकायबीच नै को बढी दमदार देखिने भनेर प्रतिस्पर्धा चल्न थालेको छ । सांसदहरु हिन्दी सिनेमाका जुँगे तसिल्दारजस्ता भएका छन् । यतिका राजनीति उहापोह हुँदा पनि मोटाउनु र सुन्निनु एउटै होइन भन्ने चेत राजनीतिकर्मीहरुमा आएन । कथित जनयुद्ध सफल पार्न हजारौंले बलिदान दिएको स्थायी रेकर्ड राखेका माओवादी नेताहरुलाई थाहा छ छैन, ती ठाउँका जिल्ला अदालतले गरेको आधा फैसला सम्बन्ध विच्छेदका छन् ।   

गणतन्त्रपछि त राजनीतिक दुश्चक्र साँच्चै कहालिलाग्दो छ । देशका कार्यकारी पद नेताका हुक्के, ढोके, चम्चेलाई जागिर लगाउने ठाउँ भएका छन् । एसएलसी गान्धी डिभिजनमा पास हुन नसकेर प्राथमिक विद्यालयको शिक्षकसम्म हुने हुति नभएकाहरु नेताहरुको झोला बोकेको र ढुंगा हानेको ज्याला स्वरुप शिक्षामन्त्री भएका छन् । पुलिसको सिपाहीमा फालिएकाहरु गृहमन्त्री भएर टप्किएका छन् । संसदजस्तो गरिमामय ठाउँलाई रणमैदान बनाउने ‘बुल फाइटरहरु’लाई छानी छानी मन्त्री बनाइएको छ ।   

सेना समायोजनमा कर्नेल नपत्याइएका नन्दकिशोर देशको दोस्रो भीभीआईपी बनाइए । माओवादी नेताका पति पत्नी पालो गरी गरी मन्त्री भएका छन् । मानौं मन्त्री पद बच्चालाई फकाउने चिची पापा जत्तिक्कै सस्तो हो । जात, धर्म, लिंग कसैले निवेदन दिएर पाएको बस्तु होइन । त्यो प्रारब्ध हो । आफ्नो लगानी विनाको वस्तुमा गौरव गर्नु पाखण्ड हो । तर मुलुकको अनुहार झल्किने त्यो ठाउँमा योग्य मानिस हैन, महिला, जनजाति, मधेशी, अपाङ्ग पुर्याएकोमा गौरव गरिरहेका छौं । सन् १९८० ताका नेपालको प्रतिव्यक्ति आय २६५ हुँदा चीनको प्रतिव्यक्ति आय २५० डलर थियो । अहिले त्यही चीनबाट पठाएका थाङ्ना फोगटाले आङ ढाक्न नपुगेर चीनको तुरुप प्रयोग गरी फेसबुकमा भारतलाई धम्क्याइरहेका छौं ।   

यसरी धम्क्याउनुअघि चीन र भारतबीच झण्डै एक खर्ब डलरको व्यापारिक सम्झौता छ भन्ने सत्यसँग थोरै परिचित भइदिए कति गुन लाग्थ्यो । जो शक्तिमा पुग्यो उसले राज्यका संयन्त्रलाई विर्ता ठान्ने यही मनस्थितिका कारण हामी गफाडी माग्ने भएका हौं । कोही सत्तामा पुगेर मात्तिनु र कोही प्रतिपक्षीमा पुगेर आत्तिनुले केही फरक पर्दैन । कांग्रेस इतर दलका नजरमा अहिले देशमा लोकतान्त्रिक गणतन्त्र फलेको फुलेको छ किनभने उनीहरु सत्तारुढ छन् । सत्ताबाहिर जानासाथ कांग्रेसले लोकतन्त्रमा झुसिलकिराको प्रवेश देख्न थालिसकेको छ । यी दुवै प्रवृत्तिले लोकतन्त्रको मर्म बोक्दैन । साँचो लोकतन्त्र त त्यो हो, जसले राज्य सञ्चालन प्रक्रियामा जनतालाई थोरै भन्दा थोरै गुनासोको अवसर दिन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *