लालिगाः बार्सिलोनालाई शिर्ष स्थानमा उक्लन ग्रानाडा तगारो

माघ ५, काठमाडौं । स्पेनिस लालिगामा आज बार्सिलोनाले क्याप नोउमा लिगको १० औं स्थानमा रहेको ग्रानाडाको सामना गर्दैछ । यस अघिको लिगमा ग्रानाडाले आफ्नो घरमा बार्सिलोनालाई २–० ले पराजित गरेको थियो । आज बार्सिलोनाको घरेलु मैदानमा मेस्सी प्रेरित बार्सिलोनालाई पराजित गर्न ग्रानाडा उत्साहजनक अवस्थामा आउँदैछ ।
आजको खेल ग्रानाडाले प्रतिष्ठाको लागि खेल्दा बार्सिलोना भने दवावमा खेल्नेछ । लिगमा एक खेल कम खेलेर दोस्रो स्थानमा रहेका बार्सिलोनालाई आज ग्रानाडालाई जित्नै पर्ने दवाव छ ।
आजको बार्सिलोनाका नयाँ प्रशिक्षक क्विके सेटिनको पहिलो खेल पनि हो । बार्साका खेलाडी आफ्ना नयाँ प्रशिक्षकलाई पहिलो खेलमा जीत दर्ता गराएर स्वागत गर्न चाहन्छन् । तर, ग्रानाडाले यसअघिको होम ग्राउण्डमा बार्सालाई स्तब्ध बनाएकोले उनीहरुमा उच्च मनोवल पनि रहेको छ ।

आज राती हुने प्रतियोगितामा स्पष्ट जीत हासिल गरेर बार्सिलोना लिगको शिर्ष स्थान हासिल गर्न चाहन्छ । यसकालागि उसले आज पहिलो रोजाईको टीम उतार्ने योजना बनाएको छ । त्यसो त बार्साका नयाँ प्रशिक्षक सेटिन आजको खेलमा दोस्रो रोजाईका खेलाडी उतारेर जोखिम मोल्न चाहँदैनन् ।
आजको प्लेइङ सेटको ११ मा स्टार खेलाडी लियोनल मेस्सीलाई एन्टोनी ग्रिजमेन र युवा खेलाडी अन्सु फातीले साथ दिनेछन् । साथमा सेटिनले अर्थुर र बी टीमका उदियमान खेलाडी रिकी पुइगलाई पनि टोलीमा राखेका छन् ।
आज नियमित गोलकिपर मार्क आन्द्रे टर स्टेगन पनि चोट मुक्त हुँदै टोलीमा फर्किएकाले बार्सालाई केहि राहत छ । तथापि, मेस्सीसँग आक्रमक लाइन संहाल्ने लुइस स्वारेज घाइते भएर बसेको अवस्थामा बार्सालाई गोल गर्ने चुनौति पनि छ । मिडफिल्डर फ्रेङ्की डे जोङ पनि घाइते छन् । बार्सिलोना आज १–४–३–३ को फर्ममा हुँदा ग्रानाडा १–४–२–३–१ को पोजिसनमा रहनेछ ।
लिगको शिर्ष स्थानमा रहेको बार्सिलोना एक खेल कम खेलेर रियल मड्रिड पछि रहेको छ । रियलको ४३ अंक रहेको छ । बार्सा ४० अंकका साथ लिगको दोस्रो स्थानमा छ । आज उ स्पष्ट जीत दर्ता गरेर पुनः शिर्ष स्थान कायम गर्न चाहन्छ ।








