भ्रमण वर्ष सफल बनाएरै छाड्छौंः पूर्वमन्त्री पण्डित

काठमाडौं, १७ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री लालबाबु पण्डितले नेपाल भ्रमण वर्ष–२०२० सफल तुल्याउनको लागि विभिन्न सरोकारवाला निकाय आ–आफ्नो ठाउँबाट लागिपर्नुपर्ने धारणा राखेका छन् ।   

शुक्रबार रिपोर्टर्स क्लबमा दोलखा जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्बर–२ स्थित प्रेमपूर्ण प्रताप फाउण्डेशन नेपालले ‘भ्रमण वर्ष–२०२०’ लाई सफल पार्नको लागि नेपाल सरकार, गैरसरकारी संस्था र व्यक्तिहरु सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेबारे धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पण्डितले यस्तो बताएका हुन् । ‘भ्रमण वर्षलाई असफल पार्नको लागि एक खालको समूह लागिपरेको छ । ती समूहलाई रोक्नको लागि सरकार प्रतिबद्ध र कटिबद्ध छ ।’ पूर्वमन्त्री पण्डितले भने ।   

भ्रमण वर्ष सफल बनाउनको लागि वर्तमान सरकार गम्भिर भएर लागिपरेको उनको धारणा छ । वर्तमान सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई साकार पार्न त्यहीअनुसार काम गरिरहेको पण्डितले विश्वास दिलाए । उनले नेपाल पर्यटनको सम्भावना बोकेको देश भएकोले प्रत्येक नागरिक र सरोकारवालाहरुले भ्रमण वर्षलाई प्रोत्साहन गर्नुपर्ने स्पष्ट पारे ।   

‘नेपाल एउटा सुन्दर मुलुक हो । नेपाल भ्रमणको लागि विश्वमै उपयुक्त गन्तव्य हो भन्ने सन्देश हामीले विश्वभरि नै फैलाउनुपर्छ ।’ उनले भने ।   

फाउण्डेशनले ब्राण्ड एम्बासडरको रुपमा अघि बढाएका ‘नेपाली माईकल ज्याक्सन’ को उपनामले चिनिने कलाकार रेवन सापकोटाले गरेका कामको समेत पण्डितले प्रशंसा गरेका थिए ।   

कार्यक्रममा हाँस्यकलाकार श्रीकृष्ण सिम्खडाले कलाकारहरुको माध्यमबाट भ्रमण वर्ष सफल पार्नको लागि देशव्यापी रुपमा कार्यक्रमहरु भैरहेको बताउँदै राज्यले पनि कलाकारहरुलाई उचित सम्मान दिनुपर्ने बताए ।   

सामाजिक अभियन्ता पुण्य गौतम, अधिवक्ता प्रविन प्रधान, फाउण्डेशनकी उपाध्यक्ष शान्ति श्रेष्ठ र कोषाध्यक्ष देवी गुरुङले भ्रमण वर्ष सफल पार्न सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने धारणा राखेका थिए ।   

फाउण्डेशनका अध्यक्ष शिवजी प्रधानले आफूहरुको मुख्य लक्ष्य भनेको नेपाल सरकारले घोषणा गरेर अघि बढाएको ‘भिजिट नेपाल–२०२०’ लाई सफल तुल्याउन भूमिका खेल्ने र कलाकार रेवन सापकोटालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरमा अघि बढाउनु रहेको बताए । भ्रमण वर्ष सफल बनाउन फाउण्डेशनका संस्थापक संरक्षक पद्यमा प्रधानले संयुक्त राज्य अमेरिकामा बसेरपनि सहयोग प्रदान गरेको अध्यक्षले सुनाए ।   

कलाकार रेवन सापकोटाले भ्रमण वर्षलाई सफल तुल्याउन त्यसको प्रचारप्रसारमा विभिन्न देशसमेत पुगेको सुनाए । उनकाअनुसार उनी चीन र भारतका विभिन्न पर्यटकीयस्थलमा पुगेका छन् । त्यस्तै, नेपालमा पनि देशव्यापी रुपमा अभियानमा हिँडिरहेको सुनाए ।   

फाउण्डेशनका सदस्य राजन बस्नेतले फाउण्डेशनले शिक्षा, स्वास्थ्य, संस्कृति, कला र पर्यटनसम्बन्धी विभिन्न कार्यक्रमहरु गर्दै आएको र सेवा निवृत्त तथा बृद्धहरुको संरक्षण अभियानसमेत चलाउँदै आएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *