विराटनगरमा चेलीबेटी वेचविखनको उच्च जोखिम, ९५ जना महिलाको उद्धार

पुस १६, विराटनगर । माइती नेपालले जोगवनी नाकाबाट ९५ जना महिलालाई भारत लैजानबाट रोक लगाइएको छ ।
चेलिबेटी वेचविखन विरुद्ध काम गरिरहेको संस्था माइती नेपालले एक वर्षको अवधिमा शंस्कास्पद रुपमा भारततर्फ लैजान खोजिएकाहरुलाई बेचबिखनको उच्च जोखिममा परेको हुन सक्ने आशंकामा रोक लगाएको हो ।
जनावरी १३ जना, फेब्रुअरीमा ६ जना, मार्चमा १०, अप्रिलमा ६, मे मा ५, जुनमा ११, जुलाईमा १२, अगस्टमा ११, सेप्टेम्बर २, अक्टोवरमा ६, नोभेम्बरमा ६ र डिसेम्बरमा ७ महिलालाई भारततर्फ जानबाट रोक लगाईएको थियो ।
माइती नेपालका मोरङ संयोजक विनोद पोखरेलले दिएको जानकारी अनुसार फर्काइएकामा बढी मोरङकै रहेको छ । फर्काइएका मध्ये ३२ जना मोरङका, १० जना सुनसरी, १० जना झापा, १२ जना उदयपुर, काठमाडौं,भक्तपुर, इलाम, रुकुम, ताप्लेजुङ, कास्की र पाँचथरका एक/एक, सिरहा, सप्तरी, संखुवासभा, बाँके, सिन्धुली र सोलुखुम्बुका दुई/दुई, खोटाङ र धनकुटाका पाँच/पाँच जना छन् । त्यस्तै एक भारतीय महिलालाई पनि जोगवनी नाका हुँदै लैजान खोजिएको माइती नेपालले जनाएको छ ।
पोखरेलका अनुसार भारत जान रोक लगाइएकाहरुलाई केही समय संरक्षण दिएर परिवारका सदस्य र अभिभावकको जिम्मा लगाइएको बताए । त्यस्तै एक वर्षको अवधिमा ४६ जना महिला हराएको निवेदन माइती नेपालमा परेकोमा छ जना फेला परेका छन् । एक वर्षको अवधिमा माइती नेपालमा १५ जना महिलामाथि घरेलु हिंसा र तीन जनामाथि बलात्कार भएको उजुरी परेको छ ।
त्यस्तै दुईवटा मानव बेचबिखन सम्बन्धी मुद्दा माइती नेपालको पहलमा दर्ता भएको संयोजक पोखरेलको भनाइ छ । परेका उजुरीमा कारबाहीका लागि माइती नेपाल आफैले पहल गर्ने गरेको छ । संयोजक पोखरेलले मोरङका स्थानीय तह मध्ये सुन्दरहरैंचा नगरपालिका र विराटनगर महानगरपालिका चेलीबेटी बेचबिखनका हिसावले बढी जोखिमपूर्ण रहेको पाइएको जानकारी दिए ।








