वीपी प्रतिष्ठानको उपकुलपतिका लागि स्वास्थ्य मन्त्रालयद्वारा आवेदन माग

माघ ६, काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोटका लागि आवेदन माग गरिएको छ ।   

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै उपकुलपतिमा सिफारिसका लागि आन्तरिक रोष्टर सूची तयार पार्नका लागि इच्छुकहरुको आवेदनसहितको व्यक्तिगत विवरण माग गरेको हो ।   

आवेदकहरुको योग्यता पनि मन्त्रालयले तोकेको छ । मन्त्रालयले तोकेको योग्यता अनुसार आवेदक मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्सा शिक्षा विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको र चिकित्सा शिक्षा क्षेत्रको अध्ययन, अध्यापन, अनुशासन तथा व्यवस्थापनमा कम्पतीमा १५ वर्षको अनुभवी हुनुपर्नेछ ।   

सूचना अनुसार उपकुलपति बन्न इच्छुकले मन्त्रालयमा ५ दिनभित्र विवरण पठाउनु पर्नेछ । 

पुस २५ गते बसेको प्रतिष्ठानको सिनेट बैठकले स्वास्थ्य मन्त्री भानुभक्त ढकालको संयोजकत्वमा तीन सदस्यीय उपकुलपति सर्च कमिटी गठन गरेको थियो।   

उक्त समितिमा राष्ट्रिय योजना आयोगकी सदस्य डा. उषा झा र अर्थ सचिव राजन खनाल सदस्य रहेका छन् । 

यो समितिले उपकुलपति नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गर्ने छ । जसमध्ये एक जनालाई प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपतिले  उपकुलपतिमा नियुक्त गर्ने प्रावधान छ । 

प्रतिष्ठान हाल उपकुलपति र रजिष्ट्रार विहिन छ । यस अघिका उपकुलपति डा।राजकुमार रौनियार घुस काण्डमा रंगेहात अख्तियारको फन्दामा परेर निलम्बनमा छन् । रजिष्ट्रार तुलबहादुर श्रेष्ठ समेत भ्रष्टाचारको मुद्दामा निलम्बन रहेकाले अहिले प्रतिष्ठान कार्यवाहक उपकुलपति र अस्पताल निर्देशकको भरमा चलिरहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =