पृथ्वी जयन्तीका अवसरमा अन्तरहिमाली भू-राजनीतिबारे विमर्श

पुस २६, काठमाडौं । २९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा प्रज्ञा भवनमा ‘अन्तरहिमाली भूराजनीति’ बारे विचार गोष्ठी सम्पन्न भएको छ ।   

नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानको संयुक्त आयोजना तथा नेपाल प्रज्ञा–प्रतिष्ठानको संयोजन एवम् व्यवस्थापनमा सम्पन्न विचार गोष्ठीका प्रमुख अतिथि वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहको योगदानलाई भुल्न नुहने विचार व्यक्त गरे ।   

उनले पृथ्वीनारायण शाहका कारण नै आज नेपालका नागरिकले नेपाली भएर गर्वका साथ हिँड्न पाएको बताए ।   

नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति तथा कार्यक्रमका सभाध्यक्ष डा. जगमान गुरुङले नेपाल एकीकरण तथा राष्ट्रिय एकताका सूत्रधार पृथ्वीनारायण शाह जीवनको अन्तिमतिर स्वास्थ्य खराब हुँदै गएर घाटमा रहेका बेला नेपालको भूराजनीतिक अवस्था, सामाजिक जीवन, प्रतिरक्षा र विकासका सन्दर्भमा मननीय उपदेश दिएको उल्लेख गर्दै आजको सन्दर्भमा पनि उनका सन्देशहरू उत्तिकै सान्दर्भिक रहेको बताए । 

‘पृथ्वीनारायण शाहले नेपाल एकीकरण नगरिदिएको भए आज हामी कहाँ हुने थियौँ यसै भन्न सकिन्नँ । नेपाल सबै जातिको साझा फूलबारी हो भन्ने पृथ्वीनारायण शाहको उपदशेलाई हामीले मनन् गरी आत्मसात गर्यौँ भने राष्ट्रियता आफैँ बलियो हुन्छ’, उनले भने ।  

कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गर्नु राष्ट्रप्रतिकै सम्मान हुने विचार व्यक्त गरे । उनले भने– ‘घुस दिने र लिने दुवै अपराधी हुन् भनेर घुस र भ्रष्टचारप्रति कडा नीति लिने पृथ्वीनारायणले दुनियाँले जसलाई रुचाउँछ उसलाई कजाइदिनू भनेर लोकसम्मतिलाई पनि उत्तिकै महत्वका साथ आत्मसात गरेको पाइन्छ ।’ 

कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति इतिहासविद् प्रा.डा. त्रिरत्न मानन्धरले ‘पृथ्वीनारायण शाह र अन्तरहिमाली भूराजनीति’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।   

कार्यपत्र प्रस्तुत गर्दै प्रा.डा. मानन्धरले पृथ्वीनारायण शाहको ‘नेपाल दुई ढुङ्गाबिचको तरुल रहेछ’ भन्ने भनाइले नै त्यसबेलाको नेपालको अन्तरहिमाली भूराजनीति र त्यसमा नेपालले खेल्नुपर्ने भूमिकाबारे प्रकाश पारेको बताए ।   

दुई ठुला मुलुकबिच अवस्थित एउटा सानो देशले आफ्नो अस्तित्व जोगाउन सामना गर्नुपर्ने चुनौती एकातर्फ छ भने अर्कातर्फ दुवै मुलुकसँग राम्रो सम्बन्ध कायम गरी अगाडि बढ्नुपर्ने तथ्य उल्लिखित वाक्यबाट स्पष्ट हुने उनले प्रष्ट्याए । उनले इसाको अठारौँ शताब्दीको दक्षिण र पूर्वी एसियाको इतिहास अन्तरहिमाली भूराजनीतिबाट प्रभावित भएता पनि पृथ्वीनारायणको विजय अभियानमा यसले व्यवधान ल्याउन नसकेको बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *