अग्नि सापकोटालाई सभामुखको उम्मेद्वार बनाउने नेकपाको निर्णय, सोमबार निर्वाचन प्रक्रिया

  

माघ ५, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सांसद अग्नि सापकोटालाई सभामुखको उम्मेद्वार बनाउने निर्णय गरेको छ । उनी सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।   

नेकपा सचिवालयको आज बसेको बैठकले सापकोटालाई सभामुखको उम्मेद्वार निर्णय गरेको हो । बैठकले एकमतले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको नेकपाका महासचिब बिष्णु पौडेलले जानकारी दिए ।   

null

बैठक अघि विहान प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सापकोटालाई सभामुख बनाउने छलफल भएर सहमति भएको थियो । प्रधानमन्त्री ओलीले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई र दाहालले सापकोटालाई सभामुख बनाउने अडान लिएका थिए । दुवै अध्यक्ष आ–आफ्ना अडानबाट पछाडि नहटेपछि प्रतिनिधिसभा साढे तीन महिना सभामुख बिहीन भएको थियो ।   

नेकपाले सभामुखको उम्मेदवार चयन गर्न नसक्दा पुस ४ गते बोलाइएको प्रतिनिधिसभाको हिउँदे अधिवेशन पहिलो बैठकपछि तीनपटक सूचना टाँसेर स्थगित भएको थियो । सभामुखमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेको पनि दाबी थियो । 

सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि असोज १४ गते राजीनामा दिएका थिए । नेकपाले सभामुखको उमेद्वार टुङ्गाएपछि संसदको गतिरोध खुलेको छ । प्रतिनिधिसभाको बैठक भोली सोमबारका लागि बोलाइएको छ । उक्त बैठकमा सभामुख निर्वाचन प्रक्रिया अगाडि बढ्ने नेकपाका एक सदस्यले मकालु खबरसँग भने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *