नेकपाको केन्द्रीय समिति बैठकः समुहगत छलफल (यस्ता छन् टोली नेता उपनेता)

माघ १६, काठमाडौं । बुधबारदेखि शुरु भएको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि आज समूहगत छलफल शुरु भएको छ ।
विभिन्न १५ समूहमा विभाजित समूह काठमाडौँको राष्ट्रिय सभागृह, पार्टी कार्यालय धूम्रबाराही र पेरिसडाँडाका कार्यालयमा छलफलमा व्यस्त छन् । बैठकमा पार्टी र सरकारको सम्बन्ध, राष्ट्रिय, अन्तराष्ट्रिय सवाल, मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) को अनुमोदन, सीमा विवादलगायतका विषयहरु रहेका छन् ।
पेरिसडाँडास्थित समूह ९ काे टाेली नेता रहेकी केन्द्रीय सदस्य भगवती चौधरीले पार्टीलाई एकताबद्ध रुपमा अगाडी बढाउन, सरकारसँगका सम्बन्ध लगायत प्रस्तुत कार्यसूचीमा गम्भिर छलफल चलेको जानकारी दिइन् । उनले समावेशी सिद्धान्तअनुसार पार्टीमा महिलालाई सचिवालय र स्थायी कमिटीका राख्नुपर्ने, लगायतका विषयमा पनि छलफल भएको बताइन् ।

चाैधरीले पार्टीलाई विधिविधान अनुरूप चलाउनु पर्ने, सरकारकाे काम कारवाही सुधार गर्नुपर्ने, पार्टीलाई ठेकेदार र ब्यापारीक समुहबाट जोगाउनु पर्ने, सरकारको काम कारवाही प्रभवकारी रुपमा जनतामाझ लैजानु पर्ने, बैदेशिक सहायता लिँदा मुलुकको दिर्घकालिन हितमा हुने गरी लिनुपर्ने लगायतका सुझाव संकलन गरीरहेको बताइन् ।
‘पार्टी सञ्चालनको प्रक्रिया, सरकारको काम कारवाही, जनताका अपेक्षा तथा बैदेशिक सहायता कसरी लिने भन्ने सन्दर्भमा घनिभूत छलफल भइरहेको छ ।’ चौधरीले बताइन् । उनले बैदेशिक सहायता लिने सन्दर्भमा देश र जनतालाई प्रतिकुल हुने शर्तहरु संसोधन गरी अनुकुल शर्तहरुको आधारित साझा अवधारणा बनाई फण्ड लिन सक्ने बैदेशिक सहयोगको परिकल्पना संविधानले गरेकोले संविधान विपरित हुनेगरी बैदेशिक सहायता लिन नहुने बताइन् ।
नेतृ चौधरीले मानवाधिकार हनन हुने गरी जस्ता शर्तहरु हटाउन लगाउने, परियोजना सञ्चालन क्रममा हुने मानविय अन्य क्षति परियोजनाले लिनुपर्ने, देशको सार्वभौमिकता संरक्षण हुने गरी देश विकासका लागि विदेशी सहायता लिनुपर्नेमा जोड दिइएको जनाइन् ।
समुह ९ की टोली नेता रहेकी चौधरीको टोलीमा भास्कर काफेले उपनेता रहेका छन् । टोलीमा भरत शाह र भीम कार्कीले टिपोट गरेका छन् ।
समूह छलफलमा शीर्ष नेता र केन्द्रीय सदस्यबीच एकतापछिको २० महिनापछि साक्षात्कार हुन पाएको छ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरण पश्चात बनेको पार्टीमा दुवै तर्फका सदस्यहरुले एक अर्कालाई चिन्ने मौका समेत मिलेको छ ।
नेकपाका केन्द्रीय सदस्यले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन, महासचिव विष्णुप्रसाद पौडेलको साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि छलफल गरी टोली नेतामार्फत् शुक्रबार र शनिबारको बैठकमा प्रस्तुत गर्ने कार्यक्रम छ ।
वर्णानुक्रमअनुसार विभाजन गरिएका ४४१ केन्द्रीय सदस्यले प्रतिवेदनमाथि छलफल गरिरहेको राष्ट्रियसभा गृहस्थितको समूहमा सहभागी स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले जनाए । समुहमा २९ जनाको एउटा समुह बनाइएको छ । नेता विश्वकर्माले प्रतिवेदनमाथि प्रारम्भिक छलफल शुरु गरिएको जनाउँदै प्रतिवेदनमा छुटेका विषयमा आफूहरुले राय दिने बताए । टोली नेतालाई २०/२० मिनेट प्रतिवेदन पेश गर्न समय दिइएको छ ।
बैठक सोमबारसम्म सञ्चालन हुनेछ । बन्दसत्रमा अध्यक्ष प्रचण्डले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी २०७७ चैत मसान्तसम्म पार्टीको एकताको महाधिवेशन गर्ने प्रस्ताव पेश गरेका थिए । यसैगरी बैठकमा केन्द्रीय निकायका अध्यक्षलाई समेत बोल्ने दिइने भएको छ । निकायका अध्यक्षलाई १० मिनेट समय छुट्याइएको छ । कार्यविधिअनुसार आइतबार समूहगत छलफलमा उठेका विषयमा निष्कर्ष प्रस्तुत गर्ने र दस्तावेज पारित गर्ने कार्य तालिका छ ।
समूहका टोली नेता र उपनेताको नामावली
१- उर्मिला अर्याल र आनन्द पोखरेल (दुवै नेता)
२– कमला रोक्का नेता, उपनेता– कृष्णध्वज खड्का र कृष्ण राई
३– खिमलाल भट्टराई (नेता)
४– जगन्नाथ खतिवडा (नेता)
५– ठाकुर गैरे (नेता)
६– दीनानाथ शर्मा (नेता)
७– पूर्णाकुमारी सुवेदी (नेता) निरज आचार्य (उपनेता)
८– बिन्दा पाण्डे (नेता) (उपनेता– बलराम बास्कोटा, बलावती शर्मा)
९– भगवती चौधरी (नेता) भास्कर काफ्ले (उपनेता)
१०– नेता चयन गर्न बाँकी
११– राजेन्द्र राई (नेता)
१२– रेणु दाहाल (नेता)
१३– लेखनाथ न्यौपाने (नेता) सावित्रा भुसाल (उपनेता)
१४– राम कार्की (नेता) शिवमाया तुम्वाहाङ्फे (उपनेता)
१५– हिमाल शर्मा (नेता)








