अब ह्यारी र मेगनको शाही उपाधि र उत्तरदायित्व सकियो

माघ ५, काठमाडौं । बकिङ्घम दरबारले राजकुमार ह्यारी र मेगनले अब शाही उपाधि प्रयोग नगर्ने र उनीहरूले नागरिकको करबाट आउने रकम समेत नपाउने घोषणा गरेको छ। अब ह्यारी र मेगनले औपचारिक रूपमा महारानीको प्रतिनिधित्व पनि गर्ने छैनन्। 

ब्रिटिश राजपरिवारका शाही उपाधिप्राप्त सदस्यहरूलाई ‘रोयल हाइनेस’ भन्ने चलन छ। दरबारद्वारा जारी वक्तव्यका अनुसार ‘ड्यूक र डचिस अफ ससिक्स अब राजपरिवारका औपचारिक सदस्य नरहने र उनीहरूले शाही उपाधि प्रयोग गर्ने छैनन्।’ 

हालै ह्यारी र मेगनले आफूले राजपरिवारको वरिष्ठ सदस्य को भूमिका परित्याग गर्ने र आफ्नो समय यूके तथा उत्तर अमेरिकामा बिताउने घोषणा गरेका थिए। राजपरिवारको एउटा छलफलपछि ब्रिटेनकी महारानी एलिजाबेथले मञ्जुरी दिएकी थिइन्। 

ह्यारी र मेगन

नयाँ व्यवस्था यसै वर्षको वसन्त ऋतुदेखि लागु हुने दरबारले जनाएको छ। ह्यारी र मेगनले ब्रिटेनस्थित आफ्नो घर फ्रोगमोर कटेजको मर्मतसम्भारका लागि खर्च भएको करदाताको २४ लाख पाउन्ड रकम फिर्ता गर्न चाहेको बताएका छन्। 

महारानीले भनेकी छिन्, ‘ह्यारी, मेगन र आर्ची (उनीहरूका छोरा) सधैँ हाम्रो परिवारका प्रिय सदस्य रहनेछन्।’ ‘मलाई लाग्छ पछिल्ला दुई वर्षमा कडा निगरानीका कारण उनीहरूले चुनौतीको सामना गर्नुपर्‍यो। म उनीहरूको थप स्वतन्त्र जीवन जिउने चाहनाको समर्थन गर्छु।’ 

बीबीसीको सहयोगमा   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *