प्रदेश २ को राजधानी जनकपुरधाममा सहमति, नामाकरणका विषयमा आज छलफल हुने

माघ १३, जनकपुरधाम । जनकपुरधामलाई प्रदेश २ को स्थायी राजधानी राख्ने सहमति भएको छ । अस्थायी राजधानी जनकपुरधामलाई नै स्थायी राजधानी बनाउनेमा २ नं. प्रदेश संसदीय समितिमा सहमति बनेको हो ।   

प्रदेशसभाका सभामुख सरोजकुमार यादव नेतृत्वमा रहेको विशेष संसदीय समितिले प्रदेशको स्थायी राजधानीबारे सबै दलहरुको सहमति जुटाएको हो । संसदीय प्रक्रिया भने पूरा गर्न बाँकीरहेको छ । सभामुख यादवका अनुसार प्रदेश राजधानीको सीमा उत्तरमा पूर्वपश्चिम राजमार्गस्थित ढल्केबर, दक्षिणमा भारतीय सीमासम्म तथा पूर्व र पश्चिम परिक्रमा रोड रहने सहमति भएको छ ।   

सभामुख यादवले सबै दलको सहमतिमा राजधानी तोक्ने काम भएकाले प्रदेशसभाबाट सर्वसम्मत पारित हुने बताए । सभामुखले भने–‘सर्वसम्मत निर्णय भएपनि प्रदेशसभामा मतदान गर्नैपर्ने हुन्छ, पक्षमा दुई तिहाई मतदान भए मात्रै यो पारित हुन्छ ।’ 

गएको भदौं ५ मा दलहरुले प्रदेशको स्थायी राजधानीका लागि चार वटा फरक फरक प्रस्ताव दर्ता भएको थियो । सत्तारुढ समाजवादी र राजपाले संयुक्त रुपमा प्रस्ताव दर्ता गराएका थिए । उनीहरुले राजधानी जनकपुरधाम मिथिला माध्यामिकी परिक्रमा सडक र धनुषाको उत्तरमा ढल्केबर पूर्वपश्चिम राजमार्गको पूर्वमा कमला नदी र दक्षिणमा नेपालको सिमासम्मको भागलाई राजधानी तोक्न प्रस्ताव गरेका थिए । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जनकपुर परिक्रमा मार्गसहित धनुषा जिल्लालाई राजधानी बनाउन प्रस्ताव गर्दा नेपाली कांग्रेसले जनकपुर उपमहानगरपालिकाभित्र राख्नुपर्ने प्रस्ताव गरेको थियो । यस्तै पर्साका प्रदेशसभा सदस्यहरुले भने वीरगञ्जलाई राजधानी बनाउनुपर्ने भन्दै प्रस्ताव दर्ता गराएका थिए । 

प्रदेशको स्थायी राजधानीबारे सहमति जुटे पनि प्रदेशको नामबारे विवाद अझै कायमै छ । यसबारे छलफल गर्न आज सोमबार बैठक बोलाइएको छ । बैठकमा प्रदेशको नाम प्रस्ताव गर्ने प्रस्तावक, समर्थक र संशोधनकर्तालाई बोलाएर छलफल गरिने सभामुख यादवले बताए । 

सत्तारुढ समाजवादी–राजपाले संयुक्त रुपमा प्रदेशको नाम ‘मधेश’ प्रस्ताव गरेका छन् भने नेकपाले जानकी र कांग्रेसले मिथिला–भोजपुरा राख्नुपर्ने प्रस्ताव पेश गरेको छ । कांग्रेसका केहि सांसदले भने मध्य मधेशको नाम पनि प्रस्ताव गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *