इक्यानको झापा अध्यक्षमा जमरकट्टेल

पुष २१, बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को झापा जिल्ला कार्यसमिति गठन भएको छ । इक्यानको केन्द्रीय समितिले आज बिर्तामोडमा शैक्षिक परामर्शदातृ संस्थाका सञ्चालकहरुको भेला गरि जिल्ला नेतृत्व चयन गरेको हो ।
नवगठित जिल्ला कार्य समितिको अध्यक्षमा बोस्टन एजुकेशनका सुमन शर्मा जमरकट्टेल चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा मिलन ओली, सचिवमा ओएसिस एजुकेशन फाउण्डेसनका मदन बुढाथोकी र कोषाध्यक्षमा फास्ट ट्रयाक एजुकेशनका राजकुमार कार्की चयन भएका छन् ।
समितिका सदस्यहरुमा लक्ष्मीकान्त खनाल, अशोक भण्डारी, अनिल सापकोटा, नविनकुमार शिवाकोटी र खगेन्द्र भण्डारी रहेका छन् ।

नवगठित जिल्ला शाखाका पदाधिकारी एवम् सदस्यहरुलाई इक्यानका केन्द्रीय अध्यक्ष विष्णुहरि पाण्डे, महासचिव शेषराज भट्टराई, निवर्तमान अध्यक्ष प्रकाश पाण्डे लगाएतले सफलतताको शुभकामना दिएका थिए ।
उनीहरुलाई आजै पद तथा गोपनियताको सपथ गराइएको छ ।
कार्यक्रममा बोल्दै इक्यानका केन्द्रीय अध्यक्ष विष्णुहरि पाण्डेले शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन तथा व्यवसायीकरण गर्न इक्यानले मोफसलमा रहेका व्यवसायीलाई पनि एकै छाता मुनि रहेर काम गर्न सहजिकरण गरेको बताए ।
नेपालमा २३ वर्षदेखि सञ्चालित इक्यानले विदेशी सहयोग लिएर शैक्षिक परामर्श सेवा प्रदान गर्नु हुँदैन भन्ने मान्यता राख्दै आएको छ ।
विदेश गएर अध्ययन गर्न चाहने नेपालीहरुलाई उचित परामर्श दिने उद्देश्यले खोलिएका शैक्षिक परामर्शदातृ संस्थाहरुको संगठनले जिल्लास्तरमा पनि आफ्नो शाखा सञ्चालन गर्दे आएका छन् ।








