‘चाडपर्व र संस्कृतिले राष्ट्रिय एकता सुदृढ पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने’

माघ ११, काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले चाडपर्व र संस्कृतिले राष्ट्रिय एकता सुदृढ पार्न एवम् सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएकी छिन् ।   

तामाङ समुदायको महत्वपूर्ण चाड सोनाम ल्होछारको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले सोनाम ल्होछारले देशमा शान्ति, सद्भाव र सहिष्णुता कायम गर्दै समृद्ध नेपाल निर्माण गर्ने प्रेरणा सबैमा जागृत गरोस् भन्ने शुभकामना पनि दिएकी छिन् ।   

शुभकामना सन्देशमार्फत् उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवम् प्रगतिको कामना गरेकी छिन् ।   

‘यस्ता चाडपर्व र संस्कृतिले राष्ट्रिय एकता सुदृढ पार्न एवम् सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छन् ।’ राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘देशमा शान्ति, सद्भाव र सहिष्णुता कायम गर्दै समृद्ध नेपाल निर्माण गर्ने प्रेरणा सबैमा जागृत गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’ 

यस्तै सोनाम ल्होछारकै अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले पनि शुभकामना ब्यक्त गरेका छन् ।   

उपराष्ट्रपतिले भौगोलिक विविधता र यहाँ बसोबास गर्ने विभिन्न समुदायको मौलिक पहिचान झल्कने भाषा, धर्म, संस्कार, संस्कृति र धार्मिक एवम् सांस्कृतिक चाडपर्वहरु हाम्रो गौरव भएको बताएका छन् । 

उनले सांस्कृतिक चाडपर्वहरुले सामाजिक सद्भावलाई सुदृढ् गर्दै राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको पनि बताएका छन् । 

तामाङ समुदायमा प्रचलित लोक भाका, संगीत तथा संस्कृति नेपाली कला संस्कृतिको अभिन्न अंग भएको उनले उल्लेख गरेका छन् । साथै नेपाल राष्ट्रको पहिचान र अमूल्य निधिका रुपमा रहेका मौलिक संस्कृतिहरुको संरक्षण तथा सम्बर्द्धन गर्ने प्रमुख दायित्व राज्यको रहेको उनको भनाई छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 5 =