शिवमायाको राजीनामा संसदको सर्वोच्चतामाथीको प्रहार !(टिप्पणी)

योग्यता नपुगेर होईन महिला भएकै कारण अहिले डा.शिवमाया तुम्बाहाम्फे दवावमा छिन् । पार्टी नेतृत्वबाटै उनको पद धरापमा छ । पूर्व सभामुख कृष्णबहादुर महरा बलात्कार अभियोगमा पदमुक्त भएपछि रिक्त रहेको सभामुख पदकालागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुख बारे टुङ्गो लगाउन सकेको छैन । त्यसको सिधा असर शिवमायालाई परेको छ ।   

पूर्व सभामुख महराले गरेको गल्तिको सजाय किन शिवमायालाई दिने ?   

कि उपसभामुख तुम्वाहाम्फेलाई महिला भनेरै नपत्याइएको हो ?   

कि नेपालको संविधानले महिला सभामुख हुनुहुन्न भनेर परिभाषित गरेको छ ?   

हैन भने उपसभामुख र कार्यवाहक सभामुख समेत भइसकेको ब्यक्तिलाई राजिनामा नै दिनु पर्छ भन्नुको खास कारण के हो ? सार्वभौम जनता र संसदलाई पहिला प्रष्ट्याउनु पर्छ ।   

उनलाई मन्त्री पदको लोभ देखाएर उपसभामुख पदबाट राजिनामा दिन दवाव दिनुपनि नेकपा र सरकारको ठूलो गल्ती हो । शिवमायालााई यदी दवावमा पारेर, घेरावन्दीमा पारेर राजिनाममा दिन लगाइन्छ वा पार्टीको निर्णय नमानेको भन्दै महाभियोग नै लगाइन्छ भने त्यो संसदको सर्वोच्चता माथि नै प्रहार हुनेछ । 

उपसभामुखको पद सम्हाल्दै आएकी तुम्बाहाम्फेलाई अहिले आफ्नो योग्यता प्रस्तुत गर्नु परेको छ । नेपाली महिला आन्दोलनको विषयमा पीएचडी गरेकी तुम्बाहाम्फेले के सभामुख पद सम्हाल्न सक्दिनन् होला त ? उसो त यसअघि पूर्व माओवादीबाट ओनसरी घर्ति मगरले सभामुख पद सम्हालि सकेकी छिन् । तर अहिले शिवमायाको उपसभामुख पद साँढेको जुदाई बाच्छाको मिचाइ बनाउने कार्य सत्तारुढ दलबाटै भएको छ । जुन संसदीय इतिहासमा भोली गएर कलंक बन्न सक्छ ।   

तर पनि अडिग शिवमायाले लत्तो भने छाड्नु  हुन्न । राष्ट्रिपति महिलानै भएका कारण अलिकति आड पाएकी शिवमायाले आफु योग्य हुनुको प्रमाण पटक पटक पेश गर्दै आउनु परेको छ । आफुले पीएचडी गरेको विषयको थेसिसनै बुझाएर कहाँ पुग्योर उनलाई ! उनले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहलको अग्नि परिक्षा पनि उत्तिर्ण गर्नु परेको छ । नेकपा अध्यक्ष प्रचण्डले उनलाई तपाई कति पुरानो पार्टी भित्र ? भनेर सोध्नसम्म भ्याए । नयाँ भएको भए सायद उहिल्यै हुत्याइसक्थे होलान् शिवमायालाई उपसभामुखको पदबाट । उनको जवाफले चुप बसेका प्रचण्ड फेरि उनलाईनै हुत्याउने दाउमा बालुवाटरसम्म बोलाएर प्रधानमन्त्रीसहित दुईजनाको बल लगाउन भने चुकेका छैनन् ।   

योग्यताको कुरा गर्ने हो भने, २०३६ सालदेखि विद्यार्थी आन्दोलनमा सहभागि तुम्बाहाम्फे अनेराश्ववियुको केन्द्रीय उपाध्यक्ष हुँदै यहाँसम्म आएकी हुन् । यतीमात्र होइन उनले युवासंघको केन्द्रीय तहको जिम्मेवारी पनि सम्हालेकी थिइन् । अखिल नेपाल महलिासंघको नेतृत्व गर्दै नेपालमा महिला आन्दोलनका विषयमा पीएचडीसम्म गरेकी छिन् उनले । प्राज्ञिक र लेखन कार्यमा संलग्न तुम्बाहाम्फे विश्वविद्यालयमा अध्यापन गराएकी अभ्यासरत वकिलको रुपमा पनि परिचित छिन् । तत्कालिन एमालेको निर्वाचित केन्द्रीय सदस्य साथै अनुसन्धानकर्ता (प्रज्ञिक) तुम्बाहाम्फे बाहलवाला उपसभामुख हुन् ।   

यती धेरै योग्यता र क्षमतावान शिवमाया अहिलेसम्म संबिधान र कानुन बमोजिम आफु चल्ने भन्दै अडिक छिन् । उनले अब पनि त्यसै हार मान्नु भने हुँदैन । शिवमायाले हार माने सिङ्गो महिलाहरुको हार हुनेछ । उनको पछिल्लो अभिव्यक्तिले महिलाजगतमा एउटा तरङ्ग पैदा भएको हुनुपर्छ । आफ्नो योग्यतामा कुनै शंका नगर्दै शिवमायाले पार्टीका शीर्षस्थ नेताहरुलाइ दिएको जवाफ महिलाहरुका प्रेरणाको श्रोत हो । उनले मन्त्रीको पदको लोभ देखाएका पार्टीक शीर्षस्थ नेताहरुलाई आफुलाई नै सभामुख बनाउन भनेकी छिन् । शूरुमा एक्लै उभिएकी शिवमायालाई अहिले राष्ट्रपति विद्यादेवी भण्डारीसहित महिला नेतृहरुको पनि साथ मिलेको छ ।   

भलै पूर्व एमाले र पूर्व माअ‍ेवादी एक भएपनि गुटका आधारमा अझै विभाजित छन् । यसको परिणम हो संघीय संसदमा रिक्त रहेको सभामुख पद तीन महिना बितिसक्दा पनि रिक्तनै रहनु । आफ्नो पार्टीबाट सभामुख राख्नुपर्ने अडानमा यी दुबै एक भएका पार्टी अलग अलग खेमामा उत्रिएपछि प्रतिनिधिसभाको बैठक पनि बस्न सकेको छैन । त्रिपक्षिय लडाईंले प्रतिनिधिसभा बन्धक भएको छ । महिलालाई दवाउँन सकिन्छ भनेर शिवमायालाई पाखा लगाउँन खोज्दा पनि अहिलेसम्म ठोस निर्णय हुन सकेको छैन । यसको असर भने संसद बैठकमा परेको छ ।   

साम, दाम, दण्डभेद सबै रणनीति अपनाएका नेकपाका नेताहरु अहिले अलि थाकेका छन् । साथै शिवमायासंग रुष्ट पनि छन् । शिवमायालाई गलाउन नसकेका नेताहरुले अब माघ ६ गते बस्ने प्रतिनिधिसभा बैठकमा सभामुखको उम्मेदवार तोक्ने प्रतिबद्धतासहित पुष २७ गतेको बैठक सार्न लगाएका हुन् ।   

परिआएमा महाअभियोगको सामाना गर्ने अडानमा रहेकी शिवमायाको उपसभामख पदबाट राजिनामा दिनु पर्ने एउटा कारण नेकपाले देखाउन सक्नु पर्छ । नत्र कुनै गल्ति विना शिवमायाले किन आफ्नो पद छाड्ने यसको कारण नेकपाले आमजनतालाई दिनु जरुरी छ ।   

उनले लिएको यही अडानका कारण अहिले राजनीतिक वृत्त, सामाजिक सञ्जाल संबैधानीक वृत्तबाट भने प्रशंसा पाउन थालेकी छिन् । र उनले आफ्नो अडानलाई कायम नै राख्न जरुरी पनि छ । यो शिवमायाको मात्रै होइन सिङ्गो महिला नेतृत्वको अडान हुनु पर्छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *