उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा दिन लगाउने नेकपा सचिवालयको निर्णय

पुस २६, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार अपरान्ह बसेको नेकपा सचिवालय बैठकमा रिक्त सभामुख पदमा उम्मेदवार दिने र उपसभामुख तुम्बाहम्फेलाई राजीनामा गराउने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सभामुखमा कसलाई उम्मेदवार बनाउने भन्नेबारे भने टुंगो नभइसकेको उनले बताए ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तुम्बाहाम्फेसँग शुक्रबार भएको छलफलबारे ब्रिफिङ गरेका थिए । शुक्रबार अध्यक्षद्वयसँग भएको छलफलमा उपसभामुख तुम्बाहाङ्फेले पार्टीले सहमतिमा औपचारिक निर्णय गरे आफू राजीनामा दिन तयार भएको बताएकी थिइन् ।
सभामुखको विषयलाई लिएर अहिले पार्टीभित्र ध्रुवीकरण बढीरहेको छ ।
तत्कालिन सभामुख कृष्ण बहादुर महरा यौन दुर्व्यवहारको अभियोगमा जेलमा छन्। गत असोजदेखि रिक्त सभामुख पदमा नेकपाभित्र अन्यौलता कायमै छ।
सभामुख चयन हुन नसक्दा यसअघि पनि दुई पटक प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो। आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक अगाडि नै सभामुखको टुंगो लगाउने भनिएपनि आज टुंगो लाग्न सकेन ।








