नेपाली कांग्रेसमा मिल्याे भागवण्डाः सुनसरीका राजीव ढुङ्गाना नेपाल विद्यार्थी संघको अध्यक्ष

माघ १०, काठमाडौं । नेपाली कांग्रेसका नेताहरुबिच नेपाल विद्यार्थी संघ (नेविसंघ) लाई पूर्णता दिने सहमति भएको छ । सहमति अनुसार संघको अध्यक्षमा सुनसरी इनरूवाका करिब ५० वर्षिय राजीव ढुङ्गाना अध्यक्ष हुने भएका छन् । तर, नेविसंघमा ३२ वर्षे हद म्याद रहेको छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शुक्रबार बिहान १० बजेदेखि साझ ५ः३० बजेसम्म भएको शीर्ष नेताहरुबीचको छलफलले नेविसंघबारे सहमति जुटाएको हो । सहमति अनुसार नेविसंघ केन्द्रीय समिति १२७ जनाको हुनेछ ।
समितिमा अध्यक्षसहित दुई उपाध्यक्ष, तीन महामन्त्री, दुई सहमहामन्त्री र कोषाध्यक्षसहित ४९ जना कांग्रेस सभापति शेरबहादुर देउवा निकट रहनेछन् । त्यसैगरी दुई उपाध्यक्ष, दुई महामन्त्री र दुई सहमहामन्त्री बरिष्ठ नेता रामचन्द्र पौडेल निकट रहनेछन् । सहमति अनुसार दुई उपाध्यक्ष, दुई महामन्त्री र दुई सहमहामन्त्री अर्का नेता कृष्ण प्रसाद सिटौला निकट रहने सहमति भएको छ ।

त्यस्तै एक महामन्त्री कांग्रेस उपसभापति विजयकुमार गच्छदार निकटलाई दिइने भएको छ । नेविसंघको यो भागवण्डा विगतको महाधिवेशनबाट बनेको समिति तथा पार्टी एकिकरणलाई समेतलाई आधार बनाएर गरिएको बताइएको छ ।
नेविसंघ केन्द्रीय समितिमा अन्य नामहरुको टुंगो भने आफ-आफ्नो समुहमा छलफल गरि सोमबार बस्ने कांग्रेस केन्दीय कार्यसमितिको बैठकबाट अनुमोदन गर्ने तयारी छ । नेविसंघको नेतृत्व ३२ बर्ष मुनिको हुने भनिएता पनि महाधिवेशन गराउनका लागि बनाइएको नेविसंघ समिति भएकोले ३२ बर्षको हद नलगाएको बताइएको छ ।
तर, विधान कार्यान्वयनको मागसहित नेविसङ्घ निर्वतमान केन्द्रीय सदस्य नवराज त्रिपाठीको नेतृत्वमा एक महिनादेखि पार्टी कार्यालय सानेपामा रिले अनशन जारी छ । उनले आफू अब आमरण अनशनको तयारीमा जुटेको बताए ।
यो समितिमा बस्ने पदाधिकारी तथा सदस्यले आउदो नेवसंघको महाधिवेशनामा भाग लिन नपाउनेमा नेताहरुबिच सहमति भएको छ । १ वर्षदेखि नेतृत्वविहीन अवस्थामा रहेको नेविसंघले आइतबार भित्र नयाँ नेतृत्व पाउने निश्चित भएको छ । पार्टीले १२ औँ महाधिवेशन गराउन नसेकेको भन्दै गत वर्ष माघ २८ गते ११ औँ महाधिवेशनबाट आएको नैनसिंह महर नेतृत्वको निर्वाचित कार्यसमितिलाई राजीनामा दिन बाध्य पारिएको थियो ।
त्यसपछि फागुन २ गते बसेको केन्द्रीय समिति बैठकले महरको राजीनामा स्वीकृत गरेको थियो । सोही केन्द्रीय समितिले नेविसङ्घमा तदर्थसमितिबाट नेतृत्व चयन गर्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको थियो । देउवाले १ वर्ष पुग्नैलाग्दा नेविसंघलाई नयाँ नेतृत्व दिन लागेका छन् । सबै नेताहरुले आफ्नो समूहबाट नाम दिएपछि आइतबारसम्म नेविसंघले नयाँ नेतृत्व पाउनेछ ।








