‘भिजिट नेपाल २०२०’ को लगानी नहोस बालुवामा पानी (सम्पादकीय)

नेपाल भ्रमण वर्ष २०२० को जनवरी १ अर्थात आज (बुधबार) बाट औपचारिक रुपमा शुभारम्भ भएको छ । यसको श्रेय भने स्वर्गीय नेता रवीन्द्र अधिकारीलाई जान्छ । जब रवीन्द्र अधिकारी पर्यटन मन्त्री थिए उनले नै नेपाल भ्रमण २०२० को अवधारणलाई अघि सारेका थिए । 

‘भिजिट नेपाल २०२०’ अभियानमा त्यतिबेला ठूलो क्षति पुग्यो, जब अभियानका रचयिता पर्यटनमन्त्री अधिकारीको हेलिकोप्टर दुर्घटनामा परि निधन भयो । त्यसपछि पर्यटनमन्त्री भएर आएका योगेश भट्टराई अधिकारीको रचनालाई साकार रुप दिन अगाढि बढे ।   

‘भिजिट नेपाल’को अवधारणा काठमाडौं उपत्यकालाई मात्र समेट्ने नभै सिङ्गो देश नै यसको हिस्सा हो । तर के सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएपनि सिङ्गो देशलाई सिङ्गार्न सकेको छ ? ०७२ को भूकम्पले भत्किएका सम्पदाहरुको पुननिर्माण हुन नसक्दा २०१८ मा गर्ने भनिएको भ्रमण वर्ष दुई वर्ष पर धकेलिएको थियो । तर, अझैपनि कतिपय सम्पदाहरु निर्माणाधिन अवस्थामा नै छन् । धरहराको पुनर्निमाण कार्य सकिएको छैन । काष्ठमण्डप बल्ल बल्ल ठडियो । भक्तपुर, ललितपुरका ऐतिहासिक सम्पदाहरु अझै ढलिइरहेका छन् । काठमाडौंको मुटु रत्नपार्कमा अवस्थित रानीपोखरीलाई त्रिपालले छोपिरहनु परेको छ । अन्य थुप्रै सम्पदाहरुको पुनर्निमाण भइसकेको छैन जो ‘भिजिट नेपाल २०२०’ सँग प्रत्यक्ष जोडिएर आउँछन् । 

यो त राजधानीको मात्र कुरा भयो । तर, हामीले पर्यटकलाई त देशका कुनाकुनामा लैजानु छ । २० लाख पर्यटकलाई सातै प्रदेशका ७७ वटै जिल्लामा पुर्याउन सक्ने सामथ्र्य राज्यसँग नभएपनि ७ प्रदेशका मुख्यमुख्य पर्यटकीय क्षेत्रमा सात्क्षात्कार गराउने भिजन चैं हुनुपर्दछ ।   

नेपाली इतिहास, कला संस्कृति पराम्परा र सम्पदामा लोभिएर धेरैदिन विताउनु पर्ने पर्यटकहरुले खासै नेपाल बसाईलाई लम्ब्याउन सकेका छैनन् । विश्वको सर्वोच्च शिखर शगरमाथा र शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल हेर्न आउने बाह्य पर्यटकलाई अरु विषयमा पनि आकर्षित गर्न सक्ने आधार तयार बनाउनु पर्थ्याे । तर, ‘भिजिट २०२०’ को अवधारणा हेर्दा शगरमाथा, गौतम बुद्ध, पोखरा बाहेक अन्य विषय र क्षेत्र खासै परेका छैनन् ।   

विगत तीन दशकको औसत पर्यटक बसाई हेर्ने हो भने नेपालमा एउटा पर्यटक ८ देखि १४ दिन मात्रै रहेको पाईन्छ । ती पर्यटकले दैनिक खर्च गर्ने तथ्यांक पनि कमजोर छ । नेपाल आउने पर्यटकले प्रतिदिन ५४ अमेरिकी डलर भन्दा कम खर्च गर्छन् । जबकी त्यहि पर्यटक युरोप, अमेरिका लगाएत एशियाकै अन्य देशमा गएको खण्डमा चार गुणा बढि खर्च गर्न सक्छ । सन् २००२र/३ मा पनि नेपाल आउने पर्यटकले प्रतिदिन ८० डलर खर्च गर्न सक्दथे । तर, आज भिजन २०२० मनाइरहँदा हामी कहाँ आउने पर्यटकले गर्ने खर्चमा कमी आउनुको कारण के ? हामीले कहिल्लै खोतल्ने प्रयास गर्न सकिरहेका छैनौं ।   

समग्रमा पर्यटन क्षेत्रबाट हुने आय बढेर वार्षिक ५८ अर्व रुपैंया पुगेको भन्दै मख्ख भइरहँदा पर्यटकले गर्ने खर्चको अनुपात घट्नुमा किन चिन्ता गर्न सक्दैनौं ? बजारी तथ्यांकले भन्छ हामी कहाँ भारत, चीन भन्दा बाहिरका देशबाट आउने पर्यटकले गर्ने खर्च कम छ । सिधै भनौं गोरा छाला मात्र पर्यटक भनेर लोभिइरहेका हामी तिनले यहाँ आएर गर्ने खर्च र बसाईलाई विश्लेषण गर्न सकिरहेका छैनौं ।   

अब हामीले कुन स्तरका पर्यटक भित्र्याइ रहेका छौं भन्ने पक्षमा पनि विचार गर्नु आवश्यक छ । एक वर्षमा २० लाख पर्यटक भित्र्याउन सकिएला तर, ती २० लाख पर्यटकले हाम्रो पर्यटन क्षेत्र र जनजीविकाका सवालमा कति खर्च गरे भन्ने महत्वपूर्ण कुरा हो । पर्यटन वर्ष २०२० मा आएका पर्यटक भनिएको छ तर, उनीहरु एक सुको खर्च नगरी फर्कन्छन् भने त्यसले मुलुकको अर्थतन्त्रमा टेवा दिँदैन ।   

युरोपका पर्यटक नेपालमा वर्गर र पिज्जा खानकै लागि आएका हुँदैनन् । उनीहरुले नयाँ ठाउँमा नयाँ कुराको स्वाद लिन चाहन्छन् । बिडम्वना भन्नु पर्दछ हामी नेपाल आउने पर्यटकलाई हाम्रो लोकल टेस्ट दिन सकिरहेका छैनौं । विदेशी मुलुकबाट वार्षिक करोडौंको गुन्द्रुक किन्नुपर्ने नेपालले जबसम्म नेपाली उत्पादनलाई पर्यटनसँग जोडेर विक्रि गर्न सक्दैन पर्यटन क्षेत्रको विकास हुन सक्दैन ।   

यहाँ भन्न खोजिएको कुरा अब नेपाल आउने पर्यटकलाई खर्च गर्ने आधार तयार गरिनुपर्छ । पर्टयन र पर्यटकको परिभाषा फराकीलो बनाउँदै उनीहरुलाई  देशका ७७ वटै जिल्लामा पुर्याउनु पर्छ । गाउँघरको लोकल स्वाद चखाउनु पर्छ । अनीमात्र नेपालको आर्थिक विकासको मुख्य आधार बन्न सक्छ पर्यटन ।   

आज तामझामले दशरथ रङ्गशालामा ‘भिजिट २०२०’ उद्घाटन भएको छ त्यो तामझाम आगामी दिनसम्म रहिरहनु जरुरी छ । त्यसका लागि ग्रामिण पर्यटनमा जोड दिनु आवश्यक छ । नेपालका हरेक भूभाग र क्षेत्र पर्यटकलाई लोभ्याउने छन् । सातै प्रदेशका सातैवटा विषेशता छन् । जसलाई हामीले बिक्रि गर्न सकिरहेका छैनौं । पूर्वमा घन्कने साकेला सिलीको रौनक र सुदुरपश्चिममा गुञ्जिने देउडालाई अबपनि विक्रि नगर्ने हो भने, नेपालमा खर्च गर्ने पर्यटक क्रमशः घट्दै जानेछन् ।   

हाम्रा गाउँघरका कला संस्कृति र सम्पदासँग पर्यटकलाई जोड्न आवश्यक पूर्वाधार हुनु जरुरी छ । ग्रामिण भेगमा मोटरबाटो मात्रै राम्रो भयो भने पर्यटकहरु त्यहाँसम्म पुग्न सक्छन् । जसले गर्दा पर्यटकको नेपाल बसाई पनि लम्बिने छ । यसका लागि ग्रामिण पर्यटन महत्वपूर्ण पाटो हो ।   

२० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएका कारण यसका लागि वर्षभरीकै योजना सरकारले बनाउनु पर्ने जरुरी देखिन्छ । ‘भिजिट नेपाल २०२०’ सफल बनाउन सरकार एक्लैले मात्रै होईन नीजि क्षेत्रले पनि सरकारसँग सहकार्य गरेर जानु जरुरी छ । अंग्रेजी नयाँ वर्षको विदा संसारभर हुने गर्छ । करोडौं विदेशीहरु यो समय विदा मनाउन एक देशबाट अर्को देश भिजिट गर्छन् । क्रिसमससँगै अंग्रेजी नयाँ वर्ष मनाउन पर्यटकहरुलाई नेपालसम्म ल्याउने बातावरण बनाउनु पर्छ । यसका लागि एनआरएनए र प्रवासी नेपालीहरुसँग हातेमालो गर्नु अपरिहार्य छ ।   

नेपाल आउने पर्यटकलाई काठमाडौंको ठमेल र पोखराका लजमा मात्रै होइन, पूर्वको तीनजुरे, मिल्के, जलजले, ताप्लेजुङ हुँदै इलामबाट तराईका समथर फाँट र त्यहाँको जनजीवन हेर्दै पश्चिम नेपालको हुम्ला जुम्लासम्म पुर्याउन सक्नुपर्छ । जसका लागि राज्यले समग्र देशलाई पस्कन सक्ने कार्यक्रम ल्याउन सक्नु पर्छ ।   

रंगशालामा भब्य उद्घाटन गरिएको ‘भिजिट २०२०’ बाट ताप्लेजुङ र जुम्लाका जनताले लाभ लिन सकेनन् र ६५ करोड खर्च गरेर बोलाइएका पर्यटकले एक डलर खर्च नगरि फर्किए भने सरकारको लगानी बालुवामा पानी जस्तो बन्न सक्छ ।  

‘भिजिट नेपाल २०२०’ को सफलताको शुभकामना ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + one =