अन्तिम गृहकार्यमा कांग्रेस, सभापति निवासमा छलफल जारी

माघ १०, काठमाडौं ।  नेपाली काँग्रेसको संस्थापनपक्ष र संस्थापनइतर पक्षबीच अहिले छलफल जारी छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा विहान १० बजेदेखि जारी शीर्ष नेताहरुको छलफलमा पार्टी विवाद समाधानका लागि अन्तिम गृहकार्य भइरहेको बुझिएको छ ।   

छलफलमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला, पूर्णबहादुर खड्का, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला रहेको जनाइएको छ । 

नेताहरु ११ पुसमा केन्द्रीय समितिबाट भएका निर्णयमा पुनर्विचार, नेविसङ्घको गठन, तरुण दलको कार्यकाल बढाएर समितिलाई पूर्णता दिनेदेखि पार्टीका विभागहरुको सङ्ख्या तथा गठन लगायतका विषयमा निर्णय लिने तयारीमा रहेको श्रोतले बतायो । 

स्रोतका अनुसार विभाग र केन्दीय कार्यसम्पादन समितिमा ४० र तरुण दलमा ३५ प्रतिशत पौडेल पक्षलाई दिने समझदारी बनेको छ । तर नेविसंघभित्र सिटौला पक्षको स्थान के हुने भन्ने विषयमा विवाद केन्द्रित छ ।   

महाधिवेशनलाई व्यवस्थित, निष्पक्ष र पारदर्शी बनाउने पौडेल पक्षले विधानको दफा ३५ को २ (घ) बाहेक क्रियाशील सदस्यता फुकुवासँग जोडिएका निलम्बित दफाहरू फुकुवा हुनुपर्ने भनि राखेको प्रस्तावमा देउवा लचिलो बनेका छन् । 

यता केन्द्र र प्रदेश अधिवेशन हुनु एक वर्षअघि नै स्थानीय तहका सबै अधिवेशन सम्पन्न गर्नुपर्छ भन्ने विधानको उक्त प्रावधान निलम्बन गर्न पौडेल पक्ष पनि सहमत भएको छ । 

१३ औँ महाधिवेशनको सदर क्रियाशील सदस्यताको नामावलीको हार्ड र सफ्ट कपी उपलब्ध गराउनुपर्ने पौडेल पक्षको मागको देउवाले सुनाइ हुने बचन दिएको स्रोतले बतायो । 

यस्तै, १४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यताको छानबिन समिति गठन गर्न पनि देउवा तयार भएका छन् । 

भ्रातृ संस्थाहरुमार्फत पार्टीको साधारण सदस्यता वितरण गर्ने दिने नदिने भन्ने विषयमा दुई पक्षबीच छलफल जारी छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 16 =