बाग्मती सफाइ महाअभियानको ३५० हप्ता पुरा, भाेलि विशेष कार्यक्रम हुँदै

माघ १०, काठमाडौं । बाग्मती सफाइ महाअभियानले ३५० हप्ता पूरा गरेको अवसरमा भोलि शनिबार बिहान विशेष कार्यक्रम हुने भएको छ ।
बिहान ७ः३० बजेदेखि १०ः३० बजेसम्म काठमाडौंको त्रिपुरेश्वर (विश्व निकेतन विद्यालय पछाडि) स्थित बाग्मती किनारमा विशेष कायक्रमको आयोजना गरी भव्यरुपमा रुपमा मनाउन लागिएको हो ।
आजभन्दा झण्डैं ७ वर्षअघि २०७० जेठ ५ गते गुह्यश्वरी मन्दिरको प्रांगणबाट शुरु गरिएको उक्त राष्ट्रिय अभियान अटुट रुपमा हरेक शनिबार बिहान सञ्चालन गरिंदै आएको छ । नेपाल सरकारका विभिन्न निकायहरु, सामाजिक÷धार्मिक संघ संस्थाहरु तथा बाग्मती सफाइ अभियन्ताहरुको संयुक्त प्रयासमा सञ्चालित सो अभियानमा नेपाली सेना, सशस्त्रप्रहरी, नेपाल प्रहरी, गायत्री परिवार, यस ट्राभल्स डट कम, नेपाल विज्ञापन संघ, नेपाल चलचित्र कलाकार संघ, प्याब्सन, एनप्याब्सन, नेपाल टेलिकम, लगायत लाखौंको संख्यामा विद्यार्थी, शिक्षक, कर्मचारी, व्यवसायी, उद्योगपति, पत्रकार, कलाकार, डाक्टर, इन्जिनियर, समाजसेवी, राजनीतिकर्मी आदिको सहभागिता भएको छ । अभियानमा विदेशबाट आएका विशिष्ट व्यक्तित्व, नेपाल स्थित विदेशी नियोगका कर्मचारीहरुले पनि सहभागिता जनाइसकेका छन् ।

यो ७ वर्षको अवधिमा बाग्मती नदीमा वर्षौंदेखि थुप्रिएका १२ हजार टन भन्दा बढी फोहर उठाइएको र करीब १० लाखभन्दा बढी स्वयंसेवीहरुले यसमा समय दान गरिसकेका छन् ।
शुरुमा बाग्मती नदी सफाइबाट शुरु गरिएको यो अभियान अहिले बाग्मतीका शाखा नदीहरु जस्तै विष्णुमति, धोवीखोला, हनुमन्ते, मनोहरा, गोदावरी, बल्खु एवं चक्रपथका बिभिन्न स्थान तथा भित्री टोलहरुमा विस्तार भएको छ । त्यस्तै उपत्यका बाहिर करिब ९० स्थान भन्दा बढी शहर बजारमा स्थानीयबासीको सहभागितामा सफाइ कार्यक्रमहरु संचालन भइरहेको छ ।
बाग्मती सफाई महाअभियान संचालन हुनथाले पछि बाग्मती नदी क्षेत्रको वातावरणमा सुधार भएको, नदी पहिले भन्दा निकै सफाभएको, विभिन्न स्थानमा हरियाली पार्कको निर्माण भएको, नदीमा ठोस र तरल विसर्जन गर्ने काम रोकिएको छ भने वालुवा चोरी र नदीको जग्गा अतिक्रमणमा नियन्त्रण भएको छ । नदी किनारका सम्पदाहरुको संरक्षण हुनाका साथै स्थानीयवासीहरुको पहलमा वृक्षरोपण गर्ने, विश्रामस्थल निर्माण गर्ने कार्यहरु पनि अघि बढिरहेका छन् । लुकिछिपी बाहेक संगठित रुपमा बाग्मती र सहायक नदीहरुमा फोहर फाल्ने काम रोकिएको अवस्था छ । नदी किनार सफाइ अभियानसँगै टोलटोलमा पनि सफाइ कार्य शुरु गरिएका छन् जसले गर्दा शहर सफा राख्नका लागि जनचेतना अभिवृद्धि भएको छ तर हरेक हप्ता गरिने सफाइ कार्यक्रममा स्थानीयबासीको सहभागिता भने निकै कम देखिएको छ ।
बाग्मती सफाइ महाअभियानले अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले शुरु गरेका पूर्वाधार निर्माण तथा सार्वजनिक जग्गा संरक्षणका कार्यहरुमा सहयोगीको भूमिका निर्वाह गरेतापनि बाग्मती र शाखा नदीहरुलाई स्वच्छ, सफा र हराभरा बनाउनका लागि गर्नु पर्ने काम अझ धेरै बाँकी छन् ।
नदीका दुवै किनारमा ढल निकासको व्यवस्था गर्ने, ढल प्रशोधन केन्द्र निर्माण गर्ने, बाग्मती नदीको मुहान क्षेत्रमा बाँध निर्माण गरी वर्षातको पानी जम्मा गरी सुख्खा याममा बगाउने, मेलम्ची खानेपानी आयोजनाबाट मेलम्ची खोलाको पानी काठमाडौं उपत्यकामा ल्याई घरघरमा वितरण भइसकेपछि प्रयोग भएर निस्कने फोहर पानीलाई ढल प्रणाली मार्फत् प्रशोधन गरी पुनः बाग्मती नदीमा छोडने आदि कामका लागि हाल पूर्वाधार निर्माणका काम चालु छन् । ती पूर्वाधार निर्माण भएपछि मात्र बाग्मती ढलमुक्त हुने र सुख्खा याममा पनि नदीमा यथेष्ट पानी बग्ने अवस्था आउँछ ।
सरसफाई गरिएका क्षेत्रहरुलाई क्रमशः सम्बन्धित नगरपालिका र त्यसका वडा कार्यालयको रोेहबरमा स्थानीयलाई टोल सुधार, उपभोक्ता समिति वा स्थानीय संघसंस्थाहरुलाई जिम्मा लगाउँदै जाने नीति अन्तर्गत गुह्येश्वरी भन्दामाथिको तटीय क्षेत्रमा स्थानीय संघसंस्थाहरुलाई जिम्मा लगाइएको छ ।
त्यस क्षेत्रमा स्थानीयबासीले स्वस्फूर्त रुपमा विभिन्न सृजनात्मक काम गर्दै हरेक हप्ता नदी सफाइको काम सुचारु गरिरहेका छन् । त्यसलाई नमूनाका रुपमा लिइ तल्लो तटीय क्षेत्रमा पनि नदी सफाइको जिम्मेवारी हस्तान्तरण गर्दै लगिने योजना छ । सोही योजना अनुसार बाग्मती सफाइ महाअभियानले ३५० हप्ता पूरा गरेको सन्दर्भमा काठमाडौं महानगरपालिकाको वडा नं ११ को पहलमा वडाबासीहरुलाई सरसफाई कार्यमा उत्प्रेरणा दिई सक्रिय गराउने उद्देश्यले विभिन्न कार्यक्रमहरुको घोषणा गर्नेछ ।








