पुर्वसांसद सहित ६ जनाविरुद्ध २५ लाख हिनामिना गरेको आरोपमा मुद्दा दायर

माघ २, काठमाडौं । पूर्वाधार विकास कार्यालय सिरहाका तत्कालीन कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजकुमार गोइतसमेतको संलग्नतामा फर्जी समिति गठन गरी २५ लाख हिनामिना गरेको आरोपमा पूर्वसांसद बीपी यादवका विरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ ।   

फर्जी उपभोक्ता समिति बनाएर सरकारी रकम हिनामिना गरेको आरोपमा पूर्वसांसद विश्वनाथप्रसाद यादव (बीपी यादव) विरुद्ध मुद्दा दायर भएको हो । यादवले सिरहाका तत्कालीन कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर गोइतसमेतको संलग्नतामा फर्जी समिति गठन गरी २५ लाख हिनामिना गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आरोपपत्रमा उल्लेख छ । 

अख्तियारको अनुसन्धानले सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ र ३ मा पर्ने सडक ग्राभेल गर्न किर्ते व्यक्ति खडा गरी उपभोक्ता समिति गठन गरेको देखाएको छ । पूर्वसांसद यादव, कार्यालय प्रमुख गोइतसँगै तत्कालीन राजपा केन्द्रीय सदस्य हरिनारायण मण्डलसहित ६ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।   

पूर्वसांसद यादव सुनियोजित तवरले फर्जी समिति गठन गरी भ्रष्टाचारमा प्रत्यक्ष संलग्न रहेको पुष्टि भएको अख्तियारले जनाएको छ । उनीहरूविरुद्ध २५ लाख बिगोसहित यादवलगायत ६ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । भने, मिलेमतो गर्ने सोही कार्यालयका नासु भागवत यादव, राजपा नेता वीरेन्द्रकुमार मण्डल र कृष्णकुमार यादवलाई पनि प्रतिवादी बनाइएको छ । 

अख्तियारले सीडीई गोइत, नासु यादवविरुद्ध २५ लाख बिगो र २ वर्ष कैद माग गरेको छ । पूर्वसांसद यादव, हरि, वीरेन्द्रकुमार र कृष्णकुमारलाई १ वर्ष कैद र बिगोबमोजिम जरिवानाको मागदाबी गरेको छ । पूर्वसांसद यादव रातो पासपोर्ट दुरुपयोगमा समेत मुछिएका छन् । 

अनुसन्धानमा पूर्वसांसद यादवको मिलेमतोमा गैरकानुनी फाइदा लिन सप्तरीको राजगढ गाउँपालिकास्थित मुतनी नदी सिँचाइ आयोजनाको काम गर्न गठित उपभोक्ता समितिका पदाधिकारीको नागरिकताको फोटोकपीमा अनधिकृत रूपमा विवरण सच्याएको अख्तियारले पाएको छ ।   

अग्निसाइर कृष्णसवरण गाउँपालिकाको इटहर्वादेखि कनौलीसम्मको सडक निर्माणका लागि प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालय जनकपुरको नाउँमा सिफारिसपत्रसमेत केरमेट गरी सच्याइएको छ । 

राजपा केन्द्रीय नेतासहित ६ जना विरुद्ध मुद्दा 

आरोपीहरू पूर्वसांसद बीपी, तत्कालीन राजपा केन्द्रीय सदस्य हरि, वीरेन्द्रकुमार र कृष्णकुमारसमेतले एउटा प्रयोजनको लागि गठित उपभोक्ता समितिको कागजात सच्याएर फर्जी उपभोक्ता समिति गठन गरेको देखिएको आयोगको दावि छ । 

उनीहरूले गलत कागजात पेस गरी उल्लिखित बीपी यादवसमेत चार जना र सीडीई राजकुमार गोइत र नासु भागवत यादवसमेतले सम्झौता गर्दासमेत नक्कली उपभोक्ता समितिका अध्यक्ष, कोषाध्यक्ष र सचिवजस्ता पदाधिकारी बिनै गरेको पाइएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 3 =