नेपाल भ्रमण वर्ष २०२० को धरानमा पनि भव्य शुरुवात

पुस १७, सुनसरी । नेपाल भ्रमण वर्ष २०२० को धरानमा पनि भव्य शुरुवात गरिएको छ । सुनसरी उद्योग वाणिज्य संघको आायोजनामा बुधबार प्रभात फेरीगरि भ्रमण वर्षको स्वागत गरिएको हो ।
संघको कार्यलय धरान पुरानो बजारबाट शुरु भएको प्रभात फेरी लक्ष्मी सडक, छाताचोक, महेन्द्र पथ हुदै भानुचोक पुगेर समापन भएको थियो । धरानमा रहेका पर्यटन विषय अध्यापन गरिने विद्यालय, आर्थिक क्रियाकलापका आधार बैंकहरु, बराह ज्वेलरी इण्डष्ट्रिजको सो कार्यक्रममा सहभागि रहेको थियो । यस्तै संघ अन्तर्गत वस्तुगत संघहरु, लायन्स क्लव, सेवक अभियानलगायतको पनि प्रभात फेरीमा सहभागिता रहेको थियो ।
प्रभात फेरी पश्चात भानुचोकमा भएको समापन कार्यक्रममा धरान उपमहानगर पालिकाकी उपप्रमुख मन्जु भण्डारीले धरानको समृद्धिको आधार पर्यटन भएकोले सबै नागरिक पर्यटन सेवाका लागि तयार हुनुपर्ने बताइन् । पर्यटन वर्षबाट नेपालको पर्यटन द्रुत गतिमा अघि बढ्ने अपेक्षा रहेको र यसका लागि धरान पनि तयार रहनु पर्ने उनको धारणा रहेको थियो ।
कार्यक्रमको संयोजन संघ अन्तर्गत पर्यटन समितिले गरेको थियो । संघकी सदस्य एवम् समितिकी संयोजक एलिना मगरले यो कार्यक्रम भ्रमण वर्षको शुरुवात् मात्रै भएको यस्तो कार्यक्रम वर्ष भरिनै गर्दै पर्यटनका लागि आम नागरिक पर्यटन प्रति सचेत बन्दै जाने बताईन् । नागरिक सचेतनाले पर्यटन प्रति चासो, लगानी र आर्थिक विकास आउने मगरले बनाईन् ।
उनले धरान उपमहानगर पालिकाले आयोजना गर्न लागेको धरान डे र महोत्सवमा उत्साहपूर्ण सहभागि हुन आग्रह गरिन् । कार्यक्रममा संघका अध्यक्ष गिरिधारी सापकोटा र महासचिव राजेश अग्रवालले समेत सम्बोधन गरेका थिए ।
बुधबार नै त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले दीप प्रज्जवलन गरी भ्रमण वर्ष २०२० को भव्य उद्घाटन गरेका थिए ।








