हाेमवर्क नगरेकाेमा शिक्षकले कुट्दा विद्यार्थीकाे भाँचियाे हात
माघ १३, सिरहा । हाेमवर्क नगरेको भन्दै एक विद्यार्थीकाे हातै भाच्चिने गरी कुटिएकाे छ । सिरहाको मिर्चैया नगरपालिका ६ स्थित स्वस्तिक पाठशालामा अध्ययनरत बालकलाई शिक्षकले कुट्दा हात भाँचिएको हाे ।
पाठशालाको हाेस्टलमै रहेर अध्ययन गर्दै आएका सिरहा नगरपालिका वडा नम्बर २ का १३ बर्षीय बालक ऋतिक यादवको स्कुलका नेपाली पढाउने शिक्षककाे कुटाइबाट हात भाँचिएको छ ।
कक्षा ६ मा अध्ययन गर्दै आएका ऋतिकलाई नेपाली बिषयका शिक्षक तारा कार्कीले गृहकार्य नगरेको भन्दै आइतबार लट्ठीले निर्घात कुटपिट गरेकाे स्कुलकै विद्यार्थीहरूले बताएका छन् । शिक्षककाे कुटाइबाट हात भाँचिएको बालकका बुवा बसन्त यादवले बताए ।
शिक्षकले निर्घात कुटपिट गरेर हात भाँच्चिएपनि ऋतिकको उपचारमा स्कुलले कुनै चासाे नदिएकाे अभिभावककाे भनाइ छ । अहिले बालक ऋतिक घरमा आराम गरिरहेका छन् ।
ऋतिकका बुबा बसन्तले आफ्ना छोरालाई कुट्ने शिक्षकविरुद्व प्रहरीमा जाहेरी दिने बताएका छन् । भने, स्कुलका प्रिन्सिपल महेश्वर कार्कीले शिक्षककाे कुटाबाट नभइ स्कुलमा लडेर विद्याथीकाे हात भाँच्चिएकाे जिकिर गरेका छन् । मकालु खबरसँग बाेल्दै उनले शिक्षक तारा कार्की स्कुलकै सबैभन्दा भलाद्मी र असल शिक्षक भएकाेले उनले विद्यार्थी कुटपिट गर्नै नसक्ने दावि गरे ।
उनले विद्यार्थीकाे पनि दाेष देखाउँदै सानाे कुरालाइ ठूलाे इस्यू बनाएकाे बताउँदै अभिभावकसँग बसेर समस्या सुल्झाउने बताए ।