‘एक अपाङ्ग जो इज्जत कमाउन व्यापार गर्छन्’

पुस २४, काठमाडौं । न्यूरोड गेटको मेरुदण्डलाई कुल्चँदै दैनिक हजारौँ मानिसहरु ओहोर–दोहोर गर्छन् । सबैको आ–आफ्नै सुर छ । आफ्नै ताल । गन्तव्यमा पुग्नु छ, जतिसक्दो छिटो ।   

नजिकै छ संकटा मन्दिर, कोही पूजा आरतीका लागि हिँड्दा हुन् । विभिन्न आइटमका होलसेलका पसलहरु पनि असंख्य छन्, कति सामान खरिदका लागि हिँड्दा हुन् । कति त घुम्ने सौख पुरा गर्न पनि डुल्दा हुन् न्यूरोड बजार ।   

कतिपयको भने फुटपाथ व्यवसायको थलो बनेको छ सुन्धारा, न्यूरोड । अपांग माग्नेहरुको कमाइ खाने भाँडो पनि । लहरै हुन्छन् स्पीकरमा गीत घन्काएर माग्न बसेका दृष्टिविहिनहरु । कति दृष्टिविहिन भने धुप लगायतका समानहरुको बजार लगाएर बस्छन्, ताकि माग्नु नपरोस् ।   

तीनै भीडमा एक छन्, जो माग्न लजाउँछन् अचेल । व्यापार राखेका छन् इज्जत कमाउन ।   

कति दयालुले सामान नकिने पनि १०/२० रुपैयाँ उसै सहयोग दिन्छन् ।   

सामान खरिद गर्ने कतिले सामानको मूल्य भन्दा बढी तिरिदिन्छन् ।   

‘हामीलाई मागेर खानेभन्दा यसरी काम गरेर खाने मान्छे मन पर्छ, त्यसैले सामानको आवश्यकता नभएपनि तपाईंसँग किनेको…’– यस्तै भन्दै भुत्भुताउँछन् उनका ग्राहक ।   

‘ल यो १० रुपैयाँ एक्स्ट्रा लिनुस्…!’– भन्दा प्रफुल्ल हुँदै हत्केलाविनाका दुई हात जोडेर निधारसम्म पुर्याउँछन् र धन्यवाद टक्र्याउँछन् अमर राई । एउटा आँखाले जेनतेन नियालेका छन् संसारको विचित्रता, सुन्दरता ।   

७५ वर्षीय कान्छीमायाले त २०४२ साल कार्तिक २९ गते बिहीबार बिहानतिर प्रशव पीडासँग जुझ्दै सकुशल, स्वस्थ नै जन्माएकी थिइन् अमरलाई ।   

दुवै आँखाले नियालेका थिए अमरले कान्छीमाया (आमा) को ममता । खानका लागि दुवै हात दिएकै हुन् ‘दैव’ ले पनि ।   

पढाइमा अलिकति कमजोर थिए । पढ्न जाँगरै नलाग्ने । ३ कक्षा कटाए जसोतसो । उमेर बढ्दै जाँदा स्वभाव चन्चले भो । बेला उस्तै, साथीहरुको लहैलहैमा बहकिने ।   

माओवादीको १० वर्षे जनयुद्ध सकिनै लाग्दा ०६२ सालतिर साथीकै लहैलहैमा लागेर युद्धमा होमिए अमर पनि । युद्धको भोकले होइन, मात्र लहैलहैमा । त्यतिबेला मात्रै २० वर्षका थिए अमर ।   

बम बोकेर हिँडे । बम बनाए । कति ठाउँमा पड्काए पनि होलान्, आफैँले ।   

सोचेका थिएनन्, ‘एकदिन आफैँले बनाएको बमले आफैँलाई विस्फोट गराउँछ’ । समय सधैँ एकैनास कहाँ हुन्छ र ? भइदियो त्यस्तै, जे उनले सोचेका थिएनन् ।  

सर्लाहीको लालबन्दीमा आफूले बनाउँदै गरेको बम पड्कियो, र आफैँलाई अंगभंग बनायो । दुवै आँखा गुमे । भविष्यका रेखा कोरिएका दुवै हत्केला गुमे । हात ‘डुडो’ भयो, उनकै भाषामा ।   

जवानीमै जीवन सकिए जस्तै भयो । हेर्दाहेर्दैमा संसारै अन्धकार ! उजाड । 

कतिले डुडे भने । कतिले अन्धो भनेर हेपे । उठ्बस् गर्न, हिँड्न समस्या । 

साह्रै ननिको । बेस्वादको भो जिन्दगी । खल्लो ।  

संखुवासभा, मकालु गाउँपालिका वडा नम्बर ३ मा पर्छ उनको घर । बुवा स्वर्गीय भइसके । आमा गाउँघरतिरै छिन् । चार दाजुभाईमा माइला उनी । एक बहिनी छिन् । कोही गाउँतिर खेतीपातीमा लागेका छन्, कोही काठमाडौँमा । कान्छा र साईँला भाइको बाहेक सबैको विवाह भइसक्यो । उनको पनि ।   

काठमाडौं आएको १० वर्ष भयो । रखेदेख र सहयोग भाइबुहारीले गरे । दाजुभाई सबैले माया दिए । त्यसैले पनि जीवन जिउने आँट आयो । साहस पलायो । दुनियाँका कयौँ गाली, अपशब्द झेल्दा पनि बाँच्नुपर्छ भन्ने लाग्यो ।   

कति वर्ष मागेर जीवन गुजारे ।   

एक दिन बाटोमा भेटिएका एक बटुकले नयाँ सोच दिए– ‘मागेर बस्नुभन्दा जे सक्छौ त्यही काम गरेर खाऊ, इज्जत पाउँछौ । सम्मान गर्नेछ दुनियाँले ।’   

अमरलाई पनि त्यस्तै लाग्यो । र… सुरु गरे फुटपाथ व्यवसाय ।   

उनी फुटपाथमा एयरफोन, नैनी, ट्यूजर, कैँची, झुम्का, कन्कर्नु, चक्कु…लगायतका सामान बेच्छन्् । व्यवसाय थालेको दुई वर्षजति भयो । सामान किन्न न्यूरोड आउँदा त्यही गेटनेरै व्यापार राख्छन्, अरु समय बौद्धमा । हालको बसाईँ पनि त्यतै छ उनको ।   

‘दिनमा १०००/१२०० सयको व्यापार हुन्छ । फाइदा दुई÷चार सय बस्छ । गुजारा चलिरहेकै छ । सबैले माया गर्नुहुन्छ । कामको प्रशंसा गर्नुहुन्छ । मागेर बस्दा भन्दा काम गर्दा इज्जत पाएको महशुस गरेको छु’, अमरले सुनाए ।   

होलसेल व्यापारीले भने सामान खरिदमा कुनै डिस्काउन्ट नदिने उनी बताउँछन् ।   

द्वन्द्व पीडितमा गनिन्छन् अमर । द्वन्द्व पीडितकै नाउँमा ४० हजार पाए सरकारको तर्फबाट । त्यसपछि राहत, सहयोग केही पाएका छैनन् उनले ।   

पहिला दुवै आँखा देख्दैन थिए, अहिले उपचार पश्चात् एउटा आँखाले देख्न सक्छन् ।   

‘पहिला म दुवै आँखा देख्दिनथेँ । तिलगंगा अस्पतालले ०६६ सालमा देब्रे आँखाको निःशुल्क उपचार गरिदिएपछि देख्न थालेको हुँ’, उनले भने ।   

श्रीमती पनि छिन् साथमा । डेढ वर्षको प्रेमपछि भागरे विवाह गरेका हुन् ‘अमर जोडी’ ले । दुई वर्ष भयो विवाह भएको । हत्केला गुमेपछि हातले खान पनि गाह्रो हुन्थ्यो, अहिले त जहानले खुवाई दिन्छिन् रे ! 

र…त…खुशी छन् अमर । भन्छन्– ‘धेरै माया गर्छिन् । मेरो निकै ख्याल राख्छिन् ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *