देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रको फराकिलो राजमार्गमा छ : मुख्यमन्त्री पौडेल

माघ १६, मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले इतिहासका अनेकौँ चुनौतिपूर्ण क्षणको सामना गर्दै देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रको फराकिलो राजमार्गमा आइपुगेको बताएका छन् ।   

 शहीद दिवसका अवसरमा प्रदेश सरकारद्वारा आयोजित सभामा मुख्यमन्त्री पौडेलले लोकतन्त्र, समानता तथा सामाजिक न्यायका लागि भएका आन्दोलनमा आफ्नो निजी आकाङ्क्षालाई तिलाञ्जलि दिँदै अमूल्य जीवन देश र जनताको हितका लागि उत्सर्ग गर्ने महान शहीदलाई सम्मान गर्दै शहीदको त्याग र योगदानको चर्चा परिचर्चा तथा उनीहरुको सपना पूरा गर्ने सङ्कल्पका साथ उपस्थित भएको बताए । 

उनले अधिकार प्राप्तिका लागि विसं १९९७ देखि हालसम्मका सम्पूर्ण जनसङ्घर्षमा शहादत प्राप्त गरेका शहीदप्रति हार्दिक सम्मान एवं श्रदासुमन व्यक्त गरे । मुख्यमन्त्री पौडेलले देश वर्तमान अवस्थासम्म आइपुग्दा नेपाली जनताको बलमा निरङ्कुश एवं स्वेच्छाचारी शक्तिलाई घुँडा टेकाउँदै व्यवस्था परिवर्तनको आन्दोलनलाई गन्तव्यमा पु¥याएको उल्लेख गरे । अधिकारका मुद्दालाई संविधानमा लिपिबद्ध गरेको तथा सम्बोधन गरेको भन्दै पौडेलले हामीले खोजेको व्यवस्थाअन्तर्गत हामीले हाम्रो प्रतिनिधिमार्फत लेखेको संविधानबाट शासन व्यवस्था सञ्चालन गर्न सफल भएको बताए ।   

मुख्यमन्त्री पौडेलले शहीदले देखाएको सत्य र न्यायको बाटोमा अविराम लाग्ने प्रतिबद्धता व्यक्त गर्दै शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गरे ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *