मुख्यमन्त्रीको अभिव्यक्तिप्रति विवेकशीलले विज्ञप्ती निकालेर गर्यो भर्त्सना
पुष २८, काठमाडौं । विवेकशील नेपाली दलले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ ।
सोमबार विज्ञप्ति प्रकाशित गर्दै गरी आफ्ना संसदीय दलका नेता रमेश पौड्यालको मन्तव्यलाई लक्षित गरी आइतबार मुख्यमन्त्री पौडेलले ‘सांसद नै नरहन सक्ने’ अभिव्यक्ति दिएको भन्दै भर्त्सना गरेको हो ।
विज्ञप्तीमा भनिएको छ, ‘उक्त अभिव्यक्तिमा सम्मानित सर्वोच्च अदालतमा विचाराधीन विषयलाई संसदमा प्रवेश गराउनु गैरसंवैधानिक र व्यक्तिगत द्वेष राखी ‘सांसद नै नरहन सक्ने’सम्मको धम्कीपूर्ण भाषाको प्रयोग गैरसंसदीय भएकाले मुख्यमन्त्रीको उक्त वक्तव्य प्रतिखेद प्रकट गर्दै उक्त अभिव्यक्तिको घोर भर्त्सना गर्दछौँ,’।
साथै, संसदको अभिलेखबाट समेत मुख्यमन्त्रीको अभिव्यक्ति हटाउन विवेकशीलले माग गरेको छ ।
प्रदेशका नाम र राजधानी स्वीकृत भएपछि आइतबार प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले आफ्नो पार्टीको सचिवालयको निर्णयविरुद्ध बोल्ने हैसियत कसैको नभएको बताएका थिए ।