पार्टीले भन्दैमा म राजीनामा दिन्नँः उपसभामुख तुम्बाहाङ्फे

माघ १, काठमाडौं । प्रतिनिधि सभाको सभामुख पद अहिले रिक्त छ । हामीले प्रतिनिधि सभामुख पदपूर्तिका लागि निर्वाचन प्रक्रिया अगाडी बढाउनुपर्छ ।
अहिले प्रतिनिधि सभामा बहुमत प्राप्त सत्तारुढ नेकपाले जसलाई उम्मेदवार बनाउँछ, ऊ नै सभामुखमा निर्वाचित हुन्छ । तर अहिलेसम्म उक्त दलले आफू कसरी अगाडी बढ्ने, कसलाई उम्मेदवार बनाउने निक्र्यौल गर्न सकेको अवस्था छैन ।
मैँले उपसभामुखको हैसियतले राजीनामा दिँदैमा निकाश निस्कने कुरा अहिलेको राजनीतिक वृत्तमा देखिएको छैन ।

मलुकको तीन महत्वपूर्ण अंगहरुमध्ये व्यवस्थापिका एक महत्वपूर्ण अंग हो । त्यस अन्तर्गतको प्रतिनिधि सभा महत्वपूर्ण छ जसमा अहिले सभामुख पद रिक्त छ । जबसम्म सभामुख पदका लागि दलले उम्मेदवार चुन्दैन, तबसम्म मैँले राजीनामा दिन मिल्दैन ।
किन ?,
प्रतिनिधि सभामा सभामुख नभएको अवस्थामा उपसभामुखले नेतृत्व सम्हाल्नुपर्ने हुन्छ । संवैधानिक व्यवस्थामा पनि यही छ । अहिले संसदलाई नेतृत्वविहिन बनाउनु हुँदैन । यसको संरक्षण गर्नु मेरो दायित्व हुन आउँछ । मेरो कर्तव्य हो । र म आफ्नो कर्तव्य निभाउन तयार छु । निभाइरहेकी पनि छु ।
अझै स्पष्ट पार्ने हो भने व्यवस्थापिका एउटा स्वतन्त्र संस्था हो । अंग हो सरकारको । न्यायापालिका । कार्यपालिका । यी फरक चीज हुन् । दल फरक संस्था हो । दल सञ्चालनका लागि उसको आफ्नै नीति, नियम, ऐन छ । त्यसैगरी प्रतिनिधि सभा सञ्चालनको पनि फरक ऐन काुनन, नीति नियम, संवैधानिक व्यवस्था छ ।
त्यसैले कुनै एउटा दलले उपसभामुखलाई निर्देशन दिन मिल्दैन । कुनैपनि दलले उपसभामुखलाई ‘राजीनामा देऊ’ भनेर निर्देशन जारी गर्न सक्दैन । किनकी प्रतिनिधि सभा संविधान अनुसार चल्छ ।
संवैधानिक व्यवस्था अनुसार सभामुख नभएको अवस्थामा उपसभामुखले प्रतिनिधि सभाको नेतृत्व गर्छ । निर्देशन गर्छ ।
मैँले प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको छलफलमा पनि यही कुरा राखेको थिएँ । मैँले उहाँहरुलाई भनेको छु कि, ‘पहिले सभामुखका लागि निर्वाचन प्रक्रिया अघि बढाउनुस् । संसदलाई निकाश दिनुस् । अनि म राजीनामा दिनै परेपनि दिउँला । अहिले मलाई उपसभामुखको दायित्व, कर्तव्य पालना गर्न दिनुस् ।’
कुनैपनि दलले ‘राजिनामा देऊ’, ‘तिमीले यसो गर’ भन्नेबित्तिकै मैँले चटक्कै मान्ने, छोड्ने कुरा आउँदैन । एउटा दलको निर्देशन मैँले पालना गर्नुपर्छ भन्ने होइन । म अहिले एउटा संस्थाको प्रमुखको हैसियतले प्रतिनिधि सभाको उपसभामुख पदमा नेतृत्व गरिरहेकी छु । कसैले भन्नेबित्तिकै मैँले छोड्नुहुँदैन । यो संस्थालाई मैँले नेतृत्वविहिन बनाउन मिल्दैन । किनकी सभामुख पद रिक्त छ ।
सभामुख नभएको अवस्थामा मैँले प्रतिनिधि सभा अघि बढाउन भूमिका निर्वाह गरिरहेकी छु । मेरो तर्फबाट नेतृत्व दिने क्रम जारी छ । दलले आफ्नो उम्मेदवार तय नगरेसम्म मैँले राजीनामा दिन मिल्दैन । म मेरो कर्तव्य पुरा गर्छु ।
दलले भन्नेबित्तिकै मैँले छोडिदिएको भए अहिले प्रतिनिधि सभा के हुन्थ्यो ? प्रतिनिधि सभाको नेतृत्व कसले गथ्र्यो ? दलले आफ्नो प्रतिनिधि पनि अगाडी बढाएको छैन ।
अहिले हाम्रो नेपाल दलीय प्रणाली अन्तर्गत चलिरहेको छ । प्रतिनिधि सभा पनि त्यसरी नै चलिरहेको अवस्था छ । सभामुखले राजीनामा दिएपछि संस्था खाली छ । सभामुख नभएको अवस्थामा संवैधानिक रुपमा उपसभामुखले नेतृत्वविहिन बनाउन मिल्दैन ।
दलले दिएको निर्देशन नमान्ने भन्ने पनि होइन । यो दलीय प्रणालीमा मैँले दलको कुरा पनि मान्नुपर्छ । किनकी म उपसभामुख त्यही दलबाट बनेकी हुँ । तर अहिले पदिय हैसियतले म त्यो दलको होइन नि ! दलबाट निर्वाचित भएपनि प्रतिनिधि सभाको नेतृत्वमा आइसकेपछि दलले निर्देशन दिन मिल्दैन ।
आज नेकपाले एउटा निर्देशन देला, भोलि अर्को पार्टीले अर्को निर्देशन देला । सभामुखले त्यही मान्ने ? जबकि संवैधानिक प्रावधानमै यस्तो छैन । त्यसकारण कुनैपनि दलले संवैधानिक व्यवस्था हेरेर मात्रै बोल्नुपर्छ ।
जुन दल मसँग जोडिएको छु त्यसले उम्मेदवार चयन नगरेसम्म म राजीनामा दिन्नँ । निर्वाचन प्रक्रिया प्रारम्भ भएपछि मात्रै म राजीनामा दिन्छु ।
(एक टिभी अन्तर्वार्ताका क्रममा उपसभामुख शिवमाया तुम्बाहाङ्ले दिएको अभिव्यक्तिको संम्पादित अंश)








