मुस्कानको त्यो छटपटाहट : एसिड खन्याउनेलाई फाँसी मिलोस्
माघ ८, काठमाडौं । नारायणी अस्पतालमा होस् आउँदा मनमा लागेको थियो– ‘यस्तो पीडा खप्नु भन्दा त बरु मरेको भए राम्रो हुन्थ्यो !’
आफ्नो मानसपटलमा खेलेका कुराले त्यतिबेला झसङ्ग बनायो, जब आमा, बुवा आँखा अगाडि ठिङ्ग उभिए । उनीहरुको सपनाले झस्कायो ।
आमा बुवाले भनेका थिए– ‘तिमी भविष्यमा यस्तो बन कि नेपाल र नेपालीले गर्व गरुन् !’
त्यही वाणीलाई आत्मसात् गर्दै अघि बढ्दै छिन् मुस्कान खातुन ।
एसिडले राख बनाएको ‘मुस्कान’ फर्किँदै छ । घाउ सुक्दै छन्, विस्तारै विस्तारै । जीवनमा खुशीका पालुवाहरु पलाउँदै छन् । दिन दुई गुणा रात चौगुणा बढेको छ आत्मविश्वास ।
सपना बुन्न थालेकी छिन् । पहिले मुहार लुकाउने मुस्कान अहिले त ऐना हेर्छिन् रे !
साशा अजेवेडोको एउटा भनाइ छ– तिमी जहाँ जान्छौ साथमा मुस्कानलाई लिएर हिँड्ने गर । साँच्चै मुस्कानको मुहारमा ‘मुस्कान’ टुट्दैन ।
उपचारका लागि दुई दिन बिराएर अस्पताल धाइरहनु पर्छ । शरीरमा चोट छन् र पनि मुस्कुराइ रहन्छिन् वीरगञ्ज छप्कैयाँ–३ की १४ वर्षीय मुस्कान खातुन अन्सारी ।
हाल कलंकीमा बस्छिन् आमा, बुवा र बहिनीसँगै । ५ वर्षकी बहिनी सोनिया काठमाडौंकै एक स्कुलमा एलकेजीमा पढिरहेकी छिन् । उनका दुई दाजु काठमाडौंमै होस्टलमा बसेर पढिरहेका छन् । मुस्कानको भने पढाई छुटेको छ, अहिले ।
विद्यालय धाउनुपर्ने समयमा अस्पताल धाइरहनु परेको छ । कलम समाउने हातले बिहान उठ्ने बित्तिकै औषधी दल्नु परेको छ । आउँदो वैशाखबाट भने उनी पनि विद्यालय जाँदैछिन् । मिले छात्रवृत्तिमा, नमिले शुल्क तिररै कक्षा ९ मै दोहोर्याउने सोचेका छन् अभिभावकले ।
झण्डैँ ५ महिना अस्पतालको बास भयो । ट्रिटमेन्ट चलिरहेको छ । उनकै उपचारका लागि काठमाडौंमै कोठा लिएर बसेको १ महिना भयो । २३ तारिखमा अस्पताल भर्ना हुनुपर्छ । २४ तारिखमा फेरि अप्रेशन ।
यूएसबाट डाक्टरको टोली आउँदैछन्, मुस्कानको उपचारका लागि । कानको सर्जरी यहीँ हुन्छ कि सिंगापुर लैजाने ‘फिक्स’ भइसकेको छैन । सम्भव भएसम्म यतै गर्ने सोचेका छन् ।
कुनै काम/नोकरी गरेका छैनन् बुवा रसुल अन्सारीले । भ्याउँदैनन् पनि । अस्पताल धाउँदैमा फुर्सद छैन उनलाई । वीरगञ्जमा भएको आल्मोनियम पसल पनि बन्द छ, ४÷५ महिनादेखि । जसोतसो गुजारा चलाएका छन्, चर्को महंगीको ठाउँ ‘काठमाडौं’ मा ।
२/३ लाख त ऋण नै लिइसके रसुलले । दुई वर्षसम्म उपचार चलिरहन्छ । उपचार अवधिभर ७०÷८० लाख खर्च हुन्छ भनेका छन् रे डाक्टरले । खै कसरी जुटाउने त्यत्रो पैसा, रनभुलमा छन् रसुल ।
प्रदेश २ सरकारले दुई पटक गरी ८ लाख सहयोग दिइसक्यो । निःशुल्क उपचारको घोषणा गर्ने केन्द्र सरकार भने ‘चुप’ छ । ‘केन्द्र सरकारले निःशुल्क उपचार गराउने त भनेका हुन् तर अहिलेसम्म त्यस्तो कुनै सहयोग आएको छैन । न त कुनै पत्र नै हामीसम्म आइपुगेको छ’, रसुल बताउँछन् ।
मुस्कानको समाजसेवाप्रतिको लगाव खरो छ ।
‘म समाजका लागि केही गर्छु भन्थिन् । डाक्टर बन्ने सपना छ । पहिले मलाई र उसकी आमालाई हेरेर रुन्थि, अहिले रुँदिनन् । ऐना पनि हेर्न थालेकी छिन्’, रसुलले भने, ‘मेहेनत गरेर पढ्छु भनेकी छिन् । हामीले पनि उत्प्रेरित गरिरहेका छौँ । भेट्न आउने सबैले प्रोत्साहन दिनुहुन्छ । घटनापछि आत्मविश्वास झन् बढेको छ ।’
मुस्कानकी आमा सहनाज अन्सारी आफ्नी छोरीलाई यो अवस्थामा पुर्याउने अपराधीलाई फाँसी भएको हेर्न चाहन्छिन् । भन्छिन्– ‘मेरी छोरीको जुन अवस्था छ, यस्तो अवस्थामा कुनै चेली नपुगुन् अब । एसिड छ्याप्ने ती युवकहरुलाई फाँसी होस् । सुधार केन्द्रमा नराखियोस् । कारवाही छिटो होस् ।’
रसुल पनि यही चाहन्छन् । ‘अपराधीलाई फाँसी होस् !’
उनी सोच्छन् कहिलेकाहीँ– ‘अरु चेलीमाथि एसिड घटना हुँदा नै कानुन कडा बनाएको भए आज मेरो छोरीको यो अवस्था हुने थिएन । उनीहरुलाई फाँसी भए, अब यो घटना दोहोरिने थिएन कि !’
मुस्कानको पनि एउटै माग छ – ‘एसिड खन्याउनेलाई फाँसी होस् !’
मुस्कानमा आत्मविश्वास त बढेको छ । सुधार हुँदैछ स्वास्थ्यमा ।
…तर बिर्सिन सक्दिन् त्यो दिन,
२०७६ भदौ २० को बिहान ६ बजेतिर ट्युसनका लागि घरबाट निस्केकी थिइन् मुस्कान ।
दुई जना परिचित पुरुषहरुले जग देखाउँदै सोधे– ‘पानी खाने हो ?’
‘नखाने’ भन्दै फटाफट स्कुलतिर लम्किइन् । तैपनि उनीहरुले पिछा छोडेनन् ।
फेरि भने– ‘नखाए पनि एकचोटी फर्केर त हेर !’
यसो के फर्किएकी थिइन्, जगमा भएको पानी छ्यापिदिए ‘छ्याप्प’ ! पानीले त पोल्न पो थाल्यो !
जगमा पानी होइन एसिड रहेछ !
‘मलाई पोल्न थाल्यो । मासु निस्किरहेको थियो शरीरबाट । जिउँदै जलाइरहेको महशुस भइरहेको थियो । त्यहाँ कोही आएका थिए, उनीहरुलाई नम्बर दिएर म बेहोस् भएछु । होसमा आउँदा नारायणी
सरकार, प्रदेश सरकारप्रति गुनासो छ उनको । प्रदेश २ सरकार ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानमा लागिरहेको छ । बालबालिका, महिलामाथि पटक पटक एसिड प्रहार भइरहेको छ । कसरी सार्थक बन्न सक्छ यो अभियान ? उनको प्रश्न छ ।
‘हामी पढ्न जाँदा यस्तो घटना घटिरहेको छ । कसरी अघि बढ्ने, कसरी पढ्ने ? अपराधीलाई कडा सजाय भए पनि हामीलाई अघि बढ्न सजिलो हुन्छ । प्लिज यो आवाज सुनिदिनुस्’, मुस्कानले आक्रोश पोखिन् ।
एसिडको जलन कसैले भोग्नु नपरोस् । यो कुनै महिलाको मात्रै होइन, देशको पीडा हो !
मुस्कान भन्छिन्– ‘म मेरो लागि मात्रै बोलिरहेकी छैन । जति पनि एसिड पीडित हुनुहुन्छ, म उहाँहरुको लागि बोलिरहेकी छु । यो आवाज उठाइदिनुस्, ताकी भोली अरु दिदीबहिनी यो अवस्थाबाट गुज्रिनु नपरोस् । एसिड पीडितलाई शिक्षाको व्यवस्था गरिदिनुस्, उपचार गरिदिनुस् । जब पाउन गाह्रो छ, दिलाइदिनुस् ।’
बोलिरहँदा एउटा नाम लिन कहिल्यै छुटाउँदिनन् मुस्कान । त्यो नाम हो– ‘उज्जवल विक्रम थापा’ ।
सामाजिक अभियान्ता हुन् उज्जवल । एसिड पीडितहरुको आवाज पनि ।
उनले मुस्कानलाई भनेका थिए रे– ‘ती अपराधीहरु तिमी कोठामै लुकेर बसोस् भन्ने चाहन्छन् । तिमी त्यसैगरी बस्यौ भने उनीहरुको जित हुन्छ । उनीहरुको योजना सफल हुन दिन्छौ ?, नदेऊ ! अघि बढ । लुकेर नबस ।’
सामाजिक अभियान्ता उज्जवलको मुखबाट फुत्किएको उक्त वाणीले दिल छोयो मुस्कानको ।
झलझली त्यही वाणी सम्झिन्छन् । दिनरात । र परिस्थितिसँग संघर्ष गर्ने अठोट गर्छिन् ।
भन्छिन्–,
‘म समाजसेवा गर्छु । डाक्टर बन्छु । देशको सेवा गर्छु । नेपाल र नेपालीले गर्व गर्न लायक बन्छु !’
के छ मुलुकी ऐनमा ?
एक वर्ष अगाडि आएको मुलुकी अपराध संहिता ऐनको दफा १९३ मा कसैले तेजाब वा यस्तै प्रकारका अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी वा छर्किई वा त्यस्तो पदार्थले पोली, डामी, दली, घसी जिउमा पीडा गराउने वा अनुहार वा शरीरको कुनै अङ्ग कुरुप पार्ने काम गर्नु वा गराउनु हुँदैन भन्ने उल्लेख गरिएको छ ।
कसुर गरेको हकमाः कसुर गर्ने व्यक्तिलाई कसुरको प्रकृति हेरी अनुहार कुरुप पारेमा ५ वर्षदेखि ८ वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना रहेको छ ।
शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा पुर्याएमा ३ वर्षदेखि ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना रहेको छ ।