अग्नि सापकोटाविरुद्ध परेको रिटको सुनुवाई स्थगित

माघ १२, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सासद अग्नि सापकोटाविरुद्ध परेको रिटमाथि आइतबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ।
रिट निवेदनमाथि न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलाशमा पेशी तोकिएको थियो। कानुन व्यवसायी भएकै बेला आफुले सापकोटाविरुद्धको मुद्दा हेरेकाले उनले यो मुद्दा हेर्न नमिल्ने बताए । सोही अनुरुप आज हुने भनिएको सापकोटाविरुद्धको सुनुवाई स्थगित भएको हो ।
सापकोटाको मुद्दा फुयालको इजलाशको पहिलो नम्बरमा परेको थियो। सापकोटाविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार रिट दायर गरेका थिए।

सापकोटामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान हुनुपर्ने माग गर्दै दायर निवेदन सर्वोच्चमा विचाराधिन रहेकाले सभामुख नियुक्त नर्गनु भनी अन्तरिम आदेश जारी गर्न रिटमा माग गरिएको छ। रिटमा सापकोटले द्वन्द्वकालमा काभ्रे जिल्लामा अर्जुन लामाको हत्या गरेको आरोप रहेकोले उनीमाथि अनुसन्धान गर्न सभामुख पदले प्रभावित हुने भएकाले रोक्न माग गरिएको हो।
यसैबीच, प्रतिनिधिसभा सभामुखको निर्वाचन आज हुँदैछ। सभामुख चयनका लागि प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजे बोलाइएको छ।
सभामुखका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता सापकोटाको मात्रै उम्मेदवारी परेको छ।








