राजस्व छली गर्ने २ फर्मविरुद्ध १५ करोडको मुद्दा

पुस २०, काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व छली गर्ने दुई फर्मविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
विभागले अग्रिम ईन्टरपाईजेज (अग्रिम निर्माण सेवा) र सन्दिप ट्रेडिङ्गविरुद्ध १५ करोड ५१ लाख विगो असुल एवम् विगोको दोब्बरसम्म जरिवाना र ३ वर्ष कैद सजायको माग दावीसहित अदालतमा मुद्दा दायर गरेको हो ।
अग्रिम ईन्टरप्राईजेजका प्रोपाईटर नविन चौलागाईँ सहित ४ जनालाई राजस्व चुहावट गरेको अभियोगमा १२ करोड ८७ लाख विगो कायम गरी विगोको दोब्बरसम्म जरिवाना र ३ वर्षसम्म कैद मागदाबी गरी पुस १७ गते अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

अग्रिम ईन्टरप्राईजेजले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मुअ कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावट गरेको विभागको आरोप छ ।
उनीहरुले ३ करोड ६७ लाख ६७ हजार ३ सय ८७ र आयकरतर्फ ९ करोड २० लाख २१ हजार ४५ रुपैयाँ राजस्व चुहावट गरेकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २ (छ१) बमोजिम हुने जम्मा विगो १२ करोड ८७ लाख ८८ हजार ४ सय ३२ मागदावी सहित प्रोप्राइटर नविन चौलागाई र फर्मका कर्मचारी तोयनाथ अधिकारी तथा उक्त फर्म अडिट गर्न फर्महरु Tamang and Associates का अडिटर राम बहादुर तामाङ्ग र Tamang and Associates का अडिटर दिपक कुमार कोइरालाविरुद्ध मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
त्यस्तै काठमाडौं महानगरपालिका-२५ स्थायी घर भएका सन्दिप ट्रेडिङ्गका प्रोप्राटर प्रमिला कुमारी साह र मुनेश कुमार रौनियारले भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा २ करोड ६४ लाख विगो कायम गरी विगोको दोब्बर सम्म जरिवाना र ३ वर्षसम्म कैद सजाय हुन माग दावी गरिएको छ । उनीहरुविरुद्ध पुस २० गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको राजस्व विभागका सूचना अधिकारीले जानकारी दिए ।








