संवैधानिक व्यवस्थाअनुसार तुम्बाहाम्फे सभामुख उम्मेद्धवार बन्न नपाउने सचेतक गुरुङको दाबी

पुष २८, काठमाडौं ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले संवैधानिक व्यवस्थाअनुसार उपसभामुखको हैसियतमा डा. शिवमाया तुम्बाहाम्फे सभामुखको उम्मेद्धवारनै बन्न नपाउने दाबी गरेका छन् ।   

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता गुरुङले पछिल्लो समय मुलुकमा अनपेक्षित परिघटना भैरहेकोतर्फ सचेत गराए ।   

उनले भने,‘संसद अवरुद्ध हुनु दुःखद् हो । यदि संसद यही तवरले अवरुद्ध भइरहे मुलुकको सिस्टममा गत्यावरोध हुनसक्छ ।’ उनले सदनको गत्यावरोध हटाउन र सदन सुचारु गर्न सबै दल गम्भिर हुनुपर्नेमा जोड दिए । यद्धपी उनले अहिलेको संसदको गत्यावरोध पार्टीसँग सम्बन्धित नभएको जिकिर गरे । ‘यो गत्यावरोध संवैधानिक अंगसँग सम्बन्धित छ ।’ उनले भने,‘त्यसैले पार्टीले मात्रै निकास दिन सक्दैनन् ।’ 

गुरुङले अहिले सभामुख पद रिक्त रहेकोले त्यसको लागि निर्वाचन आवश्यक रहेको सुनाए । सदनमा बहुमत भएको नाताले सभामुखमा नेकपाले उम्मेद्धवारी दिने उनले बताए । उनले भने,‘सबै हिसाबले सभामुख नेकपाले लिने कुरा उत्तम हो । तर, यसको लागि संवैधानिक बाटो खुलाउनुपर्छ ।’ उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न नेकपाले आग्रह गरेको पनि उनले सुनाए । ‘उपसभामुखलाई पार्टीले निर्देशन दिन मिल्दैन् । आग्रहमात्रै गर्न मिल्छ । उहाँ स्वतन्त्र हुनुहुन्छ । पार्टीको कुनै ह्विप जारी गर्न मिल्दैन् । मार्गप्रशस्त गर्न त उहाँले आफ्नो स्वविवेकीय क्षेत्राधिकार प्रयोग गर्नसक्नुहुन्छ ।’ गुरुङले थपे ।   

संसदको डेडलक फुकाउनको लागि संसदको नियामावली फलो गर्नुपर्ने उनको धारणा छ । संविधानले सभामुख नरहने परिकल्पना नगरेको पनि उनले सुनाए । उनले भने,‘संविधानले कायममुकायमको पनि व्यवस्था गरेको छैन् ।’ उपसभामुखले अन्तरवस्तु आकर्षण गर्नेगरि बैठक बोलाउन नसक्ने उनको तर्क छ । उनले उपसभामुखलाई सभामुख बनाउने व्यवस्था नरहेको स्पष्ट पारे । उनले भने,‘उपसभामुख पदमा रहिरहेर सभामुखमा आफ्नो उम्मेद्धवारी दिन मिल्दैन् । यदि उम्मेद्धवार हुन चाहेको भए उपसभामुखबाट अनिवार्य रुपमा राजीनामा दिनुपर्छ ।’ 

उनले अहिले महिला वा पुरुषलाई सभामुख बनाउने भन्ने बहस नभएको सुनाउँदै घट्नाक्रमले संकट आईपर्नसक्ने पनि सुनाए । ‘यस्तो अवस्थामा हामीले संवैधानिक व्यवस्था फलो गर्नुपर्छ’ उनले थपे । अहिलेको संसदको गत्यावरोध खुलाउनको लागि दुई वटा विकल्प रहेको सुनाउँदै गुरुङले भने,‘कि त सर्वोच्च अदालतको फैसला तुरुन्त आउनुपर्यो, या त उपसभामुखले मार्गप्रशस्त गर्नुपर्छ ।  संवैधानिक रुपमै सभामुखमा उम्मेद्धवारी दिने बाटो खुल्ला नभएकोले नेकपाले उम्मेद्धवार तय नगरेको उनको तर्क छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *