सञ्चारमन्त्रीले भने, ‘पत्रकारले परीक्षा दिने व्यवस्था हटाइन्छ’

फाइल तस्विर
माघ १७, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पत्रकारले परीक्षा दिनुपर्ने व्यवस्था हटाइने बताएका छन् ।
बिहीबार साँझ विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘पत्रकारले जाँच दिनुपर्ने व्यवस्था हटाउने तयारी भइरहेको छ । क्षमता नभएको संस्थाबाट जाँच लिनु अनुपयुक्त देखिएकाले जाँच लिने व्यवस्था हटाउन लागिएको हो ।’

यता नेपाल पत्रकार महासंघले पनि मिडिया काउन्सिल विधेयकमा रहेको पत्रकारलाई सरकारी निकायबाट जाँच लिई लाइसेन्स दिने प्रावधान हटाउन माग गरेको छ ।
महासङ्घले प्रेस विज्ञप्ति जारी गरी पत्रकारलाई जाँच लिई लाइसेन्स दिनेजस्ता प्रावधानहरु संविधानको मर्म र भावनाको विपरीत हुनुका साथै प्रेस स्वतन्त्रता विरोधी भएको उल्लेख गर्दै हटाउन माग गरेको हो ।
‘संविधानको उद्देश्य पूर्तिका लागि विभिन्न कानूनहरुको निर्माण, सुधार र संशोधन हुनु स्वभाविक हो । यसरी कानून निर्माण गर्दा संविधानको मूल भावना अनुकूल हुनेगरी सरोकारवाला पक्षसँग समेत पर्याप्त छलफल गरिनुपर्छ भन्ने महासंघको मान्यता हो । यसप्रति सरकार र संसद् संवेदनशील हुन महासंघको जोडदार माग रहँदै आएको छ’, विज्ञप्तीमा भनिएको छ ।








