मेस्सी चम्कँदा बार्सिलाेनाकाे शानदार जित

एजेन्सी । कप्तान लियोनेल मेस्सी चम्किएपछि बार्सिलोनाले लेगानेसलाई हराउँदै स्पेनिस कोपा डेल रेको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । घरेलु मैदानमा बार्सिलोनाले लेगानेसमाथि ५–० को शानदार जित निकाल्दै अन्तिम आठको यात्रा तय गर्न सफल भएको हो । 

घरेलु मैदान नोउक्याम्पमा बार्सिलोनाको सानदार जितमा कप्तान मेस्सीको दुई गोलसँगै एन्टोइन ग्रिजमन, क्लेमन्ट लेङ्लेट र आर्थरले गोल गरे । पहिलो हाफमा २ तथा दोस्रो हाफमा ३ गोल सम्भव भएको थियो । खेलको चौथो मिनेटमा नै नेल्सन सेमेडोको पासमा ग्रिजमनले गोल गर्दै बार्सिलोनाले अग्रता बनाएको थियो । २८औं मिनेटमा लेङ्लेटले कप्तान मेस्सीको पासमा गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा २–० को अग्रता बनायो । 

पहिलो हाफमा एक गोलका लागि असिस्ट गरेका कप्तान मेस्सी दोस्रो हाफमा छाए । ५९औं मिनेटमा मेस्सीले गोल गरेपछि बार्सिलोना सहज जिततर्फ अग्रसर बन्यो । ७७औं मिनेटमा आर्थरले गोल गरेपछि बार्सिलोनाले खेलमा ४–० को आरामदायी अग्रता बनायो । खेल सकिन एक मिनेट बाँकी रहँदा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको ५–० को शानदार जित दिलाए । मेस्सीले इभान राकिटिकको पासमा गोल गर्न सफल भएका थिए । 

अर्काे खेलमा ला लिगा टोली सेभियालाई ३–१ ले पराजित गर्दै दोस्रो डिभिजनको मिरान्डेसले क्वाटरफाइनलको यात्रा तय गरेको छ । मिरान्डेसको जितमा म्याथ्युज एइएसले दुई तथा अल्भारो रेले एक गोल गरे । सेभियाका नोलिटोले एक गोल फर्काएपनि हार टार्न सकेन ।  

यससँगै कोपा डेल रेको क्वाटरफाइनलमा पुग्ने आठ टोलीको टुंगो लागेको छ । काेपा डेल रेकाे क्वाटरफाइनलमा बार्सिलाेनासँगै एथ्लेटिको बिल्वाओ, भ्यालेन्सिया, भिल्लारियल, ग्रानडा, रियल सोसिडाड, रियल म्याड्रिड र मिरान्डेस पुगेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *