साउदी अरबका युवराज मोहम्मद बिनमाथि फोन ह्याकको आरोप

माघ ९, काठमाडाैँ ।  साउदी अरबका युवराज मोहम्मद बिन सलमानमाथि संसारकै धनी व्यक्ति तथा अमेजनका संस्थापक जेफ बेजोसको फोन ह्याक गराएको आरोप लागेको छ । 

उक्त ह्याकिङ साउदी अरबका पत्रकार जमाल खग्गोसीको हत्या भएको पाँच महिना अघि भएको थियो । जमाल खग्गोसी अमेरिकी पत्रिका वासिङ्टन पोष्टका लागि काम गर्दथे जसका मालिक जेफ बेजोस हुन् । 

खग्गोसी साउदी अरब सरकारका कट्टर आलोचक थिए । अक्टोबर सन् २०१८ मा इस्तानबुलमा साउदी वाणिज्य दूतावासभित्र उनको हत्या गरिएको थियो । 

उनको हत्याको आरोप मोहम्मद बिन सलमानमाथि लगाइएको थियो । साउदी अरबले यसका लागि आफ्नो सुरक्षा एजेन्सीलाई जिम्मेवार देखाएका थिए र केही आला अधिकारीको निर्देशनमा यस्तो भएको बताएका थिए । 

ब्रिटेनको द गार्जियन पत्रिकाले बुधबार यसबारे खबर प्रकाशित गरेको थियो । यसमा जेफ बेजोसको निजी अकाउन्टमा ह्वाट्सएपमार्फत् एउटा संदिग्ध फाइल आएको र त्यसपछि जेफ बेजोसको फोन ह्याक गरिएको बताइएको छ । उक्त मेसेज साउदी अरेबियाका युवराजको नीजि अकाउन्टबाट आएको बताइन्छ । 

अब संयुक्त राष्ट्रका मानवाधिकार विशेषज्ञले यी आरोपको तत्काल अनुसन्धानको माग गरेका छन् । 

उनले भनेका छन्, ‘कथित विरोधीलाई निशाना बनाउनका लागि निरन्तर, प्रत्यक्ष र व्यक्तिगत प्रयास’ का लागि पनि मोहम्मद बिन सलमानमाथि अनुसन्धान हुनुपर्छ ।’ 

संयुक्त राष्ट्र मानवाधिकार हाई कमिश्नरका विशेष दूत एनयेस कालामार र डेविड कायेले पनि युवराजमाथि लागेको आरोपको पूरा अनुसन्धान हुनुपर्ने माग राखेका छन् । 

यस्तै साउदी अरबमा अमेरिकी दूतावासले यो कहानीलाई ‘निराधार’ बताएको छ । 

यो पूरा घटना के हो र यसको सुरुवात कहिले भएको थियो ? 

१ मे २०१८, संदिग्ध फाइलः 

द गार्जियनको रिपोर्ट अनुसार १ मे २०१८ मा युवराजको ह्वाट्सएप अकाउन्टबाट एउटा संदिग्ध फाइल जेफ बेजोसको फोनमा पठाइएको थियो । यो एउटा सामान्य कुराकानीको अंश झैं थियो । 

अज्ञात स्रोतलाई उद्धृत गर्दै गार्जियनले त्यसको केही घण्टाभित्रै जेफ बेजोसको फोनबाट ठूलो मात्रामा डाटा ह्याक गरिएको बताएको छ । 

२ अक्टोबर २०१८, खग्गोसीको हत्या 

जमाल खग्गोसी टर्कीको इस्तानबुलमा साउदी दूतावास गएका थिए । उनी आफ्नी प्रेमिकासँग विवाहका लागि दस्तावेज लिन गएका थिए । तर उनी दूतावासबाट कहिले पनि बाहिर निस्किएनन् । 

खग्गोसीको हत्याको आरोप टर्कीले साउदी अरबमाथि लगायो । तर करिब दुई हप्तापछि साउदी अरबले दूतावासभित्र खग्गोसीको मृत्यु भएको स्विकार गर्‍यो । 

१६ नोेभेम्बर २०१८, युवराजमाथि आरोप 

वासिङ्टन पोष्टमा छापिएको रिपोर्ट अनुसार अमेरिकी अनुसन्धान एजेन्सी सिआइएले मोहम्मद बिन सलमानले जमाल खग्गोसीको हत्याको आदेश दिएको मान्यता राख्छ । 

तर साउदी अरबले उनको हत्यामा युवराजको कुनै पनि संलग्नता नभएको बताउँदै आएको छ । 

७ फेब्रुअरी २०१९, बेजोस भर्सेस साउदी टेबलोइड 

जेफ बेजोसले अमेरिकी पत्रिका (टेबलोइड) माथि नेशनल एन्क्वायररमाथि जबर्जस्ती वसुली र ब्ल्याकमेलको आरोप लगाएको थियो किनभने टेबलोइडले बेजोस र उनकी पूर्व प्रेमिका फक्स टिभीकी पूर्व होस्ट लरेन सान्चेजको नीजि संवाद प्रकाशित गरेको थियो । 

जनवरी २०१९ मा जेफ बेजोस र उनकी श्रीमती म्याकेन्जीको सम्बन्धविच्छेद भएको थियो । त्यसपछि नेशनल एन्क्वायररले लरेन सान्चेजसँग जेफ बेजोसको सम्बन्धबारे खबर प्रकाशित गरेको थियो । 

३० मार्च, २०१९ – साउदीमा सम्बन्ध 

बेजोसद्वारा नियुक्त गरिएका अनुसन्धानकर्ता गेविन डे बेकरले उनको फोन ह्याकमा साउदी अरबको संलग्नता भएको बताएका थिए । 

डे बेकरले डेली बिस्ट वेबसाइटमा लेखेका थिए, ‘हाम्रा अनुसन्धानकर्ता र थुप्रै विशेषज्ञले साउदीले बेजोसको फोनसम्म पहुँच राखेको र उनको नीजि जानकारी हासिल गरेको भन्ने कुरालाई पूरा विश्वासका साथ निष्कर्ष निकालेका छन् ।’ 

१९ जून, २०१९ – पूर्व नियोजित हत्या 

संयुक्त राष्ट्रका विशेष दूत एजयेस कालामारले एक रिपोर्ट जारी गरेको थियो जसमा खग्गोसीको हत्या पूर्व नियोजित थियो र यसमा युवराज मोहम्मद बिन सलमानको भूमिकाको अनुसन्धान हुनुपर्ने बताइएको थियो । 

२३ डिसेम्बर २०१९ – मृत्युदण्डको सजाय 

साउदी अरबले खग्गोसीको हत्याको मामलामा पाँचजनालाई मृत्युदण्डको सजाय  तीनजनालाई जेल सजाय सुनाएको थियो । 

२१ जनवरी २०२० – दाबी 

द गार्जियनमा हालै सार्वजनिक भएको रिपोर्ट अनुसार जमाल खग्गोसीको हत्या हुनु ६ महिना अघि जेफ बेजोसलाई मोहम्मद बिन सलमानको अकाउन्टबाट ह्वाट्सएपमार्फत् एउटा मेसेज पठाइएको थियो । 

पत्रिकाका अनुसार अहिलेसम्म जेफ बेजोसको फोनबाट कस्ता जानकारी चोरिएका छन् र त्यसको प्रयोग कसरी गरिएको छ भनेर थाहा पाउन सकिएको छैन । 

अमेरिकामा भएको साउदी दूतावासले यो आरोपलाई ‘निराधार’ बताएको छ । 

खग्गोसीको हत्या अघि अमेजनका संस्थापक जेफ बेजोसको मोहम्मद बिन सलमानसँग निकै राम्रो सम्बन्ध थियो र साउदी अरबमा व्यावसायिका साथी पनि थिए । 

उनीहरुको सम्बन्धमा त्यतिबेला तिक्तता आयो जब बेजोसले साउदी अरबको कडा आलोचना गरे र हत्यामाथि रिपोर्टिङका लागि आफ्नो पत्रिकाको पक्ष लिए । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *