सहायक वन अधिकृत १० हजार घुससहित पक्राउ

काठमाडौँ । बबई सव–डिभिजन वन कार्यालय बर्दियामा कार्यरत सहायक वन अधिकृत १० हजार घुससहित पक्राउ परेका छन् । सहायक वन अधिकृत आनन्दप्रसाद साहलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।
सेवाग्राहीसँग काठको लगत तयार गरी दिएबापत घुस रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले उनलाई १० हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
अनुसन्धानको सिलसिलामा सेवाग्राहीको निजी आवादी जग्गाको काठको नापजाँच लगत तयार गरी डिभिजन वन कार्यालय गुलरियामा बिमाको आदेश सिफारिस गरी दिएबापत अतिरिक्त पि.सी. रकम स्वरुप सहायक वन अधिकृत साहले घुस रिसवत लिएको पुष्टि हुन आएको छ ।
null
निज साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको देखिंदा निज सहायक वन अधिकृत आनन्दप्रसाद साहलाई बिगो दस हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।








