प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधन: ‘एमसीसी सम्झौता छिट्टै पारित गर्नुपर्छ’

माघ १४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई बधाई तथा शुभकामना दिँदै सभामुख चयनमा विलम्ब भएको स्वीकार गरेका छन् । प्रधानमन्त्री ओलीले अब स-साना कुरामा नअल्झि सरकार र संसदले पनि आफ्नो काम तीव्र गतिमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधन गर्दै नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले थुप्रै विधेयकहरु पारित गरेर ऐन निर्माण गर्नुपर्ने बताए । उनले अमेरिकासँग भएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता छिट्टै अनुमोदन गर्ने पनि बताएका छन्।
संसदमा थाती रहेको एमसीसी छिटो पारित गर्न नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटासँग आग्रह समेत गरेका छन्।

‘हामीले धेरै अगाडिदेखि विभिन्न चरणहरुबाट पार गर्दै, ६–७ जना प्रधानमन्त्रीहरुको कार्यकाल गुजार्दै अगाडि बढेको र अहिले संसदसमक्ष अनुमोदनका लागि प्रतिक्षा गरिरहेको एमसीसी प्रस्ताव छिटै पारित गर्नुछ,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसबारे म पछि पनि सविस्तार धारणा राख्नेछु।’








