हिमालयन शेर्पाद्वारा मछिन्द्र पराजित : लिगमा मछिन्द्रको पहिलो हार

माघ ३, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तरगत शुक्रबारको खेलमा हिमालयन शेर्पाले मछिन्द्र क्लबलाई पराजित गरेको छ ।
वर्षाका कारण सातदोबाटो एन्फा कम्प्लेक्समा भएको खेलमा हिमालयन शेर्पाले मछिन्द्रमाथि २ ० गोल अन्तरले जित हात पारेको हो । लिगमा पहिलो हारसँगै मछिन्द्रलाई दोस्रो स्थानमा मात्र झारेन, उपाधि होडमा नै नराम्रो धक्का लागेको छ । लिगकै पहिलो जितले रेलिगेशन संकट टार्न संघर्षरत हिमालयन शेर्पा पनि नवौं स्थानमा उक्लिएको छ ।
खेलमा शिमालयन शेर्पाले पहिलो मिनेटमै अग्रता लियो । विनोद गुरुङले हानेको बलमा मछिन्द्रका पिटर सेगुनले आत्मघाती गोल गरे ।
खेलको १९ औं मिनेटमा निरज बस्नेतको फ्रिकिकमा विजय श्रेष्ठले गोल गर्दै शेर्पाको अग्रता दोब्बर पारे । त्यसपछि खेलमा थप गोल भएन र हिमालयन शेर्पा विजयी भयो ।
जितपछि ७ खेलबाट ७ अंक जोड्दै शेर्पा नवौं स्थानमा उक्लिएको छ भने लिगको पहिलो हारले मछिन्द्र दोस्रोमा झरेको छ ।








