भव्य समारोहका बीच दशरथ रङ्गशालामा भ्रमण वर्ष २०२० को शुभारम्भ गरिँदै
पुस १६, काठमाडौं । सरकारले राष्ट्रिय महोत्सवकै रूपमा मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० बुधबारबाट औपचारिक रुपमा सुरु हुँदैछ ।
काठमाडौंको दशरथ रंगशालामा भव्य समारोहका बीच आज दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नेछिन् । रङ्गशालामा बेलुका ४ बजेदेखि सुरु हुने उद्घाटन कार्यक्रम राति पौने ८ बजेसम्म जारी रहनेछ ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले समारोहलाई विशेष सम्बोधन गर्नेछन् । नेपालका मौलिक संस्कृति झल्कने नाचगानबाट शुरू हुने कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको सहयोगमा राष्ट्रगान बजाइनेछ ।
आजै भ्रमण वर्षको राष्ट्रिय गीतसमेत सार्वजनिक गर्ने कार्यक्रम रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले जनाएको छ । भ्रमण वर्षको यती मस्कट पनि आजै सार्वजनिक हुनेछ । भ्रमण वर्ष सचिवालयका अनुसार काठमाण्डौमा दशरथ रंगशालासँगै सातै प्रदेशका मुख्य मन्त्रीले आ–आफ्नो प्रदेशबाट भ्रमण वर्षको शुभारम्भ गर्नेछन् ।