क्यान ईन्फाेटेक आइटी मेला २०२० सम्पन्न

माघ १३, वीरगञ्ज । नेपालमा सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ, सङ्घसंस्था तथा व्यवसायीहरूको छाता सङ्गठन क्यान महासङ्घ पर्साद्वारा आयोजित क्यान ईन्फाेटेक आइटी मेला २०२० सम्पन्न भएको छ । गत माघ ९ गतेबाट आयोजना भएको क्यान ईन्फोटेक २०२० को अन्तिम दिन सोमबारसम्म करिब २० हजारभन्दा बढीले अवलोकन गरे । 

क्यान महासङ्घ पर्साका अध्यक्ष दीपक शाहको सभापतित्वमा भएको समापन समारोहमा वीरगन्ज पब्लिक कलेजका निर्देशक डा। दीपक शाक्यको प्रमुख आतिथ्य रहेको थियो भने कार्यक्रममा क्यान महासङ्घ का पूर्व सचिव तथा एलबिईएफ कलेजका निर्देशक पङ्कज जलान, क्यान महासङ्घ प्रदेश २ का अध्यक्ष आलोक चौरसिया, क्यान पर्साका उपाध्यक्ष प्रशान्त कुमार, क्यान पर्साका सचिव जीवन प्रकाश गुप्ता, क्यान पर्साका सहसचिव गणेश सर्राफ, वीरगन्ज युवा समाजका अध्यक्ष कमल चौगाई, सिटिजन्स् बैक प्रदेश २ का प्रमुख दिवश सिंह ठकुरी, प्रभु पेका विजय अधिकारी लगायतकाको उपस्थिति रहेको थियो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. दीपक शाक्यले सूचना प्रविधि क्षेत्रको विकासमा क्यानले पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए । वीरगन्जका लागि बिलकुलै नयाँ परिवेशको कार्यक्रम भएको हुनाले यहाँका युवाहरू यसतर्फ आकर्षित हुनुपर्ने ठाउँमा नभएको भन्दै दुःख व्यक्त गरे । यस्ता कार्यक्रमलाई भविष्यमा निरन्तरता दिई रहन क्यान पर्सालाई उनले आग्रह गरेका थिए । 

यसैबिच वीरगन्ज युवा समाजका अध्यक्ष कमल चौगाईले युवाहरूको सक्रियतामा युवाहरूका लागि आयोजना भएको क्यान ईन्फोटेक सफल भएको भन्दै शुभकामना व्यक्त गरेका हुन् । उनले यस्ता कार्यक्रम तथा समारोहले विद्यार्थीहरूको क्षमता विकासमा ठुलो याेगदान पुर्‍याएको बताए । 

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै वक्ताहरूले अधिराज्यभरि छरिएर रहेका सूचना प्रविधिका विज्ञ, जनशक्ति तथा सङ्घसंस्थाको उत्थान तथा विकासका लागि निरन्तर सक्रिय रहन क्यानलाई वक्ताहरूले आग्रह गरेका थिए । क्यान ईन्फोटेक प्रदेश २ तथा वीरगन्जका लागि बिलकुलै नयाँ परिवेशको कार्यक्रम भएका हुनाले यसलाई निरन्तरता दिनुपर्नेमा वक्ताहरूले जोड दिएका थिए । 

मन्तव्य व्यक्त गर्दै क्यान महासङ्घ पर्साका अध्यक्ष दीपक शाहले क्यान ईन्फोटेक आयोजनामा साथ दिने सबैमा धन्यवाद व्यक्त गरेका थिए । देशको आर्थिक राजधानीका रूपमा रहेको वीरगन्जलाई आउने दिनहरूमा आइटी हबका रूपमा पनि चिनियोस् भन्ने अभिप्रायले क्यान ईन्फोटेक आयोजना उनको भनाई छ । 

५ दिनसम्म चलेको क्यान ईन्फोटेक २०२० मा सूचना प्रविधिसँग सम्बन्धित करिब ६० भन्दा बढी स्टल राखिएका थिए । आइटी क्षेत्रमा भविष्य बनाउन चाह्नेहरुका लागि क्यान ईन्फोटेक पछिल्लो समय अध्ययन स्थलका रूपमा स्थापित भएको थियो । “आइटिका बारेमा धेरै जान्न पाए । यस्ता मेला अझै आयोजना हुनुपर्छ ।” मेलामा अवलोकन गर्दै गरेका सन्तोष साहले भने । 

केन्द्रीय स्तरको क्यान इन्फोटेक तथा प्रदेश र जिल्ला स्तरीय इन्फोटेकको शीर्ष प्रायोजन प्रभु पे, एसोसिएट प्रायोजकमा वल्डलिंक कम्युनिकेशन लिमिटेड, अफिसियल इन्सोरेन्स प्रभु इन्सोरेन्सले प्रायोजन गरेको छ । त्यस्तै हाल सम्म प्लाटिनम स्पोन्सरमा डाइनामिक टेक्नोसफ्ट, गोल्ड स्पोन्सरमा ब्रदर र लर्ड बुद्ध एजुकेशन फाउण्डेसन, सिल्भर स्पोन्सरमा एस पावर, भायनेटले प्रायोजन गरेका छन् । 

क्यान महासङ्घ पर्साले आयोजना गरेको क्यान ईन्फोटेक यसभन्दा अगाडी सन् २०१८ मा आयोजना गरिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *